• १३ पुस २०८१, शनिबार

विविधता पस्कँदै नेपाली रङ्गमञ्च

blog

‘पचास रुपियाँको तमसुक’, ‘गाउँको आवाज’ जस्ता नाटक गाउँघरमा साँझपख देखाइन्थे । दलहरूमाथि प्रतिबन्ध लागेको पञ्चायतकालीन त्यो समयमा यस्तै सडक नाटक जनचेतना जगाउने आधार थिए । अनि मनोरञ्जनका माध्यम पनि । महिला पात्रहरू नभेटिएर पुरुषहरू नै लिपिस्टिक, गाजल लगाएर अभिनय गर्थे । दसैँतिहारको छेक पारेर गाउँघरमा अन्य नाटक पनि हेर्न पाइन्थ्यो । रेडियो नेपालबाट शनिबार दिउँसो प्रसारण हुने नाटकको पनि उस्तै क्रोज थियो त्यो बेला । 

पहिलो पटक नाटकघरभित्रै पसेर नाटक हेरेको चाहिँ स्कुले जीवनको अन्त्यतिर हो । नाटकघर चाहिँ चितवनको नारायणी कला मन्दिर थियो । तर नाटकको नाम थाहा भएन । २०४७/४८ तिर काठमाडौँमा माधव घिमिरेलिखित ‘मालती मङ्गले’ हेरेको थिएँ– सायद राष्ट्रिय नाचघर, जमलमा । धेरैपछि काठमाडौँको रातोपुलस्थित आरोहण गुरुकुलमा ग्रिसेली नाटककार सोफोक्लिजको वियोगान्त नाटक ‘इडिपक्स रेक्स’ को नेपाली संस्करण हेर्ने मौका मिल्यो । बुबालाई मारेर आफ्नी आमासँग बिहे गर्न अभिशप्त राजा इडिपसको दर्दनाक अन्त्यको साक्षी बनेर बाहिरिँदाको त्यो उकुसमुकुस भयानक थियो । ढुक्कै काठमाडौँ बस्न थालेपछि नाटक हेर्ने तीव्रता अरू बढ्दै गयो । विशेष गरी पछिल्लो एक दशकमा यो व्रmम अरू बढ्यो । नहेरिएका नाटकबारे पनि चासो रह्यो र नाटकका विषय, शैलीबारे थोरबहुत चाख बढ्दै गयो ।        

नाटकमा मौलिकता

केही दर्शक दुःखेसो पोख्छन्– पहिले मौलिक नाटक धेरै हुन्थे, अहिले आयातित विषयमा नाटक बन्छन् । हालै मञ्चित ‘दमिनी भीर’ का सन्दर्भमा लेखक÷समालोचक देवी क्षेत्री दुलालले राजन मुकारुङलाई उल्लेख गर्दै लेखे– ‘आख्यानात्मक कृतिलाई नाटकीकरण गर्नुभन्दा मौलिक नाटक लेख्नुस् । यसले नाटकको मर्म बोक्दैन ।’ कलाको एउटा विधा अर्कोमा रूपान्तरण हुनु मौलिकता नहुनु चाहिँ होइन । यो नवसृजना पनि हो र किताबसँग पहुँच र अनुराग नराख्नेहरूलाई नाट्य रूपान्तरबाट जोड्न सकिन्छ । कथा, उपन्यास, निबन्धलाई पनि नाट्य रूपान्तर गर्ने प्रचलन विश्वभर दशकौँदेखि चलिरहेकै छ । नोबेल बिजेता टर्कीका लेखक ओह्रान पामुक पनि यस विधा रूपान्तरका पक्षधर छन् । यसबाट विभिन्न समूहका सरोकारवाला समेत लाभान्वित हुन जाने ठान्छन् उनी । अनि अर्काे कुरा, आज पनि मौलिक नाटक नबनेका होइनन्, छन् । ‘विमोक्ष’, ‘ब्युँझिएको सिरानी’, ‘युद्धका घाउहरू’ ‘ढकियामे नागरिकता’, ‘चोरको स्वर’, ‘खुवालुङ’ आदि मौलिक नाटक नै त हुन् ।

