• ११ फागुन २०८२, सोमबार

‘निर्वाचन हुन्छ, शङ्का नगर्नूस्’

blog

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी आइतबार गोरखापत्र संस्थानले आयोजना गरेको निर्वाचन समाचार अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिर : सागर बस्नेत

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ११ गते । गोरखापत्र संस्थान अन्तर्गत रहेका विभिन्न प्रकाशनमा आबद्ध सञ्चारकर्मीका लागि निर्वाचन समाचार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । निर्वाचन आयोगसँगको सहकार्यमा गोरखापत्र संस्थान अन्तर्गत गोरखापत्र एकेडेमीले कार्यक्रमको आयोजना गरेको हो । 

आइतबार राजधानीमा आयोजित अभिमुखीकरण कार्यक्रम उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका सम्बन्धमा कुनै संशय नराख्न अनुरोध गर्नुभयो । निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताउँदै उहाँले भन्नुभयो, “अधिकांश तयारी पूरा भइसकेको छ । अब १० दिन मात्रै बाँकी छ । बाँकी रहेका काम २४ सै घण्टा गरेर भए पनि निर्वाचन कार्यक्रमलाई पूर्ण रूपमा सफल बनाउँछौँ ।”

अहिले पनि ठुला दलकै केही उम्मेदवारले आफूलाई निर्वाचनबारेमा संशय राखेर फोन गर्ने गरेको उल्लेख गर्दै भण्डारीले भ्रममा नपरी निर्वाचनको प्रचारप्रसारमा लाग्न अनुरोध गर्नुभयो । यस कार्यमा सहयोग गर्न उहाँले सञ्चार माध्यमलाई पनि अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “केही कुण्ठित व्यक्तिले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउन सक्छन् । अब नेपाली जनता त्यस्ता प्रायोजित हल्लाका साक्षी बस्न सक्दैनन् ।”

राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ता निर्वाचन प्रचारप्रसारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचनबाहेक अर्को विकल्प नदेखेको बताउँँदै उहाँले नयाँ, पुराना सबै शक्तिले समेत निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरेको दाबी गर्नुभयो । केही तत्वले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यो प्रयास सफल नहुने चेतावनी उहाँले दिनुभयो ।

भदौ २३ गतेभन्दा अगाडिको शक्ति र भदौ २३ र २४ को विद्रोहपछि उठेको नयाँ शक्तिको संयोजनका लागि पनि निर्वाचन अति आवश्यक रहेको प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनुभयो । निर्वाचनको वातावरण बनाउने र त्यस वातावरणलाई निर्वाचनको प्रक्रियासम्म पु¥याउने काममा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 

मत सर्वेक्षणका नाममा मत परिणाम बाहिर नल्याउन पनि उहाँले सञ्चार माध्यमलाई अनुरोध गर्नुभयो । मत सर्वेक्षणका नाममा कुन उम्मेदवारले हार्दै छ र कुन उम्मेदवारले जित्दै छ भन्दै निर्वाचनअघि नै अनुमानका भरमा परिणाम बाहिर ल्याउनु निर्वाचन आचारसंहिताविपरीत रहेको भण्डारीले बताउनुभयो । यस्तो कार्य गर्ने सञ्चार माध्यमलाई कानुन अनुसार कारबाही गर्ने चेतावनीसमेत उहाँले दिनुभयो ।

केही सञ्चार माध्यमले मत सर्वेक्षण गरिरहेको उल्लेख गर्दै उहाँले ती सञ्चार माध्यमलाई मत सर्वेक्षण नगर्न पटक पटक आग्रह गरे पनि नटेरेको गुनासो गर्नुभयो । निर्वाचनअघि नै मत सर्वेक्षण सार्वजनिक गर्दा निर्वाचनमा हार्ने सम्भावना रहेका उम्मेदवारले जित्न सक्ने र निर्वाचनमा जित्न सक्ने सम्भावना भएका उम्मेदवारले हार्न सक्ने भण्डारीले बताउनुभयो । “यस्तो कार्यले समग्र निर्वाचनको वातावरणलाई नै बिगार्न सक्छ । निर्वाचन प्रणालीमै समस्या ल्याउन सक्छ,” उहाँले भन्नुभयो, “आयोगलाई आचारसंहिता बनाएर लागु गर्न सक्ने अधिकार संविधानले नै दिएको छ । यस विषयमा विगतमा सर्वोच्च अदालतले समेत व्याख्या गरिसकेको छ । तसर्थ आयोगले बनाएको आचारसंहिता सबैले पालना गरिदिनूस् भन्ने मेरो अनुरोध छ ।”

आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति र संस्थाको पहिचान गरेर छानबिन भइरहेको जानकारी दिँदै भण्डारीले केही उल्लङ्घनकर्तामाथि निर्णय गर्ने प्रक्रियामा रहेको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो कार्य व्यस्तताले केही दिन ढिलो भएको मात्रै हो । यस विषयमा छिट्टै निर्णयमा पुग्छाँै ।”

