• २८ असार २०८२, शनिबार

गाह्रो छ हो जिन्दगी (कविता)

blog

छानो तप्प चुहेर आँगन भयो खाँबो भिजेको छ है

बिछ्यौना पनि ओसिलो हुन गयो के हुन्छ तातो र खै 

आगो निभ्न गयो र बाहिर गए, जो बास बस्थे अघि

हाहाकार भयो भनौँ म कसरी गाह्रो छ हो जिन्दगी 


घैँटो त्यो भरिएर अन्न कुहिँदै मासिन्छ बिजै कि त

वा अग्लो हरियो बनेर घरको फेर्ने छ शोभा तक 

बग्दै ताल कि वा समुद्र तिर नै पुग्ला अवस्यै बगी

मान्छे मात्र छ शोकमा किन अहो ! गाह्रो छ हो जिन्दगी 


बाटो बन्द भयो र साधन डुबे मान्छे हराए कति

कत्रो वेग अहो ! छ छाल सरिको रोकिन्छ के ले गति ?

यो लामो दुःखबाट मुक्त हुन खै के राख्नु हो बन्दगी

के रोप्ने जब खेत नै बगर भो गाह्रो छ हो जिन्दगी 


जो आस्था मनमा थिए जतनका सन्तोष सारा गयो

वर्षा हो सहकाल यो समयको कस्तो अँध्यारो भयो

बालौँ बत्ति भने उता बलगरी फाल्ने कता हो लगी

जस्ले बोक्छ विशाल चेत मनको गाह्रो छ हो जिन्दगी  


मेरो देह म दिन्छु लिन्छ त भने रोकोस् दुःखेको जिमी

हो रक्षार्थ भने कुनै तवरले सन्तोष मान्नु तिमी

बाँच्नै पर्दछ आडमा यदि भने राखोस् उसैले लगी 

पाओस् मुक्ती कतै पुगेर उसले गाह्रो छ हो जिन्दगी