नाट्य मञ्चनमा कला, प्रविधि र विषयका दृष्टिले मौलिकताको खोजी त भइ नै रहन्छ । यसबाहेक अभियानकै हिसाबले पनि नाटक लेखिएका छन्, मञ्चित छन् । ‘खुवालुङ’ यस्तै एक मौलिक उदाहरण हो । किराँती आस्थाको ढुङ्गा हो खुवालुङ । कोभिडकालमा यसको रक्षार्थ धेरै विरोध कार्यव्रmम गरिए । पछि यही विषयलाई किराती इतिहास र मिथकसँग जोडेर राजन मुकारुङले सिङ्गो नाटक लेखे ।

साहित्यमा स्नातकदेखि नै नाटक पढाइन्छ तर विद्यार्थीलाई नाटक हेर्न प्रोत्साहित गरिन्न । बरु बेलाबखत स्कुले छात्रछात्रालाई नाटक हेर्न ल्याएको देखिन्छ । नाटकका सैद्धान्तिक पक्ष र मञ्चका विविध पाटा थिएटरबाट सजिलै बुझाउन सकिन्छ । उपन्यास, कविता जस्तो नाटक धेरै पढिँदैन । यसैले पनि मौलिक नाटक कम लेखिएको होला । यस्तो अवस्थामा बाह्य कृतिमा निर्भर हुनु नाट्यकर्मीहरूको बाध्यता पनि बन्न जान्छ । यसैले त मौलिक नाटक लेख्नेहरूको हरदम खाँचो छ । निर्देशक घिमिरे युवराज लेखकहरूलाई सधैँ घच्घच्याइरहेका हुन्छन्, भनिरहन्छन्– ‘लौन, एउटा बेजोड नाटक पाम ।’  

अनूदित तथा अङ्ग्रेजी नाटकहरू 

मातृभाषाबाट नेपालीमा ल्याएर पनि नाटक बनाइएका छन् । ‘मजिपा लाखे’ जस्ता सत्यमोहन जोशीका नाटकले काठमाडाँै उपत्यकालगायतका नेपाली संस्कृतिलाई राम्रै चर्चामा ल्याए ।  अङ्ग्रेजी र हिन्दीबाट अनूदित नाटक पनि निकै मञ्चन भएका छन् पछिल्लो समय । ‘बाह्र दुर्भाशा’, ‘एनिमल फार्म’, ‘ह्यामलेट’ ‘एउटा सपनाको अवसान’, महाभोज, ‘वेडिङ एल्बम’, ‘म पनि मान्छे हुँ’ जस्ता अनुवादित नाटकले आआफ्नै छाप र प्रभाव छोडेका छन् । यस्ता नाटकबाट बाहिरी संस्कृति र त्यताको परिवेश बुझ्न पाइन्छ । सोफोक्लिज र सेक्सपियरका नाटक संसारभर मञ्चन गरिन्छन्, हामीकहाँ पनि गरियो । बर्तोल ब्रेख्त, हेनरिक इब्सनका शिल्प पनि नेपाली नाट्यप्रेमीले देख्न पाए । यसबाहेक एन्टोन चेखोब, ओस्कार वाइल्ड, मोपाँसा, जर्ज अर्वेल, चाल्र्स डिकेन्स आदिका कृतिमा आधारित नाटक पनि बनिरहेका छन् ।  

‘सेम टाइम नेक्स्ट इयर’, ‘लुकिङ ब्याक इन एङ्गर’, ‘थ्री सिस्टर्स’, ‘म्याकवेथ’, ‘नाइट मदर’ आदि नाटक अङ्ग्रजीमा नै हुबहु मञ्चन भएका थिए । अमेरिकी डेवोरा मेरोलाको वन वल्र्ड थिएटर र नेपाली आकाङ्क्षा कार्कीको कौशी थिएटर यस कार्यमा अग्रणी छन् । लुनिभा तुलाधर, दिव्य देव जस्ता कलाकारको उपस्थितिले पनि काठमाडौँमा देखाइने अङ्ग्रेजी नाटकको ओज बढेको छ । कतिपय अङ्ग्रेजी नाटकमा थोरै नेपाली परिवेश घोलेको पाइन्छ । 