निर्वाचन आयोगले अहिले शताब्दीकै पेचिलो निर्वाचनलाई सरल रूपमा सम्पन्न गर्न लागेको भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “शताब्दीकै पेचिलो निर्वाचनलाई सरल बनाएका छौँ । देशमा बिथोलिएको वातावरणलाई लयमा ल्याउने विकल्प निर्वाचनबाहेक अर्को छैन । यसलाई सफल बनाउनुको विकल्प छैन ।” निर्वाचनको विकल्प निर्वाचन भएकाले तोकिएकै समयमा निर्वाचन हुने भएकाले ढुक्क भएर तयारीमा लाग्न आग्रह गर्नुभएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले यस्ता कार्यक्रमले निर्वाचनकेन्द्रित समाचार सामग्री उत्पादनमा सहयोग पु¥याउने बताउनुभयो । पछिल्लो समय बौद्धिक कृत्रिमता, डिजिटल मिडियालगायतको बढ्दो प्रयोगका कारण भ्रामक सूचना फैलन सक्ने त्रास बढिरहेको बताउँदै उहाँले भ्रामक सूचनाबारे सरोकारवाला सबै जानकार रहनुपर्ने धारणा राख्नुभयो । 

गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारीले मतदाता शिक्षाका बारेमा विद्यालय तहको पाठ्यक्रममै विषयवस्तुहरू राख्नुपर्ने बताउनुभयो । अहिले मुलुक विशिष्ट अवस्थामा रहेको र यस्तो अवस्थामा हुन लागेको निर्वाचनका विषयमा समाचार सामग्री सम्प्रेषण गर्दा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । निर्वाचनलाई सफल बनाउने दायित्व सञ्चार माध्यमको पनि भएको बताउँदै अध्यक्ष भण्डारीले भन्नुभयो, “हामीले जिम्मेवारी, दायित्व र जवाफदेहिता पालना गर्दै आएका छौँ । आचारसंहिताप्रति सचेत पनि छौँ ।”

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र र संस्थान अन्तर्गतका अन्य प्रकाशनले निर्वाचन प्रचारप्रसारका लागि स्वतःस्फूर्त रूपमा काम गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “आयोगसँग औपचारिक रूपमा सम्झौता गरेर र सम्झौता नगरी पनि राज्यको सञ्चार माध्यमको हैसियतले हामीले विगतदेखि नै समाचार सामग्री सम्प्रेषण गर्दै आएका छौँ । गलत सूचना रोक्ने पहल पनि गर्दै आएका छौँ ।” 

निर्वाचनको संवेदनशीलता, निर्वाचनका क्रममा आउने बदलावलगायत विषयमा जानकारी गराउने उद्देश्यले गोरखापत्र दैनिकले ४६ वटा भाषामै सामग्री प्रकाशन गर्दै आएको महाप्रबन्धक ऐरीले बताउनुभयो । उहाँले भन्नुभयो, “गलत सूचनाको प्रवाह रोक्ने हाम्रो पहिलो दायित्व हो । सही सूचना दिने जिम्मेवारी पनि हाम्रो हो ।” 

निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले गोरखापत्रलगायतका सञ्चार माध्यमले नेपालको लोकतन्त्र संस्थागत गर्न दिनरात नभनी काम गर्दै आएको बताउँदै निर्वाचन सफल बनाउने विषयमा पनि संस्थानको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । गोरखापत्रलगायत संस्थानका अन्य प्रकाशनले सरकारी सञ्चार माध्यमका रूपमा प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “गोरखापत्रलाई हामीले आचारसंहिता सिकाइ राख्नु पर्दैन । अरूले आचारसंहिता उल्लङ्घन गरेको घटनामा पनि प्रश्न उठाइदिन गोरखापत्रलाई अनुरोध छ ।”

गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले निर्वाचन घोषणा भएको दिनदेखि नै गोरखापत्रले निर्वाचनसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनसम्बन्धी सामग्री सत्य र तथ्यका आधारमा प्रस्तुत गर्दै आएका छौँ । अभिमुखीकरणपछि यो काम थप शुद्धीकरण हुने छ । थप व्यवस्थित हुने छ ।”

दी राइजिङ नेपाल दैनिकका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतमले निर्वाचन समाचारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चारकर्मीका लागि उपलब्धिमूलक रहेको बताउनुभयो ।

गोरखापत्रका दैनिकका निमित्त कार्यकारी सम्पादक तथा गोरखापत्र एकेडेमीका निर्देशक केदार भट्टराईले एकेडेमी स्थापनाको उद्देश्यबारे जानकारी गराउनुभएको थियो । अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोगका सहसचिव राजेन्द्र केसीले निर्वाचन चक्र र प्रक्रिया, सूचना प्रविधिविज्ञ तथा सञ्चारकर्मी विजय तिमल्सिनाले निर्वाचनसम्बन्धी समाचारमा तथ्य परीक्षण र गोरखापत्र अनलानइनका डिजिटल प्रमुख नारद गौतमले निर्वाचन समाचार तयारी र लेखनमा ध्यान दिनुपर्ने विषयमा सहभागीलाई प्रशिक्षण दिनुभएको थियो । अभिमुखीकरण कार्यक्रममा गोरखापत्र संस्थान अन्तर्गतका विभिन्न प्रकाशनमा आबद्ध सञ्चारकर्मीका साथै अन्य समाचार संस्थाका सञ्चारकर्मीहरूको पनि सहभागिता थियो ।