• १३ पुस २०८१, शनिबार

शब्दबिम्बमा सजिएका सत्यमोहन

blog

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको भौतिक देहले चीर विश्राम लिएको झन्डै १ वर्ष हुन लागेको छ । १०३ वर्षको चिरायु जीवन बाँचेर २०७९ असोज ३० गते उनले चिरविश्राम लिए ।

सत्यमोहन जोशीलाई सबैले बुझ्न सक्नेगरी उनको क््िरयाशीलताबारे परिचित नेपाली समाज र विशेषतः बौद्धिक, साहित्यिक, प्राज्ञिक, सांस्कृतिक क्षेत्रद्वारा संस्कृतिविद् भनेर सम्बोधन र सम्मान गर्ने गरिएको छ । उनलाई वाङ्मय शताब्दी पुरुष भनेर औपचारिक तवरमा सम्बोधन गर्न थालिएको भने उनको देह विश्रान्तीअघिका झन्डै ६ वर्षयता मात्र हो । उनलाई उनकै कर्महरूको पृष्ठभूमिमा वाङ्मय शताब्दी पुरुषको संज्ञानात्मक उपाधि प्रदान गर्दा उनको वास्तविक सम्मान हुन सक्छ भन्ने चिन्तन दार्शनिक तवरले नै उपयुक्त रहेको अनुभव गर्न सकिन्छ ।

२०७४ सालयता औपचारिक तवरमा सत्यमोहन जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी’ भन्न र लेख्न थालिएको हो । संस्कृतिविद्ले बोक्ने अर्थभन्दा वाङ्मय शताब्दी पुरुषको अर्थगत घेरा निकै विस्तारित छ ।

सत्यमोहनको व्यक्तित्व र कृतित्वलाई चिर स्मरणीय राख्नु पर्छ भन्ने ध्येयका साथ हालसालै सार्वजनिक गरिएको ‘शब्दबिम्बमा सत्यमोहन’ का सम्पादक ढुङ्गाना पेसागत रूपमा पत्रकार हुन् । 

उनी पत्रकारिता क्षेत्रमा मात्र व्रिmयाशील नरही साहित्यिक क्षेत्रमा पनि उनको सिर्जनशीलता विस्तारित स्वरूपमा यत्रतत्र देखिन्छ । १३ बालकृतिसहित १५ वटा किताबका धनी उनका सम्पादनतर्फ बाल र प्रौढ गरी सबै जसो विधाका झन्डै ७० पुस्तक बजारमा छन् । पाठकका दृष्टिले सम्पादक ढुङ्गानालाई चिन्ने आधार यिनै हुन् ।

यसरी नै चिनिएका गोपीकृष्ण ढुङ्गानाले यी सबै अनुभवलाई प्रयोग गरी सत्यमोहनको देहावसानपछिको चार महिनामै ‘शब्दबिम्बमा सत्यमोहन’ कृतिको संयोजन र सम्पादन गरी भुँडीपुराण प्रकाशनमार्फत बजारमा ल्याएका छन् । जुन ग्रन्थको महत्ता जोशीको व्यक्तित्व, कृतित्व र कीर्तित्व बुझ्न दीर्घकालीन रूपमै रहेकोमा दुई मत छैन । 

स्मृतिग्रन्थहरूको प्रकाशनका सन्दर्भमा अलिकति यसको पृष्ठभूमि उल्लेख गर्नु अनुपयुक्त नठहरिएला नै । एक दलीय कालखण्डमा २०३९ सालमा जननायक बिपीको देहान्तपछि तत्कालीन साप्ताहिक समाचारपत्रहरू एवं मासिक रूपमा प्रकाशन हुने साहित्यिक वा विचारप्रधान पत्रिकाहरूका विशेषाङ्कहरू प्रकाशित भएका थिए । तिनमा बिपीका राजनीतिक वा साहित्यिक विचारबारे पर्याप्त लेखरचना प्रकाशित भए । तर दैनिक अखबारहरूमा प्रकाशित सामग्रीलाई सङ्कलन÷सम्पादन गरी एकै ग्रन्थमा समेटेर तिनलाई सुरक्षित गर्ने तर्फको तत्परता र प्रयास भने भएको त्यति जानकारीमा आएको छैन । त्यसबेलाका कतिपय साप्ताहिक समाचार पत्रहरू इतिहास भइसकेका छन् । २०४७ सालयता विभिन्न समयमा दिवङ्गत गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका राजनीतिक व्यक्तित्वबारेमा समाचारपत्रहरूद्वारा स्मृति विशेषाङ्कहरू प्रकाशन गरिएको पाइन्छ । यद्यपि अखबारहरूमा लेखकहरूद्वारा तात्कालीक रूपमा स्वस्फुर्त तवरमा अभिव्यक्त भएका सामग्रीहरूको सङ्कलन र एकमुष्ट रूपमा प्रकाशनको तत्परता देखाउने लेखक÷पत्रकारहरूको सङ्ख्यात्मक उपस्थिति भने न्यून नै रहेको प्रतीत हुन्छ ।

