• २६ चैत २०८२, बिहिबार

पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

blog

पाल्पा अस्पतालले सञ्चालनमा ल्याएको आफ्नै अक्सिजन प्लान्ट । तस्बिर : बिन्दु थापा

बिन्दु थापा
तानसेन (पाल्पा), चैत २६ गते ।
पाल्पा अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ। प्लान्ट सञ्चालनपछि जिल्लामा लामो समयदेखि समस्या रहेको अक्सिजन अभाव समाधान हुने अपेक्षा गरिएको छ। यसअघि पाल्पामा अक्सिजन नहुँदा बुटवल र भैरहवाबाट अक्सिजन ल्याउनुपर्ने बाध्यता थियो।

पाल्पा अस्पतालले आयोजना गरेको प्लान्ट शुभारम्भ कार्यक्रममा तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताउनुभयो कि प्लान्ट सञ्चालनपछि पाल्पा अस्पतालमा भर्ना हुने बिरामी मात्र नभई लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल, रामपुर अस्पताल तथा जिल्लाका निजी अस्पताल र क्लिनिकहरूलाई समेत अक्सिजन आपूर्ति गर्न सहज हुने छ।

पाल्पामा मासिक रूपमा करिब चार सय–पाँच सय अक्सिजन सिलिण्डर खपत हुने गरेको छ। अक्सिजन प्लान्टमै सानो सिलिण्डर ३५० रुपियाँ र ठूला सिलिण्डर ६५० रुपियाँमा खरिद र बिक्री हुने अस्पतालले जानकारी दिएको छ। जिल्लाभित्रै उत्पादन हुँदा ढुवानी खर्च र समय दुवै बचत हुने अस्पतालको भनाइ छ।

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र पौडेलले जानकारी दिनुभयो कि अक्सिजन प्लान्ट सञ्चालनसँगै अस्पतालले नयाँ वर्षको दोस्रो हप्ताभित्र शल्यक्रिया सेवा सुरु गर्ने योजना बनाएको छ। डा. पौडेलले अक्सिजन प्लान्टलाई नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्न दैनिक बिहान ६–१० बजेसम्म र दिउँसो ३ बजेदेखि आवश्यकतानुसार सञ्चालन गर्ने, दैनिक २० सिलिण्डरसम्म भर्ने कार्यतालिका निर्माण गरिएको बताउनुभयो।

कोभिड महामारीको समयमा लामो प्रयासपछि स्थापना भएको प्लान्ट विगत एक वर्षदेखि बिग्रिएको र जिल्लाका अस्पतालहरू अक्सिजनका लागि बाहिरी जिल्लामा निर्भर हुनु परेको थियो। प्लान्टलाई विषय विशेषज्ञ र दक्ष प्राविधिकको व्यवस्थापनमा मर्मत गरी सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।