• १३ पुस २०८१, शनिबार

मृत्युको अर्थ मृत्यु नै

blog

नभने पनि भनेजस्तै हुन्छ जीवनका कुरा । अनुभव गर्न सकिने सुखदुःखका कुरा । काम र कीर्तिका कुरा । जीवन र जगत्का कुरा । समयका खुट्किला उक्लेर उचाइमा पुगेका कुरा । वर्षौं लगाएर बनाएका भ-याङ भत्किएर फेरि भुइँमा नै आइपुगेका कुरा । कुरै कुरा त हुन् नि भोगिरहनुपर्ने जीवनभरि । 

एकै पटक भोगिने त मात्र मृत्यु हो । जीवनको सबैभन्दा नजिक भएर पनि अनुभव गर्न नपाइने भनेकै मात्र मृत्यु हो । अनुभव र अभ्यासबाट सधैँ टाढा रहने पनि मात्र मृत्यु हो । सायद यही नै पो हो कि मृत्युको सौन्दर्य ?

सबै देखिने सत्य हुँदैनन् भन्ने कुराको सबैभन्दा ठुलो उदाहरण पनि मृत्यु नै हो । भनिएको त्यत्तिकै होइन देखिनेमा भन्दा नदेखिनेमा विशेष सत्य र शक्ति हुन्छ भनेर । प्रत्येक फल र पूmलमा पुनर्जन्मको शक्ति भएजस्तै । टाँसिएरै आएको हुन्छ जन्मसँगै मृत्यु पनि । जीवनमा सबै कुरा मिथ्या हुन सक्छन् तर मृत्यु कहिले झुटो हुन सक्दैन । सदा शाश्वत । सदा सत्य । कहिले कसैप्रति भेदभाव नगर्ने भनेको पनि मृत्यु मात्रै हो । कसैको केही पनि हेर्दैन । सधैँ समान । सबैप्रति समान । अग्लो भए पनि । होचो भए पनि । धनी भए पनि गरिब भए पनि । जमिनमा भए पनि । आकाशमा भए पनि । पानीमा भए पनि । जुनै भूगोलमा भए पनि । मृत्यु मात्र मृत्यु बन्छ । अपरिवर्तनीय । स्वाभाविक र स्वीकार्नै पर्ने ।

त्यसैले मानिसको स्थायी भनेको पनि मृत्यु मात्र हो । जीवन चाहिँ सबैभन्दा अस्थायी । रहस्यमयी पनि अरूभन्दा बढी । त्यसैले उमेर मानिसको मृत्युको आधार हुँदैन । कहिले बनेको छैन र बन्दैन पनि । जतिखेर पनि स्वाभाविक । जहिले पनि स्वाभाविक । असामयिक भन्ने हुँदै हुँदैन । मात्र उत्तर नभएका प्रश्नहरू हुन्, कहाँ मृत्यु ? कहिले मृत्यु ? कसरी मृत्यु ?

भर्खरै मलेसियाको एउटा समाचार आएको छ सन् तेइस अगस्टको । आकासमा उडिरहेको निजी प्लेन बिग्रेर बाटोमा खस्यो । केही कारमाथि प-योे । गुडिरहेका कारभित्र मानिसहरू मारिए । मर्नेहरूले कहिले कल्पना पनि गरेका थिएनन् होला । आकासको प्लेनले थिचिएर मर्छु भन्ने । त्यस्तै समुद्रमा डुबेको टाइटनिक जहाज हेर्न गएको एउटा पनडुब्बी पनि बिग्रियो र त्यसभित्रकाहरू सबै मरे । वर्षौंदेखि समुद्रभित्रको महँगो पर्यटकीय गन्तव्य बनिरहेको थियो डुबेको टाइटानिक । 

त्यसैले भनेको सबै अनिश्चित र सबै रहस्यात्मक हुन्छ जीवनजस्तै । भए पनि जस्तोसुकै, घटना सबै निश्चित र सबै स्पष्ट । भनिएको त्यसैले हो मान्छेको जीवन सबैभन्दा अनिश्चित हुन्छ । भए पनि रमाइलो के छ भने जसको एक घण्टा पनि ग्यारेन्टी छैन जीवनको उसैले लिन्छ अरूको वर्षौं वर्षको ग्यारेन्टी । एक मिनेटको पनि ग्यारेन्टी नहुने भनेकै मान्छेकै मात्र हो । 