नाटकमा समसामयिकता 

कलाकारहरू नाटक हुँदै सिनेमा छिर्ने व्रmम त बलिउडमा पनि थियो । हामीकहाँ पनि दयाहाङ, खगेन्द्र, सौगात, दिया, सरिता, लुनिभा नाटकबाटै स्थापित भएका हुन् । यी कलाकारको जीवन्त अभिनयले नेपाली सिनेमाको भाषा र भाष्य नै बदलिएको छ । हालै बनेका विषयप्रधान ‘हल्कारा’, ‘महानगर’ जस्ता नेपाली सिनेमाले हल पाएनन् । अन्य यस्ता धेरै सिनेमाले खासै व्यापार गर्न सकेनन् । तर सिनेमाको अनुपातमा नाटकहरू राम्रो चले ।

‘तीन घुम्ती’, ‘सेतो बाघ’ जस्ता नेपाली कृतिमा बनेका सिनेमा खासै सफल रहेनन् तर किताब केन्द्रित नाटक राम्रै चले । सत्य मोहन जोशी, अभि सुवेदी, सञ्जीव उप्रेतिदेखि नारायण वाग्ले, बुद्वि सागर, श्याम शाह, युग पाठक, फूलमान बल, पुरु लम्साल आदिका लेखनमा नाटक बनिसकेका छन् । पछिल्लो समय कुमार नगरकोटी र राजन मुकारुङ चाहिँ अलि दोहोरिरहने नाम बनेका छन् नाट्यलेखनमा । अतियथार्थवादी धार समात्ने नगरकोटीका प्रयोगात्मक नाटकले राम्रै झड्का दिन्छन्, सोचमग्न बनाउँछन् । ‘कोमा’ र ‘बाथटव’ को प्रयोग ‘ट्रान्जिट’ मा आइपुग्दा अझ घनिभूत रह्यो । काल परिव्रmमाका माध्यमले तीन विभिन्न समयका प्रेम प्रसङ्गले उसैगरी तिल्मिलायो दर्शकदीर्घा । पहिचानवादी धारलाई बल पु¥याउने मुकारुङका यसअघि ‘हेत्छाकुप्पा’, ‘जोखना’, ‘खुवालुङ’ मा पनि भरिभराउ दर्शक थिए । 

‘दमिनी भीर’ ले पनि रङ्गमञ्च ततायो । जातका आधारमा भइरहेको विभेदमाथि लेखन राजन मुकारुङ र निर्देशक इँगिहोपो कोइँचको जोडीले जोडले हम्मर हाने । हाँसोरेला, पूर्वेली संवादले लट्ठ पाथ्र्यौं । बलात्कारलाई दृश्याङ्कन गर्न भएको लाछाडोरी, सहनाई आदिको विम्बात्मक प्रयोग उत्कृष्ट थियो । किताबबाट नाट्य रूपान्तरित हुँदाको कथा उठान र विस्तारले राम्रै बाँध्थ्यो दर्शकलाई । ‘दमिनी भीर’ उपन्यास लेखिएको बाह्र वर्षपछि यसैमाथि नाटक बन्यो । बाह्र वर्षपछि खोलो फर्किन्छ भन्छन् । तर छुवाछूत सिर्जित हिंसाहरू अहिले पनि उस्तै छन् । त्यसैले पनि सान्दर्भिक छ नाटकले उठाएको बहस आज पनि ।     

पोल्लास सिन्धुलीयले भैरव अर्याललाई नयाँ पाठकसमक्ष उभ्याए ‘भग्न भैरव’ उपन्यासमार्फत । लगत्तै काठमाडौँमा भैरव अर्यालको तिर्सना बढ्यो सायद । त्यसैले त वारात लिम्बू कस्सिए भैरवलाई मञ्चमा उतार्न । अनि मञ्चन भयो ‘ह बिन्दु राम पण्डित’, भैरव अर्यालको जीवन र निबन्धमा टेकेर । यसको शीर्षक भने उनको हास्यव्यङ्ग्य सङ्ग्रह ‘इतिश्री’ अन्तर्गत सङ्कलित ‘हराम पाँडे हजुर’ मा आधारित छ । नाटकको शीर्षक ‘ह. राम पण्डित’ थियो पहिले तर यसबाट धार्मिक आस्थामा चोट परेको भन्ने विवाद उठेपछि थोरै परिवर्तन गरी ‘ह बिन्दु राम पण्डित’ राखियो । अर्यालको मूूल निबन्धमा मुख्य पात्रको निधनपछि यमलोकमा उसको पहिचानको कसरत चलिरहेको हुन्छ । ‘तिमी हिन्दु हौ कि होइनौ’ भन्ने प्रश्नमा निज पात्र भन्छ, ‘मैले जनै देखाएँ, टुपी देखाएँ ।’ तर चित्रगुप्तको जवाफ आउँछ, ‘जनै र टुपी विधर्मी हिप्पीहरूले पनि राख्न थालेकाले अचेल यिनको प्रमाण लाग्दैन ।’ यस्तै परिस्थिति झेलेको छ सआदत हसन मन्टोको लघुकथा ‘गल्ती सच्चाइयो’ को पात्रले पनि । विधर्मी भएकै कारण मारिन्छ ऊ । काल्पनिक यी पात्रहरूको हविगत भोग्न बाध्य छन् कैयौँ जीवित पात्र अझै ।       