गोपीकृष्ण ढुङ्गानालाई सत्यमोहन जोशीको देहावसानपछि उनलाई सम्झेर समाचारपत्रहरूमा छापिएका लेखरचनाहरूलाई सङ्कलन गरी प्रकाशन गर्ने अग्रसरता लिन जोशीप्रतिको उनको व्यक्तिगत श्रद्धाभावले मात्र प्रेरित गरेको होइन । जोशीमाथि तत्काल लिखित÷प्रकाशित सामग्रीहरू भविष्यका अध्येताका लागि विशेष उपयोगी रहन सक्छन् र त्यसनिम्ति त्यस्ता सामग्रीलाई सुरक्षित गरी एउटै ग्रन्थमा सङ्कलन गर्न आवश्यक छ भन्ने ठानेर नै उनले यस कार्यमा तत्परता देखाएका हुन् । वास्तवमा जोशीका बारेमा लिखित सामग्री यसरी सङ्कलन गरी सुरक्षित राख्नु पर्छ भन्ने पहिलो सोच त सरकारी तवरबाटै हुनुपथ्र्यो । त्यसनिम्ति पहल गरिनुपथ्र्यो । त्यस्तो पहल सरकारी निकायबाट भएको पाइएन । बरु एक जना पत्रकार व्यक्तिगत रूपमा राष्ट्रिय महŒव र आवश्यकताको यस पुनित कार्य गर्न अग्रसर रहे । ढुङ्गानाले लोकार्पणका व्रmममा जोशीका निधनको भोलिपल्ट असोज ३१ गते नै आफूसम्बद्ध पत्रिकामा जोशीबारे विशेष सामग्रीहरू नै प्रकाशन गर्न सफल भएको ग्रन्थको सम्पादकीयमा उल्लेख गरेका छन् ।

यसै गरी अन्य दैनिक अखबार एवं अनलाइन माध्यमहरूमा पनि तत्कालैदेखि कात्तिक महिनाभरि जोशीबारे विभिन्न लेखक÷पत्रकारका चिन्तन, अनुभूति र संस्मरणात्मक लेखरचना प्रकाशित भए । असोज ३१ गते प्रायः सबै दैनिकले जोशीबारे मुख्य समाचार बनाए नै । सम्पादकीय लेखिए । ढुङ्गानाले जोशीबारे पहिले नै उनको जीवनकालमा प्रकाशित भइसकेका अन्तर्वार्ता एवं मन्तव्य आदि सामग्रीलाई पनि छाने, खोजे र एउटा स्तरीय ‘शब्दबिम्ब’ का लागि पुग्नेगरी सङ्कलन गरे अनि छापियो ।  यसको प्रकाशन भएबाट निकट, दूर वा सुदूर भविष्यका अध्येताका लागि जोशीको चिर विश्रामपछि लगत्तै उनीबारे केकस्ता सामग्री वा स्मृतिलेखहरू छापिएका थिए भनेर थाहा पाउन एउटा प्रमुख सन्दर्भ ग्रन्थ उनीहरूका सामुन्नेमा उपलब्ध हुने छ । यसले सम्पादक ढुङ्गानाको पत्रकारिता जीवनलाई पनि दीर्घकालीन रूपमा स्मरण गराइरहने छ ।

ग्रन्थभित्रका लेखरचनाहरूको स्तरीयता पाठकले नै मापन गर्नुहुने छ । जेजति सङ्कलित छन्, तीभित्र जोशीको आत्मा फरकफरक ढङ्गले प्रतिबिम्बित भएको बुझ्न सकिन्छ । जोशी सबै लेखकभित्र अधिकार जमाएर बसेका छन् । शताब्दीका साक्षी जोशी अब लेखक÷पत्रकार र अध्येताहरूकै हृदय र चिन्तनभित्र एकाकार भएर यस ग्रन्थभित्र बोलिरहेका छन् । जोशीसँगको सान्निध्यता निकै पटक प्राप्त गरेका सम्पादक ढुङ्गानाले जोशीलाई वैयक्तिक तवरमा पनि राम्ररी बुझ्ने मौका पाएका छन् भन्ने पुष्टि उनले ग्रन्थभित्र लेखेको ‘समयले बनायो सत्यमोहन, सत्यमोहनले बनाए समय’ शीर्षकको सम्पादकीयले गरेको पाइन्छ ।