मृत्यु मान्छेको सबैभन्दा नजिकको मित्र हो । विश्वासिलो मित्र भए पनि बन्ने गरेको छ डरको महाभारत । मृत्युसँग डराउनु भनेको आफैँसँग डराउनु होे । मृत्युलाई चिन्न नसक्नु र नबुझ्नु नै हो । सधैँ साथमा भएर पनि सधैँ अपरिचित बनिरहने । कारण पनि सायद यही होला । सबै कुराको अभ्यास हुन्छ । अभ्यास गरेपछि आत्मविश्वास बढाउन सकिन्छ । मृत्युको न अभ्यास गर्न सकिन्छ न आत्मसात् नै गर्न सकिन्छ । त्यही भएर होला मृत्यु सबैका लागि सबैभन्दा कठिन बनेको । 

भनिन्छ ठिकसँग बाँच्न नजान्नेहरू ठिकसँग मर्न पनि जान्दैनन् । ठिकसँग मर्नलाई जीवन पनि ठिक नै हुनु पर्छ । यो कुरा हेर्दा सामान्य जस्तो लाग्छ । गहिरिएर सोच्ने हो भने यसभित्रको दर्शन ठुलो छ । जीवनमा मृत्यु हुने भएकैले हो जीवनको अर्थ र महìव भएको पनि । बुझ्नेहरू मर्नु पर्छ भनेर नराम्रो काम गर्न डराउँछन् । परहितमा आपूmलाई लगाउँछन् । मृत्यु बिर्सनेहरू भने अरूलाई मारेर पनि आपूm बाँच्न खोज्छन् । अरू पनि आपूm जस्तै हो भन्ने बिर्सन्छन् । डराइनँ भन्नेहरू चाहिँ बाँचेर पनि मरिहन्छन् । त्यसैले भनिएको होला– मृत्यु पनि एउटा कला हो । यसलाई सकारात्मक दृष्टिले लिने हो भने जीवन जिउने कला नै मृत्युकला हो ।

त्यत्तिकै चलेका होइन रहेछन् डेथ थेरापीहरू । त्यत्तिकै खोलिएका होइन रहेछन् डेथ थेरापीहरू, डेथ क्याफेहरू । युरोप, अमेरिका र अफ्रिकाको मात्र कुरा होइन यो । एसियामा पनि सयौँ डेथ थेरापी र क्याफेहरू खुलिसकेका छन् । अहिले बयासी देशमा पन्ध्र हजार जति डेथ क्याफेहरू खुलिसकेका छन् । भारतमा पनि आठ ठाउँमा मृत्यु चिन्तन गर्ने कफी पसलहरू छन् । मानिसमा मृत्यु प्रतिको चिन्तन बढ्दै गएको प्रमाण हो यो । यहाँ निराश हुनेहरू जाँदैनन् । मर्न चाहनेहरू पनि जाँदैनन् । मृत्युप्रति उत्कण्ठा बोक्नेहरू मात्र जान्छन् । अरूले मृत्युलाई कसरी बुझेका छन् भनेर बुझ्न चाहने जिज्ञासुहरू जान्छन् । भनौँ जीवन बुझ्न चाहनेहरू जान्छन् । मृत्युलाई सहज स्वीकार्नेहरू जान्छन् । डेथ क्याफेको कुर्सीमा बसेर कफीको चुस्की लिँदै एकआपसमा मृत्यु चिन्तन गर्दारहेछन् । 

नगरे पनि हुने जिज्ञासा हो– मृत्यु भनेको सुख हो कि मुक्ति ?

