• २८ असार २०८२, शनिबार

श्रद्धाहार आदिकवि भानु ! (कविता)

blog

गर्‍यौ अक्षरका खेती भाषा खासा बढाउँदै ।

वीर हास्य र शृङ्गार रसमा गड्गडाउँदै ।।


मर्यादा रामको कीर्ति हिमाल र मधेशमा ।

घनक्क घन्किँदै गुन्जे द्यौराली औ पधेरीमा  ।।


भोलिकै पुन्तुरा बाँड्ने दुष्टरुष्ट प्रशासक ।

भिजाई काव्यमा सिस्नु झप्कायौ पिँडुलातक !!


कृशाङ्गी चपला उस्तै चित्रिणी हस्तिनी छवि ।

तन्दुरुस्त खिचे फोटा काव्य कविता मन्त्र–मोहनी ।।


व्यञ्जना लक्षणा घोल्दै बगायौ दृष्टि दर्शन ।

नेपालीपनमा मीठो खोल्थ्यो काव्यिक गर्जन ।।


रच्यौ मानक भाषामा छन्दकाव्य मनोरम ।

राष्ट्रको एकता गाँस्न बसाल्यौ गतिलो क्रम ।।


विभूति देशका हाम्रा भानु दिव्य दिवाकर !

श्रद्धाका अञ्जलीपुष्प अर्पन्छौँ हे प्रभाकर !!