लहान, चैत २६ गते । लहान नगरपालिका वडा नम्बर १ मा रहेको लहान आयुर्वेदिक औषधालयमा औषधीको अभाव र खानेपानीको समस्या देखिएको छ।
२०५५ सालमा स्थापना भए पनि २०७७ साल फागुन ४ गतेदेखि सञ्चालनमा आएको यस औषधालयमा नियमित बिरामीहरूको चाप रहेको छ। औषधालयका कविराज मोहम्मद अब्दुल रहमानका अनुसार वर्षेनी १२ लाखभन्दा बढी मूल्यको औषधी आवश्यक भए पनि हाल तीन लाखको बजेटमा व्यवस्थापन गर्नु परेको छ। खानेपानीको अभावले पनि सेवा सञ्चालनमा चुनौती थपिरहेको छ।
समस्या समाधानका लागि लहान नगरपालिकासँग पटक–पटक माग भए पनि अहिलेसम्म पूर्ण समाधान भएको छैन। गत वर्ष औषधिका लागि नगरपालिकाले केही सहयोग गरे पनि यस वर्ष निरन्तरता नहुँदा अवस्था अपरिवर्तित रहेको छ।
औषधालयको व्यवस्थापनका लागि वडा नम्बर १ का वडाध्यक्ष युगल किशोर चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ। वडाध्यक्ष चौधरीले समितिले औषधी अभाव र खानेपानीको समस्या यथाशिघ्र समाधान गर्न पहल गर्ने बताउनुभएको छ।
उहाँ भन्नुभयो, “औषधी अभाव र खानेपानीको समस्या यथासिघ्र समाधान गर्ने छौं। अन्य सेवा सुविधा सुधारका लागि नगरपालिकासँग थप बजेटको पहल हुनेछ।”
यसैगरी, स्थानीय कविराज रहमानले औषधालयमा मधुमेह, रक्तचाप, ग्याष्ट्रिक र पक्षघात भएका बिरामीहरूको चाप बढिरहेको उल्लेख गर्दै, स्थानीयस्तरमा स्वास्थ्य शिविर र स्वस्थ जीवनशैलीसम्बन्धी कार्यक्रम सञ्चालनको आवश्यकता औंल्याउनुभएको छ।
स्थानीय दाता बालेश्वर यादवका अनुसार, स्वास्थ्य मन्त्रालयको बजेटबाट औषधालय भवन निर्माण गरिएको थियो। उहाँले भन्नुभयो, “औषधालयको व्यवस्थापनमा नगरपालिकाले पर्याप्त चासो नलिँदा दुःख लागेको छ।”