 मृत्यु प्रत्येकको आफ्नै विषय हो । कसैको कसैसँग सरोकार हुँदैन । दर्शनको विषय हो तर अरूभन्दा फरक । कुनै पनि विषयको दर्शनको गहिरो व्याख्या हुन्छ । तर मृत्युको व्याख्या हुँदैन, भए पनि सधैँ अपूर्ण । ब्रह्म सत्य, जगत् मिथ्या भन्ने वेदान्त दर्शन छ । संसार सबै मृत्युमय छ भन्ने अर्को दर्शन छ– सर्व मृत्युमयं जगत् । मृत्युबाट अमरतातिर भन्ने अर्को श्लोक छ– मृत्योर्मा अमतं गमय ।

 होलान् यस्ता अरू कतिकति श्लोकहरू । मन्त्रमा पनि होलान् कति कति । कति होलान् चिन्तनहरू । सिर्जनाका त विषय नै बनेका छन् मृत्यु । डरलाग्दो हुन्थ्यो भने किन गरिन्थ्यो स्वेच्छाले गरिने सिर्जनाहरूमा । 

शताब्दीपुरुष सत्यमोहन जोशीको प्रश्नउत्तर शैलीमा नाटक छ– मृत्यु एक प्रश्न । यसमा मृत्युलाई आत्मचिन्तन र शान्तिका लागि अपूर्व स्रोत मानिएको छ । लघुकथाकार सुमन सौरभको लघुकथासङ्ग्रह छ– मृत्यु सङ्ग्रह । सबै लघुकथाहरू मृत्युकै वरिपरि घुमेका छन् । मृत्युका अनेक रूप, सन्दर्भ र चिन्तन छन् । कवि मञ्जुलको मृत्युमाथि सिङ्गो कवितासङ्ग्रह छ–मृत्यु कविता । निबन्धकार ज्ञानेन्द्र विवशले मृत्युलाई उत्सव बनाएका छन्– मृत्यु उत्सव । साहित्यकार सृजन लम्सालले मृत्युलाई अधिकार मानेको व्यङ्ग्य निबन्धसङ्ग्रह छ– मृत्यु अधिकार । लघुकथाकार डा. रवीन्द्र समीरले मृत्युको आयु तोकेको लघुकथासङ्ग्रह छ– मृत्युको आयु । डा. शेखरकुमार श्रेष्ठले पनि मृत्युमा उत्सवको अपेक्षा गरेको कवितासङ्ग्रह छ– मृत्यु उत्सव होस् । प्रसिद्ध गायक फत्तेमानको लोकप्रिय गीतमा पनि मर्न गाह्रो हुन्न भनिएको छ– मर्न बरु गाह्रो हुन्न, तिम्रो माया पाउन सकिनँ... । कति होलान् होलान् अरू पनि गीत, सङ्गीत र साहित्यमा ।   

मृत्यु डरलाग्दो हुन्छ भनिए पनि डराउँदैनन् कोही पनि । हुने कुरामा मात्र विकल्प खोजिन्छ । नभएको खोजी गरेर के गर्नु ? मृत्युसँग डराएर भाग्ने ठाउँ भए पो ? डराउनु भनेको बाँचिरहँदा पनि मरिरहनु नै हो । 

अनुभव गर्ने कुरा होइन मृत्यु । मरेपछि जोसुकै राजा भन्ने उखान त्यत्तिकै बनेको होइन । आजसम्म मरेपछि के हुन्छ भन्ने कसैलाई थाहा छैन । त्यही पनि पुनर्जन्मका कुरा गर्नेहरू पनि त्यत्तिकै छन् । नगर्नेहरू पनि त्यत्तिकै छन् । विश्वास गर्नेहरू अर्को जन्म सुधार्नु पर्छ भनेर व्यवहार गर्नेहरू पनि छन् । जीवन बाँचुन्जेल मात्र हो, त्यसैले सकेसम्म रमाउनु पर्छ भन्नेहरू झन् बढेका छन् । 