बकुम्बहाल (जोशी निवास) मा भएको एक भेटमा जोशीले आफूलाई भनेको सम्झँदै ढुङ्गाना लेख्छन्– ‘तपाईंलाई कत्तिको फुर्सद हुन्छ ? मसँग भएको ज्ञानगुनलाई किताबमा उतार्न पाए हुने थियो (सम्पादकीय) ।’ ढुङ्गानाले जोशीको यस भनाइलाई स्मरण गरिरहे । जीवनकालमा जोशीको अपेक्षा पूरा गर्न नसकेकोमा भित्रभित्रै पिरोलिएका उनले श्रद्धाञ्जली स्वरूप यस ग्रन्थको सम्पादन गरेको बताएका छन्– ‘सत्यमोहनज्यूको त्यो चाहनालाई उहाँको जीवनकालमै नसके पनि श्रद्धाञ्जली स्वरूप यो कृति ‘शब्दबिम्बमा सत्यमोहन’ सुम्पिएको हुँ । कुनै ठुलो काम त होइन यो तर निधनपछि उहाँबारे लेखिएका समाचार, सम्पादकीय, अबिच्युअरी, लेख, आलेख, कविता र अन्तर्वार्ता आदि पाउने सजिलो थलो बनाएको मात्र हो । केवल सेवाभावले जन्मिएको ग्रन्थ हो यो ।’

जोशीमाथि जति अध्ययन, लेखन भएको छ उनको जीवनकालमा, त्यस्तै अन्य सामग्रीहरूकै अर्को सङ्गठित शृङ्खलाका रूपमा सम्पादित यस ग्रन्थले जोशीले ढाकेको नेपाली वाङ्मय क्षितिजलाई अझ बढी चियाउन सघाउने छ । जीवनोपरान्त प्रकाशित यो पहिलो सम्पादित÷सङ्ग्रहित ग्रन्थ हो, जोशीप्रतिको अभिलेखन सङ्ग्रह हो । यस्ता ग्रन्थ अरू कैयौँ आउनु पर्छ, आउने नै छन् । राष्ट्रकवि घिमिरेले जोशीमाथि अध्ययन गर्न बाँकी रहेको सङ्केत गरेका छन्– ‘...उनलाई हेर्नुपर्ने तीन आयाम छन् । एउटा सांस्कृतिक आयाम हो, दोस्रो साहित्यिक आयाम र तेस्रो प्रशासनिक आयाम । उनलाई संस्कृतिविद् भनेर चर्चा गर्ने चलन छ । अरू दुई पक्षका बारेमा खासै चर्चा भएको छैन... (पृ. २१७) ।

जोशीको व्यक्तित्वका अनेक आयाम छन्, सबैको सघन अध्ययन भइसकेको छैन । त्यो हुने छ, हुँदै जाने छ । घिमिरेले जोशीका तीन प्रमुख आयामलाई स्मरण गरेका छन् । प्रत्येक आयामभित्रबाटै जोशीमाथि गरिने अध्ययनका लागि अन्य भिन्न भिन्न आयामहरू देखा पर्ने छन् । जोशीले मुलुकको मूलतः सांस्कृतिक अन्वेषण गरे । अब जोशीकै व्यक्तित्व÷कृतित्वको अन्वेषण अझै हुनु पर्छ र व्रmमशः हुँदै जाने छ । जोशीले निर्माण गरेको आकाश निकै ठुलो छ, त्यसमाथि अझै विचरण गरिनु पर्छ ।

जोशीको आकाशमाथि विचरण गर्न गोपीकृष्ण ढुङ्गानाद्वारा सम्पादित यस ग्रन्थले पक्कै महŒवपूर्ण भूमिका खेल्ने छ । भन्नै पर्छ एउटा समाचार दोहोरिएको छ । जुनसुकै ग्रन्थ, कृतिमा पनि केही न केही त्यस्तो भएको हुन्छ । लाग्न त लाग्या हो, जोशीद्वारा नै लिखित लेखरचना खण्ड छुट्टै राख्न पाएको भए पनि हुन्थ्यो भन्ने । तर ग्रन्थ सम्पादन गर्नुको ध्येयलाई सम्पादकले प्रस्ट्याएकै छन् । एकै ग्रन्थमा सम्पूर्ण कुरा अटाउन सक्ने कुरा पनि होइन । यस सम्पादित ग्रन्थको प्राविधिक पक्षमाथि पनि खोट लगाउने ठाउँ देखिँदैन ।