• २० वैशाख २०८१, बिहिबार

किचकन्नी [कथा]

blog

त्यस दिन साँझ म टुँडिखेलमा थिएँ । कार्यवश एउटा पुरानो मित्रलाई भेट्ने प्रतीक्षामा थिएँ । टुँडिखेलको रमझम चहल पहल हेर्दा हेर्दै मेरो मन पुरानो युवा अवस्थामा चर्न पुगे । हो आजभन्दा धेरै पहिले म १०–१५ वर्षको थिएँ होला टुँडिखेल यस्तो थिएन । टुँडिखेल फलामो बारमा बाँधिएको थिएन । खुल्ला पर परसम्म हरियो घाँसमा घाम ताप्ने, दौडिने आदि टुँडिखेलमा भई नै रहन्थ्यो । त्यतिबेला भूत, ख्याकको कथाहरू धेरै नै सुनिन्थ्यो । हामीलाई पनि यस्ता कथाहरूमा अति नै चाख थियो । मेरो साथी रामे र लक्ष्मण मभन्दा अलि उमेरमा जेठा थिए । एक दिन हाम्रो आमाले किचकन्याको कथा सुनाउनु भयो र भन्नुभयो, “हेर है केटा हो ! राति भएपछि टुँडिखेलमा न जानु त्यहाँ त किचकन्नी आउँछे है ।”

“के हो किचकन्नी भनेको आमा ?”

“किचकन्नी भनेको मध्यरातमा टुँडिखेलमा घुमिरहने स्वास्नीमान्छे हो । उसको कुर्कुच्चा अगाडि र औँलाहरू पछाडि हुन्छन् ।”

“ए ! त्यो किचकन्नीले के गर्छे नि ?”

“त्यसले लोग्ने मानिसलाई हाउभाउ देखाई फकाई फुल्याई लान्छे ।”

“अनि के गर्छे नि लगेर ?”

“के गर्छे नि अब आफ्नो लोग्ने बनाउँछे ।”

“किचकन्नी कसरी हुन्छन् आमा भन्नुस् न ।”

“आफ्नो जीवनमा आफूले मन लागेको मानिससँग बिहे गर्न नपाई मर्नेहरू र बिहे भए पनि आफूले आफ्नो लोग्नेसँग राम्ररी जीवन बिताउँ भन्दाभन्दै मरेका आइमाईहरूको मन कल्पिरहन्छ रे । उनीहरूको आत्मा घुमिरहन्छ र उनीहरू राति–राति लोग्ने मानिसको खोजीमा निस्कन्छन् । अनि टुँडिखेलको खुला ठाउँमा लोग्ने मानिसको खोजीमा हिँडरहन्छे भन्छन् पुराना मानिसहरूले ।”

“अनि समातेर के के गर्छन् त ?”

“अनि त्यही टुँडिखेलमा पर एउटा ठुलोखरीको बोट छ नि । हो ! त्यहीँ लगेर लोग्ने मानिसलाई माया गर्छन् । तर थाहा छ कुनै कुनै किचकन्नीले त आफूलाई मन परेको मानिसलाई घनको पोको पनि दिन्छन् रे ।”

“कस्ता हुन्छन् किचकन्नी ?”

“किचकन्नी अति नै राम्रा राम्रा हुन्छन् । तर थाहा छ, उनीहरूसँग आँखा जुधाउन हुन्न रे ।”

“अनि कसरी कुरा गर्ने त ।”

“किचकन्नी त बोल्दै बोल्दैनन् रे । अरूले भनेको मात्र सुन्छन् । तिमीहरू किचकन्नी भएको ठाउँमा न जानु है । उनीहरूलाई रिस उठ्यो भने मारी पनि दिन्छन् ।”

“बोलाएर लगेपछि मार्न पनि हुन्छ र ?”

“हो किचकन्नीलाई रिस उठेपछि मार्न बेर लगाउँदैनन् । तर त्यस्तो बेलामा तिमीहरूसँग भएको गायत्री मन्त्र जप ग¥यौ भने तिनीहरू भागिहाल्छन् रे ।”

“हो र ! कस्ता हुन्छन् किचकन्नी ! मलाई त हेर्न मन छ बा !”

“हो हो कतै किचकन्नीले हामीलाई धनको पोको नै दिन्छिन् कि ?”