हो पनि जस्तो लाग्छ । मरेकाले आजसम्म अनुभव सुनाएको कहीँकतै खबर छैन । हुन्छ भने पनि आपँैm । हुँदैन भने पनि आपैmँ । जे हुन्छ त्यो अनुभव आपैmँसँग हुन्छ । पुराणहरूमा लेखिए जस्तो, पण्डितहरूले व्याख्या गरे जस्तो न स्वर्ग होला न नर्क नै । मात्र भन्ने शैलीले स्वर्गमा सुखको र नर्कमा दुःखको परिकल्पना गरिएको छ । यो मात्र पुराणहरूको परिकल्पना र पण्डितहरूको बाँच्ने कला हो । 

यदि हुन्छ भनिएको स्वर्ग, नर्कको देश र सीमा हुन्छ कि हुँदैन होला ? अन्यथा पृथ्वीमा फरक धर्म, फरक देश, फरक भाषा, फरक जीवनशैली, फरक संस्कृतिका मानिस छन् । कसरी सम्भव होला मिलेर बस्नलार्ई स्वर्गमा भए पनि र नर्कमा भए पनि । सिङ्गो पृथ्वीकै मृतक हुने भएपछि ठाउँ पनि निकै ठुलै हुनुपर्ला । के पृथ्वीभन्दा ठुलो हुन्छ स्वर्ग वा नर्क ?

रमाउने र डराउने कुराको सन्तुलन बनेको छ स्वर्ग र नर्क । यदि स्वर्ग सुख र नर्क दुःख हो भने यो अनुभव त जीवनकालमा नै भोगिरहेका छन् नि । सामान्य मान्छे मेहनत गरेर सफल हुनु, सम्पन्न हुनु र सुखी हुनु भनेकै स्वर्गानुभव होइन र ? खोज्न कुनै अर्को ग्रहमा जानै पर्दैन । पदले, सम्पत्तिले, सुविधामा सुखले बाँचेकाहरू लोकमा अनुहार देखाउन नसक्ने गरी आत्महत्या गर्नुभन्दा अर्को ठुलो नर्क के हुन सक्छ ? सम्मान र सलामी पाइरहेकाहरूबाटै हतकडी लगाउनुपर्ने स्थिति हुनुुभन्दा ठुलो नर्कानुभव अर्को के हुन सक्छ र ? 

त्यसैले भनिएको हो मृत्युको अनुभव हुन्न भनेर । जन्मको प्रमाण सरकारले गरिदिन सक्छ तर गर्न सक्दैन प्रमाणित । प्रमाणित गर्ने मृत्युकै मात्र हो । मृत्यु देख्ने भनेको अरूको मात्र हो ।

 मैले नजिकबाट देखेको मृत्यु मेरा बाआमाकैैै हो । मृत्युपूर्वका अनुहार र तानिरहेको सास । मृत्युपछिका अनुहार र रोकिएको सास । आर्यघाट मात्र होइन । ब्रह्मनालमा सुताएर बागमतीको पानी मुखमा राख्दाका अनुहार । चितामा सुताएर मुखमा आगो लगाउँदाका अनुहार । आगोको लप्काले शरीरका अङ्ग अङ्गलाई भष्म पार्दै माथिमाथि उड्दै गएका धुवाँ । शरीरको केही पनि बाँकी नभएपछि चिता पखाल्दा पुतपुताएका पानीका ससाना फोका र त्यहाँबाट उडेका बाफलाई पनि नजिकबाट देखेको छु । 

बाआमाका नहुनुभएपछि अभाव मात्र होइन महाअभावको अनुभव गरिरहेको छु । कुनै पनि कुराको शुभ समाचार सुन्नासाथ बाआमालार्र्र्ई ढोग्थेँ अनि समाचार सुनाउँथे । बाले सधैँ सगुन स्वरूप अण्डा पकाउन भन्नुहुन्थ्यो । त्यतिबेलासम्म आमाले ल्याइसक्नुहुन्थ्यो । पुरस्कार, सम्मान पाएर घर जानासाथ बाआमालार्ई पहिला ढोग गर्थें । घाँटीमा माला, हातमा प्रमाणपत्र लिएर ढोग्न जाँदा बाआमाको अनुहार पूर्णेको चन्द्रजस्तै उज्यालो हुन्थ्यो । दुवै जनाले टाउकोमा हात राखेर आशिर्वाद दिनुहुन्थ्यो । अब कसलार्ई ढोग्ने होला नफुकाल्दै घाँटीका मालाहरू ? अब उल्टै ढोग्नेहरू छन् ललिता, श्रेया र श्रीजल । 

