काठमाडौँ, कात्तिक २१ गते। हङकङमा आजदेखि सुरु भएको हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा आज भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो।
नेपाल पराजित भए पनि बलर राशिद खानले लगातार तीन विकेट लिएर ह्याट्रिक पूरा गर्नुभयो भने ओपनर सन्दीप जोराले अर्धशतक पूरा गर्नुभयो।
टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्ताले जितका लागि दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो। नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाउनुभयो। उहाँले १४ बलमा ८ छक्का र १ चौकाको सहयोगमा ५३ रन जोड्नुभयो। त्यस्तै राशिद खान र मोहम्मद आदिल आलमले समान ११/११ रन जोड्दा अर्को ओपनर लोकेश बमले १० रन थप्नुभयो। रुपेश श्रेष्ठ १ रनमा अविजित रहनुभयो।
यता अफगानिस्तानका लागि फरमुल्ला र इजाज अहमद अहमदजाइले समान एक एक विकेट लिनुभयो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको थियो । उसका लागि करिम जनितले सर्वाधिक ३५ रन बनाउनुभयो। त्यस्तै फरमनुल्लाह सफी ३० रनमा अविजित रहदा गुल्बादिन नाइबले २२ रन बनाउनुभयो।
नेपालका लागि रसिद खानले ह्याट्रिकसहित चार विकेट लिनुभयो। अर्को विकेट लोकेश बमले हात पार्नुभयो। भोलि नेपालले समूह चरणको अन्तिम खेल दक्षिण अफ्रिकासँग खेल्नेछ।