उमेर अन्तर र जातीय उँचनिचको मोहोरीमा प्रेमको अवशान भएको थियो नाटक ‘विमोक्ष’ मा । नाटकले प्रेम गरेकै आरोपमा कथित उच्च जातकाबाट मारिन पुगेका नवराज विकलाई सम्झनामार्फत ब्युँताउँछ । यो विदारक अवस्था कहिले त सुदूर गाउँका धारापँधेरामा त कहिले सार्वजनिक स्थलमा अझै दोहोरिरहेका छन् । यसै गरी एउटा ‘एउटा सपनाको अवसान’ ले औसत मान्छेका सपना र पुँजीवादको जाँतोमा दुर्घटित जीवनलाई देखाइएको थियो । निम्न मध्यम वर्ग यही परिस्थितिमा रुमल्लिएका छन् । सामाजिक विसङ्गतिको पर्दाफास गर्न आजका नाटक पनि वाचाल देखिन्छन् । हिजो निषेध गरिएका धेरै विषयहरूमाथि अहिले अन्य काव्यिक विधा झैँ नाटकमार्फत पनि पेचिला सवाल उठिरहेका छन् । 

नाटकका विविध आयाम   

भाद्र महिनामा निकालिने गाईजात्रा र यसैसँग सम्बन्धित प्रहसनको व्यग्र पर्खाइ हुन्थ्यो पहिले । तर आजभोलि हातहातमा मोबाइल छन् अनि मनोरञ्जनका अनेक श्रव्यदृश्य सामग्री उपलब्ध छन् । दसैँको सँघारमा तराईमा रामलीलाको तयारी हुँदै होला । सहरमा सधैँ झैँ कन्सर्ट, नाइटक्लब, डिस्कोथेक, लोकदोहोरी चलिरहेकै छ । तर पनि कलाका अनुरागी नाटक गर्न, खेल्न र हेर्न लागिपर्छन् । दर्शकहरूका अगाडि प्रत्यक्ष मञ्चन हुने नाटकमा सिनेमामा जस्तो रिटेक सङ्भव छैन । त्यसैले यो बढी सजीव र सम्मोहनकारी विधा लाग्छ । 

‘मालती मङ्गले’ जस्ता गीति नाटकले उपत्यका तरङ्गित थियो कुनै बेला । ‘राज राजेश्वरी’ जस्ता नृत्य नाटक पनि हेरियो । ‘एक बोली एक दाम’ जस्ता हास्यरस प्रधान नाटकको आफ्नै आनन्द छ । नाटकमा यथार्थवाद त हावी भइरहकै छ । बेलाबखत नयाँ प्रयोग देख्न पाइन्छ नाटकमा । ‘म्याकवेथ’ सेक्सपियरको वियोगान्त नाटक । ओपेराको प्रयोग पश्चिमाका लागि स्वाभाविक भए पनि हाम्रो सन्दर्भमा नौलो प्रतीत हुन्थ्यो । ओपेरामा अभ्यस्त नभएका मजस्ता दर्शकलाई पट्यारलाग्दो थियो नाटक घरीघरी ।