अनेक संयोग बनेका छन् बाआमाका । दुवैले हामीलाई छोड्नुभएको चौध महिनाको फरक भए पनि एउटै महिना थियो । दागबत्तीको समय एउटै र चिता पनि एउटै परेको थियो । अन्तिम सास छोड्नुभएको घर एउटै । कोठा एउटै । खाट एउटै । झ्यालबाट नजिकै देखिने सुन्तलाको बोट पनि एउटै थियोे । पात छोएर आउने हावा पनि उस्तै । त्यही रुखमा बसेर चराहरू चिरबिराउने उस्तै । केही वर्षसम्म एउटै फल नलागेपछि काटिदिन खोजेको थिएँ तर काटिनँ । तर बाआमा नहुनुभएपछि त्यही रुखमा फल्नसम्म फल्यो सुन्तला । अर्थपूर्ण लाग्छ सुन्तलाको बोट र फलेका सुन्तलाहरू पनि । कुनै सङ्केत पो थियो कि हामीले बुझ्न नसकेको । 

सधैँ अरूको मृत्युले सिकाउँछ भन्ने लाग्छ । भावुक बनाउँछ । के रहेछ र जिन्दगी भन्ने लाग्छ । फेरि आफ्नो दैनिकीमा लाग्नासाथ मरेको मान्छे र मर्नुपर्छ भन्ने पनि बिर्सन्छौँ । हुन त बिर्सनु पनि पर्छ । नत्र कसरी चल्छ जिन्दगी ? घडीले समय बढाउँदै लगेजस्तै जीवनलाई अगाडि बढाउन मृत्युलाई बिर्सनै पर्छ । सन्देश पनि हो यो मृत्युको ।

के मृत्यु स्वाभाविक वा अस्वाभाविक हुन्छ ? कस्तो मृत्यु स्वाभाविक र कस्तो हुँदा अस्वाभाविक होला ? जन्मँदैै वा सय वर्षमा भए पनि मृत्यु स्वाभाविक नै होला । भावीको लेखा भन्छन् । छैँटीमा लेखिएका भन्छन् । त्यसैले जसरी मृत्यु भए पनि स्वाभाविक नै होइन र ? पानीमा डुबेर होस् या पैह्रोमा पुरिएर । भूकम्पमा थिचिएर होस् वा आगोमा डढेर । दुर्घटनाले होस् वा जुनसुकै उमेरमा होस् वा आफैँले मारे पनि हुन्छ स्वाभाविक नै । चित्त बुझाउनै पर्छ आखिर । लेखेकै यस्तै रहेछ के गर्नु भनेर ? आखिर चित्त बुझाउनु नै त हो जीवन भनेको । 

के मृत्यु भनेको मर्नु मात्रै हो त ? कसैको सुन्दर सपना भत्कनु सपनाको मृत्यु होइन ? सम्भावनामा रमाएकाहरूका लागि असम्भव हुनु सम्भावनाको मृत्यु होइन ? आशा गरेको कुरामा निराश हुनु आशाको मृत्यु होइन ? विश्वास गरेकाहरूले घात गर्नु के विश्वासको मृत्यु होइन ?

सधैँ साथ हुने भएकाले मृत्यु भनेको छाया जस्तै हो । अँध्यारोमा नदेखिए पनि उज्यालो पर्नासाथ देखिए जस्तै । त्यही पनि डराउँछौँ किन ? त्यही भएर मृत्युले थाहा दिँदैन भनिन्छ । मृत्युपूर्व एकैछिन भए पनि बेहोस भएकै हुन्छ रे मान्छे । अर्थात् मृत्यु होसमा होइन बेहोसमा हुन्छ । जानेर मृत्यु हुनेहरूको हकमा यो कुरा लागु नहुन सक्छ । अहिले युरोपका कतिपय देशमा आफ्नो मृत्युका लागि आफैँ हस्ताक्षर गर्न पाइन्छ अथवा निकट व्यक्तिले हस्ताक्षर गरेर मर्न पाइन्छ । मृत्यु पनि अधिकारको कुरा बनेको छ अहिले । 

