आफ्नो दिवङ्गत साथी प्रेमलाई सम्झँदा लीलाबहादुरका आँखा आँसुले भरिए । “सर, उनी धेरै उत्साहित थिए । हामी दुवै जीविकोपार्जनको खोजीमा सिन्धुलीबाट पोखरा आएका थियौँ ।”
१० वर्षअघि पोखरा आएका प्रेमले सेनामा भर्ना हुने इच्छा देखाए । तालिमपछि उनलाई काभ्रेमा गस्ती गर्न पठाइयो ।
पोखरा–बागलुङ सडकमा ट्याक्सी चलाउँदै गर्दा थापा अचानक रोकिए । लुम्लेबाट आउँदै गरेको ट्रकलाई साइड दिन उनी ट्याक्सीलाई छेउतर्फ तानिरहेका थिए । ट्रक गुज्रिसकेपछि, उनले फेरि स्टेयरिङ ह्विल नियन्त्रणमा लिए र ट्याक्सीलाई सामान्य लेन र गतिमा फर्काए । “त्यसपछि के भयो, थापा ?’’ मैले सोधेँ । मेरो प्रश्नले थापाको अनुहारमा गहिरो पीडाको झलक ल्यायो । “के भयो भनूँ हजुर ? काभ्रे जाँदै गर्दा ऊ एम्बुसमा प-यो,” स्टेयरिङ ह्विल एक क्षणका लागि हल्लियो । म डराएँ । सडकछेउको डरलाग्दो गहिराई सम्झेँ । भावुक भएर थापाले नियन्त्रण गुमाए भने
के हुन्छ...!
म एकछिनका लागि सोचमा डुबेँ । हरेक दिन पोखरामा युवा ब्रिटिस, भारतीय र सिङ्गापुर सेनाका लागि तालिम लिन्छन् । रङ्गशालामा रातो र पहेँलो पोसाकमा प्रशिक्षार्थीलाई सैनिक बन्नका लागि कडा प्रशिक्षण लिइरहनुलाई सेनाप्रतिको आकर्षण नै मान्नु पर्छ । पोखरामा लाहुरे र उनीहरूका भव्य घरप्रति जनसामान्यको सम्मान सैन्य क्षेत्रमा लाग्नुको थप आकर्षणको कारण हुन सक्छ ।
सायद त्यसैले जीविकोपार्जनको खोजीमा पोखरा आएका प्रेम सेनामा भर्ती भए र सहिद भए । जनयुद्धको समयमा उनी आव्रmमणको सिकार भएका थिए । साथी गुमाएपछिको पीडाले लीलाबहादुर विचलित थिए ।
मैले सम्झाउने प्रयास गरेँ, “त्यो त एउटा दुर्घटना थियो, भयो । उसले रोजेको बाटो नराम्रो थिएन । सैनिकको गौरवशाली पङ्क्तिमा आफूलाई उभ्याउन खोज्नु किमार्थ गलत थिएन ।
मैले जति सम्झाए पनि उनको मौनता तोडिएन । ७२ किलोमिटर लामो पोखरा–बागलुङ सडक एक शब्द नबोली पार गर्नु आत्मदण्ड जस्तै थियो । उनको थकित अनुहारभित्र लुकेको पीडामा सेती नदी जस्तै गहिराइ थियो ।