विषयगत विविधतासँगै प्रविधिको प्रभाव पनि उत्तिकै हुन्छ नाटकमा । नाटकको मञ्च सजावटमा लेखक÷निर्देशकको पृथकता झल्किन्छ, दर्शकलाई उत्तिकै लोभ्याउँछ । ‘दमिनी भीर’, ‘बाथटव’, ‘ट्रान्जिट’ आदि नाटक मञ्चका कारण पनि सम्झनामा रहन्छन् दीर्घकाल । कतिपय नाटकमा बदलिरहन्छन् मञ्च सजावट, एउटै प्रदर्शनमा । ‘महाभोज’, ‘ट्रान्जिट’ आदिमा प्रोजेक्टरको प्रयोगले विषयको उपकथा र प्रसङ्ग जोडिएको थियो । नृत्यमा जसरी प्रयोग गरिने विभिन्न ‘प्रप’ ले नाटकप्रति दर्शकको उत्सुकता अरू जगाउँछ । प्रकाश, ध्वनि संयोजनको आफ्नै प्रभाव छ । निरन्तर अन्तरालमा गुन्जिने गीत सङ्गीतले गम्भीर मोडमा पुगेका दर्शकलाई सहज बनाउँछ र कथालाई कसिलो गरी जोड्छ । जीवनभन्दा धेरै पर पुगेर गरिने अतिरिक्त अभिनयले पनि नाटकलाई धक्का पु¥याउँछ । कतिपय नाटकका अस्वाभाविक चर्का संवादले बिझाउँछ पनि । दैनिक जीवनमा सुनिने संवाद ‘धेरै नाटक नगर है’ बाट नेपाली नाटकलाई नै जोगाउनु भने अपरिहार्य छ ।      

नाटकको विस्तार र भविष्य 

सुनील पोखरेलको आरोहण गुरुकुलको आफ्नो नाटकघर त भत्कियो । बानेश्वरस्थित कुञ्ज थिएटरमा आक्कलझुक्कल गुरुकुलका नाटक मञ्चन हुन्छन् अझै । सुनीलबाट दीक्षित उल्लेख्य व्यक्तिहरू नाटक क्षेत्रमा सव्रिmय छन् । मण्डला, शिल्पी, कौशी, शैली नाटकघरले नाटकप्रेमीलाई व्यस्त बनाइरहेकै हुन्छन् । पहिलो अन्तर्राष्ट्रिय नाटक महोत्सवका केही नाटक हेरिएको थियो कीर्तिपुरस्थित थिएटर मलमा, तर व्रिmयाशील देखिन्न अहिले । सर्वनाम र राष्ट्रिय नाचघरले नाटकको साख धानिरहेका छन् । राजधानीबाहिर चितवनको नारायणी कला मन्दिरमा यदाकदा नाटक मञ्चन हुन्छ । हालै चितवनका दर्शकले ‘एक चिहान’ हेर्न भ्याए । इलामको चेतना नाट्य समूह पहिलेदेखि नै सव्रिmय छ । अलि अघि बसन्त बस्नेतको उपन्यासमा आधारित ‘महाभारा’ मञ्चन ग¥यो यसले । तर पनि उपत्यकाबाहिर नाट्य परिवेश सीमित छ । कहिलेकाहीँ कला साहित्य महोत्सवमा नाटक मञ्चन गरिन्छ । गत वैशाखमा सम्पन्न चितौन कचेहेरीमा पनि स्थानीय कलाकारहरूले एउटा नाटक देखाएका थिए । ‘हिउँको पृथ्वी यात्रा’ नाटकले देश दौडाहाको मौका पायो । ‘खुवालुङ’ धरानमा देखाइयो । कदम थिएटरको अगुवाइमा यतिखेर ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ दमक पुगेको छ । तर सधैँ यस्तो अवसर मिल्दैन । 

काठमाडाँैमा मौलाइरहेको नाट्य संस्कृति देशका धेरै भेगमा फैलाउनु आवश्यक छ । यहाँ चलेका नाटकहरू देशका विभिन्न ठाउँमा मञ्चन गर्न सके उपत्यकाबाहिरका नाट्यप्रेमीहरू मन परेका नाटक हेर्न काठमाडौँ नै धाउनु नपर्ला । कोभिडकालपछिको आर्थिक मन्दीको असरले पत्रकारिता, कला, साहित्य पनि निकै प्रताडित छ । यस्तोमा पाँच सय रुपियाँ तिरेर नियमित नाटक हेर्न पनि सजिलो छैन, आमदर्शकलाई । चरम प्रतिकूलताबिच पनि नाटकमा कला र भविष्य खोज्ने युवाहरूको उपस्थिति भने उल्लेख्य छ । ‘म नाटक गर्छु’ अङ्कित टिसर्ट लगाएर नाटकमा होमिएको यो जमात नै यो क्षेत्रको भविष्य हो ।