आत्महत्या स्वमृत्यु भए पनि त्यो अर्कै कुरा हो । लेखेर, बोलेर, अरूलाई जानकारी गराएर मृत्यु हुनु भनेको नभने पनि एक प्रकारको अधिकार नै हो । नत्र किन नेपालमा दिनको नौ जनाको दरले यो अधिकार प्रयोग गरिरहन्थे । कारण जे भए पनि यो कायरता नै हो । पागलपन नै हो । आफैँसँग हार्नेहरू नै हो ।

देश र समाजका लागि सहिद हुनेहरूको कुरा अर्कै हो । अनौठो छ योगमायामाको सन्दर्भ पनि । आजभन्दा अठासी वर्षअघिको कुरा हो । समाज परिवर्तनका लागि जलसमाधि लिएका थिए उनी सहित ६८ जनाले । अरूण नदीमा हामफालेर । अचम्म लाग्छ । आपूm त मर्नका लागि कति गरेर तयार भएका होलान् ? त्यति धेरै जनालाई कसरी विश्वस्त बनाउन सकेको होला ? मर्ने जस्तो कुरोमा पनि नेतृत्वप्रति विश्वास गरेर समूह बन्ने । यति ठुलो सङ्ख्यामा समाजका लागि एकै पटक आत्महत्या गर्नेहरू विश्वकै पहिलो घटना हुन सक्छ । कस्तो शक्ति ? कस्तो प्रभाव ? कस्तो विश्वास ? कस्तो प्रतिबद्धता ? कस्तो समर्पण ? अचम्म लाग्छ सुन्दा मात्र पनि । 

हुन त कुरा हामीकहाँको मात्र होइन । अमेरिकाको क्यालिफोर्नियामा पनि त्यस्तै विश्वासले सामूहिक आत्महत्या भएको रहेछ । सन् १९९७ मा लामपुच्छ«े तारा पृथ्वीबाट सबैभन्दा नजिक देखिएको थियो । यसैलाई स्वर्ग जाने सबैभन्दा नजिकको अवसर ठानेर ३९ जनाले आत्महत्या गरेका थिए । अचम्म छ, अमेरिका जस्तो देशमा पनि स्वर्गप्रतिको यत्रो विश्वास । 

आखिर मृत्यु त अनिवार्य हुँदै हो, हुने मात्र ढिलोचाँडो हो । खाली आकस्मिक किन भन्ने मात्र हो । चाहे पनि नचाहे पनि रोक्न कसैले सक्ने हुँदै होइन । त्यसैले जान्नेहरू भन्छन् मृत्युलाई सजिलो बनाउनु पर्छ । मृत्युलाई गाह्रो बनायो भने जीवन पनि गाह्रो नै हुन्छ । जीवन बाँच्ने एउटा कला भए जस्तै मृत्यु पनि एक प्रकारको कला नै हो, होइन र ?

सबै अध्ययन, अनुसन्धान र अनुभवले पनि मृत्युलाई अनुभव गर्न नसकिने प्रमाणित गरेको छ । तर चपुरका साहित्यकार हरिकृष्ण काफ्लेले भने मृत्युको अनुभव गर्न सकेका छन् । उनी प्रसिद्ध मुक्तककार र कवि हुन् । उनले मधुपर्कको २०६६ मङ्सिर अङ्कमा लेखेका छन्– मृत्युपछिको मेरो जीवित अनुभव । उनले मानिस मरेपछि पुगिने ठाउँको अनुभव लेखेका छन् । घटना २०६४ असार १८ देखि ३२ सम्मको हो । त्यस अवधिमा उनी काठमाडौँको अत्तरखेलस्थित मेडिकल कलेज आइसियूमा राखिएका थिए । उनी होस् र बेहोसमा मृत्यु र जीवनसँग लडिरहेका थिए । डक्टरहरूले उनको मल्टी अर्गान फेल भएकाले बाँच्ने आशा नभएको बताएका थिए । 

