गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ११ गते । नियात्राकार नन्दु उप्रेतीको तेस्रो नियात्रासङ्ग्रह ‘चीन यात्राका यादहरू’ सार्वजनिक गरिएको छ । यसअघि नियात्राकार उप्रेतीका ‘फेवादेखि विवासम्म’ र ‘कालापानी यात्रा’ प्रकाशित छन् ।
काठमाडौँमा शनिबार सार्वजनिक नियात्रा कृतिमा जनवादी गणतन्त्र चीनको भ्रमणका सिलसिला समेटिएका छन् । फ्रेन्ड्स अन दी क्लाउड्स प्लेटफर्म अफ इन्फ्लुएन्सर्स, नेपालद्वारा प्रकाशित सो कृतिमा पेइचिङ, साङ्घाई र छङ्तु भ्रमणका सन्दर्भलाई मिहिन ढङ्गले प्रस्तुत गरिएको छ ।
सो कार्यक्रममा प्राडा गोविन्दमानसिंह कार्कीले पुस्तक समीक्षा गर्दै ‘चीन यात्राका यादहरू’ सङ्ग्रहले चीनको ऐतिहासिक, सांस्कृतिक, राजनीतिक, पर्यटकीय, भौगोलिक जानकारी प्रस्तुत गर्ने बताउनुभयो ।
नियात्रासङ्ग्रहमा २० वटा नियात्रा सङ्गृहीत छन् । लेखक उप्रेतीले आफ्नो यात्रालाई सम्झना, कल्पना र यथार्थको त्रिकोणात्मक घुलन गरी अत्यन्त पठनीय बनाएको टिप्पणी प्राडा कार्कीले गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष शोभित उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नियात्राकार उप्रेतीले आफूले चीनको यात्रामा देखेबुझेका जानकारीलाई नेपाली पाठकसामु प्रस्तुत गर्ने प्रयास गरेको चर्चा गर्नुभयो ।