काठमाडौँ, असार १६ गते । दुई वर्षअघि गाईभैँसीमा महामारीको रूपमा देखिएको लम्पी स्किनको सङ्क्रमण पुनः देखिन थालेको छ । यो वर्ष सुरु भएदेखि मोरङ, रुकुम र रुकुमपश्चिम गरी तीन वटा जिल्लामा यो रोग पुष्टि भएको पशुसेवा विभागले उल्लेख गरेको छ ।
विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठले यो वर्ष मोरङमा सबैभन्दा बढी पशुमा लम्पी स्किन सङ्क्रमण भएको जानकारी दिनुभयो । त्यो बाहेकका अन्य जिल्लाबाट अहिलेसम्म पुष्टि भएको रिपोर्ट नआएको डा. श्रेष्ठको भनाइ छ । उहाँले १७ प्रतिशतभन्दा बढी कृषकले पशुमा लम्पी स्किन भएको रिपोटिङ नगर्ने बताउनुहुन्छ ।
नेपालमा पहिलो पटक विसं २०७७ सालको असार, साउन महिनामा मोरङबाट लम्पी स्किन पुष्टि भएको थियो । सोही समय १५-१६ वटा जिल्लामा सङ्क्रमण पुष्टि भएको थियो ।
आर्थिक वर्ष २०७८-७९ मा त्यती धेरैमा पुष्टि नभए पनि आर्थिक वर्ष २०७९-८० मा भने ७७ वटा जिल्लाबाट ६५ हजारको हारहारीमा गाईभैँसीको लम्पी स्किनबाट मृत्यु भएको थियो । यो रोग जुनसुकै मौसममा देखिए पनि बर्खायाममा बढी देखिने डा. श्रेष्ठको भनाइ छ ।
लम्पी स्किन रोग कस्तो रोग ?
लम्पी स्किन रोग क्याप्रिपक्स प्रजातिको लम्पी स्किन डिजिज भाइरसका कारण सङ्क्रमण हुने गर्छ । डा. श्रेष्ठका अनुसार यो रोग सर्ने गाईभैँसीमा बढी मात्रमा देखिने गर्छ । यो रोग अति सङ्क्रमक भएकाले छोटो समयमा धेरै स्थानमा फैलिने गर्छ ।
लामखुट्टे, झिङ्गा, किना, भुसुना आदिको टोकाइबाट एक पशुबाट अर्कोमा सर्ने पशु चिकित्सक बताउँछन् । रोगी पशुको सिङ्गान, र्याल, सङ्क्रमित पशुको प्रत्यक्ष सम्पर्कमा आएका पशु, लसपस भएको दानापानी, सोत्तरबाट एक पशुबाट अर्कोमा सर्ने गर्छ । गोठमा काम गर्ने मानिस, उपचार गर्ने चिकित्सकबाट, एक पशुबाट अर्कोमा सर्ने गर्छ ।
लक्षण
उच्च ज्वरो आउने, दाना पानी कम खाने र दुधको उत्पादन घट्ने ।, छालामा साह्रो गिर्खा आउने, गिर्खाहरु केही समयपछि हराउने वा कहिलेकाही गिर्खाहरू फुटेर गहिरो घाउ हुने, किरा पर्ने यो रोगका प्रमुख लक्षण भएको डा. श्रेष्ठ बताउनुहुन्छ ।
त्यो बाहेक नाकमुख भित्र, कल्चौडा, थुनामा घाउ हुने, आँसु, र्याल, सिङ्गान आउने, चिप्रा कचेरा लाग्ने, खुट्टा जोर्नी सुनिन्ने, गोबर तथा पिसाबमा रगत देखिनेजस्ता लक्षण देखिने गर्छन् ।
डा. श्रेष्ठका अनुसार लम्पी स्किन रोग भाइरसबाट लाग्ने रोग भएकोले यसको खासै उपचार हुँदैन । रोगका लक्षणका आधारमा उपचार गरिने चिकित्सकको भनाइ छ । ज्वरो घटाउने, चिलाउन कम गर्ने, घाउ सुकाउने, घाउमा झिङ्गा बस्न नदिन प्राविधिकको सल्लाह अनुसार उपचार गर्नुपर्न डा. श्रेष्ठको भनाइ छ ।
लम्पी स्किन रोगबाट सङ्क्रमतिमध्ये दुईदेखि तीन प्रतिशत पशुको गम्भीर लक्षण देखिएर मृत्यु हुनेगर्छ । लम्पी स्किन रोग अति सङ्क्रामक र प्रत्यक्ष सम्पर्कमा आउने अन्य पशुलाई सजिलैसँग सर्न सक्ने प्रकृतिको भएकोले रोग देखा परेका क्षेत्रमा पशुलाई सामूहिक चरन वा अन्यत्र नलैजान चिकित्सकको सुझाव छ ।
उपचार बाहेक बिरामी पशुलाई प्रशस्त मात्रामा पानी, कुँडो, नरम घाँस झोलिलो पदार्थ ,सख्खर, गुँड पानी, इलेक्ट्रोलाइट खुवाउनुपर्छ । हालसम्म एक पटक लम्पी स्किन रोग लागेर निको भएको पशुले अन्य पशुलाई रोग सारेको कुनै पनि अध्ययनले नदेखाएको उहाँको भनाइ छ ।
लम्पी स्किन रोग सङ्क्रमित पशुको दुध मासुबाट मानिसमा रोग सर्दैन । तर, पनि पशुले औषधी खाएको हुनाले सङ्क्रमित पशुको दुध र मासुको सेवन नगर्न चिकित्सकको सुझाव छ ।
सरकारले यो रोगबाट पशुलाई बचाउन तीन वर्षदेखि यो विरुद्धको खोप लगाउँदै आएको छ । यो आर्थिक वर्ष १४ लाख ६० हजार खोप खरिद गरेर जोखिम क्षेत्रमा यो खोप लगाउने तयारीमा रहेको श्रेष्ठ बताउनुहुन्छ । सङ्क्रमित पशुलाई भने यो विरुद्धको खोप लगाउन मिल्दैन । एक पटकको खोप लगाएपछि एक वर्षसम्म खोप लगाउनु पर्दैन । उहाँका अनुसार लम्की स्किन रोग विरुद्धको खोप जिल्लास्थित पशु सेवा कार्यालय र स्थानीय तहका पशु सेवा शाखाबाट निःशुल्क प्राप्त गर्न सकिन्छ ।
सङ्क्रमण हुन नदिन के गर्ने ?
यो रोगबाट सङ्क्रमित पशुलाई २८ दिन स्वस्थ पशुबाट अलग्गै राख्न पशु चिकित्सकको सुझाव छ । रोग नियन्त्रण गर्न स्वस्थ गाईभैँसी अनिवार्य खोप लगाउन, गोठ तथा फार्म परिसरमा नियमित सरसफाइ गरी लामखुट्टे, झिङ्गा, किर्ना, भुसुना आदि किराको सङ्ख्यालाई नियन्त्रण गर्ने, शङ्का लागेका पशुलाई बथानबाट छुट्याएर अलग्लै राख्ने, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्ने, रोग देखा परेको क्षेत्रबाट गाईभैँसीको ओसारपसार नगर्न, फार्मको मुख्यद्वार निःसङ्क्रमण गर्न विभागका महानिर्देशक डा. राम नन्दन तिवारीले आग्रह गर्नुभयो ।
नेपालमा गाईको सङ्ख्या ४७ लाख र भैँसीको सङ्ख्या ३१ लाख गरी ७८ लाख गाईभैँसी रोगको जोखिममा भएको अनुमान गरिएको छ ।