उनले लेखेका छन्– “त्यही समयमा म आफ्नो शरीरबाट बाहिर निस्किएँ । शरीरभन्दा बाहिर रहेर मैले देखेँ कि विशाद र अन्योलका डक्टरहरूका झुन्ड मेरो शरीरवरिपरि झुम्मिरहेका थिए । शरीरबाट निस्किएपछि म विस्तारै अस्पतालको छत छिचोलेर मास्तिर चढ्न थालेँ । मसँग शरीर थिएन तर अनुभव गर्ने क्षमता थियो ।”

उनको स्वास्थ्य स्थितिको जानकारी भएपछि अन्तिम पटक हेर्न आउनेहरूको ठुलै भीड लागेछ अस्पतालमा । त्यहीबेला उनी नयाँ धरातलमा पुगेर अगाडि बढ्ने व्रmम रोकिएछ । त्यहाँ उनी जस्तै आएका अरूहरू त्यही धरातलमा प्रवेश गर्दै विलिन भइरहेका थिए । तर उनलाई भने एउटा ठुलो आकृतिले भित्र जान दिएन छ । जबर्जस्ती प्रवेश गर्न खोज्दा धकेलेर तल पु¥याइदिएछ । उनी तल पुग्नासाथ उनको शरीर वरिपरि डक्टरहरू झुमिन्थे । उनी जान खोज्ने तर त्यही आकृतिले धकलेर तल पु-याइदिने व्रmम धेरै पटक नै चलेछ । त्यहीबेला यता शरीर चलमलाएर स्लाइनका नली चुडालिदिने, मुखमा लगाएको अक्सिजनको माक्स फालिदिने र ओछ्यानमा लडीबुडी गर्ने गर्दा रहेछन् । डक्टरहरू आजित भएपछि उनलाई हलचल गर्न नसकिने गरी हात खुट्टा बाँधिदिए छन् ।

डक्टरहरूले ९९.९ प्रतिशत बाँच्ने आशा नभएको भनेपछि पशुपतिको आर्यघाट लैजाने तयारी गरिएछ । त्यहीबेला निधन भइसकेका उनका बालसखा आएर पहिलेकै ठाउँमा लगेर प्रवेश गराउन खोजेछन् । पहिलेकै आकृतिले रिसाएर भुइँमा पछारिदिँदा ‘ल बिरामीको होस आयो’ भन्ने आवाज उनले सुनेका रहेछन् ।

अचम्मकै घटना हो यो । उनले अहिले पनि त्यस घटना बिर्सन सकेका छैनन् । यसले जगत् मिथ्या मात्रै होइन मृत्युलाई पनि मिथ्या बनाइदिएको छ । यो कस्तो सत्य हो । विश्वास गर्ने कि नगर्ने ? यसलाई विज्ञानले कसरी प्रमाणित गर्न सक्ला ? यो घटनालार्ई देख्ने, भोग्ने, सुन्ने र पढ्नेले कसरी लिएका होलान् ? 

मृत्यु पूर्ण हो भन्दाभन्दै पनि अपूर्ण जस्तो लाग्छ । अपूर्ण हो भन्दा पनि फेरि पूर्ण जस्तै लाग्छ । सँगै भएर पनि नचिनेको जस्तो । नजिक भएर पनि टाढाको भए जस्तो । आपैmँसँग भएर पनि अनुभूति गर्न नसकेको जस्तो । 

आखिरमा जसले जेजे भने पनि मृत्यु भनेको मात्र मृत्यु नै हो । डेथ क्याफेहरू जति नै खुल्दै गए पनि, जति नै चिन्तन र मनन हुँदै गए पनि मृत्युलाई मृत्युको रूपमा स्विकार्नुको विकल्प हिजो थिएन, आज छैन र भोलि पनि हुने छैन । मृत्यु भनेको मृत्यु मात्रै हो । मृत्युको अर्थ पनि मृत्यु मात्रै हो ।