रामे र लक्ष्मण पनि हौसिए किचकन्नीको कथा सुनेर । एक दिन हामी तीनै जना किचकन्नी हेर्न राति टुँडिखेल जाने कुराको सल्लाह भयो । 

त्यो रातको सम्झनाले मेरो मुटु अझै थरर काँप्छ । औँसीको कालो अन्धकार रात, कतै केही नदेखिने बेलामा हामी तीन मित्रहरू किचकन्नी हेर्न भनी टुँडिखेल पस्यौँ । चारैतिर सुनसान अन्धकार, चकमन्न, घाँसमा हिँड्दै हिँड्दै अलि परसम्म पुगेपछि हाम्रो खुट्टा टक्क अड्यो । तीनै जनाको मनमा डर उम्रिँदै गएको थियो । तर कसैले पनि यो भावलाई प्रकट हुन दिएका थिएनन् । पर पर बत्ति भिलिक्क झिलिक्क भएकोमा पनि उनीहरूको मन डरले सतर्क भइरहेको थियो । तीनै जना एकदमै चुप लागी हात समाई अघि बढ्दै थिए । पर पर कहिलेकाहीँ चरा कराएको मधुर स्वर पनि आई नै रहेको थियो । तर निष्पट्ट अन्धकारले केही पनि देखिएन । एकैछिनमा अलि पर एउटा रुख जस्तो लागेर तीनै जना त्यहीँ बस्यौँ । बिस्तारै आपसमा कुरा गरिरहेका थियौँ, “ए रामे ! यहाँ त केही छैन हिँड् घर जाऊँ” भन्यो लक्ष्मणले । 

“ल अब आइसकेपछि त किचकन्नी हेरेरै जाने हैन र ?” भन्यो बिस्तारै रामेले । 

“हो हो त नि यसै कसरी फर्कने, भर्खर त आएका छौँ । पर्ख न पर्ख ए तिमीहरू पनि कस्ता रहेछौ ।” बिस्तारै मैले उनीहरूको हौसला बढाएँ । हामी एक अर्काको हात समाई एकै गुजुल्टो भए झैँ टाँसिएर बस्यौँ । चकमन्न रात्रिको समय त्यो पनि रातको १२ बज्नै लाग्यो होला भन्ने मनमा डर त्रास थियो सबैमा । त्यत्तिकै बेला घण्टाघरले १२ टन टन टन हान्न थाल्यो । हाम्रो मुटु पनि बेस्सरी ढुक ढुक गर्न थाल्यो । रामेले मलाई बेस्सरी समायो, लक्ष्मणले रामेलाई तीनै जनाको मन मात्र हैन खुट्टा पनि लुगलुग काँपिरहेका थिए । 

त्यतिबेला काठमाडौँमा आजको जस्तो धेरै मानिस पनि थिएनन् । रातिमा तोप पड्केपछि मान्छे बाटोमा हिँड्दैन थिए । सुनसान, चकमन्न जताततै झ्याउँकिरीको बत्ति पिलिक्क पिलिक्क बलेको मात्र देखिँदा झनै डर लाग्ने । हामी तीनै जना अल्लारे बुद्धिका, कहिले डरले एकै डल्सो हुन्थ्यौँ भने, कहिले सासानो खस्याकखुसुक आवाजले पनि झसङ्ग हुन्थ्यौँ । त्यो अन्धकार रातमा टुँडिखेल एउटा चकमन्न भयको घेराभित्र भित्रै खडा भएको चौर देखिएको थियो । कतैबाट छम छम आवाज आयो । रामेले कसेर लक्ष्मणलाई समायो र भन्यो, “हेर त आवाज त आयो नि के हो किचकन्नी आई कि के हो हँ ?”

लक्ष्मण डरले थरर् हुँदै रामेलाई समाई भन्यो, “ए रामे ! के हो हँ । आआ अब त जाऊँ । मलाई त डर लाग्यो भाइ ।”

भयमिश्रित आँखाहरू टुँडिखेलको चारैतिर चर्दै थिए तर कसैले केही देखेनन् । बिस्तारै तीनै जनालाई भय र निन्द्राले अँगालोमा भिजाइसकेको थियो । कहिले रामे त कहिले लक्ष्मण उठ्न थालिसकेको थियो । मलाई चाहिँ किचकन्नी हेर्ने धोकोले डर लागे पनि निन्द्रा चाहिँ लागेको थिएन । मैले दुवैलाई उठाइरहेँ । “ए ! रामे खै त अहिलेसम्म केही पनि देखिँदैन ।”

“त्यही त भनेको खै केही पनि छैन । रात पनि छिप्पिसक्यो ।” लक्ष्मणले भन्यो, “कतै हजुरआमाले हामीलाई यसै झुक्याउनु भएको त हैन । हेर न अब त उज्यालो हुन आँटिसक्यो भाइ ।” 

परबाट फेरि छल्र्याम छुर्लुम घण्टीको आवाज आयो । तीनै जना सासै नफेरी त्यतै हेर्न थाल्योँ । परबाट एउटा सेतो छाया आइरहेको थियो । जति जति नजिक आउँछ घण्टीको आवाज निकै आइरहेछ । अब त सबैलाई त्यही नै हो भन्ने मनमा प¥यो र डरले तीनै जनाले आँखा चिम्म ग¥यौँ । केही बेरमा आफ्नै सामु घण्टी आवाज आएको र बिस्तारै आँखा सानो पार्दै हेर्दा त त्यो त सेतो साँढे पो रहेछ र उसको घाँटीको घण्टी पो बजेको रहेछ ।