• १३ पुस २०८१, शनिबार

जीवनको पाश्र्वमा मृत्युु भय !

blog

हत्केलामा च्यापेर

एक मुठी सपना 

उभिएको छु– मृत्युको अघिल्तिर !

कवि मणि लोहनी 

हातमा च्यापेको छु– कविताको पुस्तक । कविताले हल्लाएको छ मेरो मन–मस्तिष्क ! पुस्तकको आवरणमै ठुल्ठुला अक्षरमा लेखिएको छ– मृत्युको अघिल्तिर ! यही शीर्षक नै काफी हुन्छ  मलाई । समकालीन कवि मणि लोहनीको मृत्युचिन्तनले रिङ्गिएको छु म । मस्तिष्कका तरङ्गमा छप्लङ–छप्लङ पौडिरहेछन्– मृत्युका त्रासदीहरू ।

मानिसलाई खतरनाक भय मृत्युको हुनेरहेछ । पृथ्वीको हरेक जीव मृत्युको भयसँग पलपल त्राही–त्राही छन् ।

हामी विज्ञानको युगमा छौँ । वैज्ञानिकहरू पृथ्वीलाई आफ्नो बसमा ल्याउने प्रयत्नमा छन् । पृथ्वीका हरेक आश्चर्यमा वैज्ञानिकहरूको अनुसन्धान गरिरहेका छन् । यद्यपि स्वयं वैज्ञानिकहरू पनि मृत्युलाई चुपचाप स्विकारिरहेका छन ।

–विज्ञानलाई पनि मृत्युको भय छ । मृत्युको भयबाट विश्व कम्पायमान छ । प्राणी जगत्मा सबैभन्दा खतरनाक ‘भय’ भनेकै मृत्यु–भय हो ।

पृथ्वीको हरेक जीवले मृत्यु स्वीकार्न बाध्य छन् । जीवन छ र त– मृत्युको अस्तित्व छ । मृत्यु छ र त– जीवनमा विशिष्ट आलोक छ ।

–जीवनको अस्तित्व नभए कसरी हुन्छ– मृत्युको अस्तित्व ? जीवन र मृत्युबिचको महìवपूर्ण पल नै जीवन हो । तदर्थ जीवनमा मृत्युुले सधैँ तेलकासा खेलिरहन्छ । कुनो कुइनेटोमा जीवनलाई मृत्युले दपेटिरहन्छ । हामीले हरेक पाइलामा मृत्यु छलिरहनु पर्छ । जीवनमा मृत्यु सधैँ अतिथि बनेर बसिरहन्छ । कैले अमोघ–अस्त्र बनेर सोझिइरहन्छ । ढिलोचाँडो मृत्युको अमोघ–अस्त्रले हामीलाई कतिखेर चुकाउँछ, थाहा हुन्न । 

जब जीवनले मृत्युको लडाइँमा पराजय भोग्नु पर्छ अनि जीवनको ज्वाज्वाल्यमान आलोकबाट हामीले अनिच्छित छुट्टिनु पर्छ । जिजीविषाको अगणितलिप्साबाट शीताङ्ग हुँदै मृत्युवरणको यात्रामा सामेल हुन बाध्य हुनु पर्छ । त्योभन्दा ठुलो अन्याय के हुन्छ मानवको जीवनमा ?

संसारमा मानव नै हो, सबैभन्दा बढी जीवनको भिख  माग्ने ! उसकोले जत्ति नै बाँचे पनि उसको आयु अल्पायु नै साबित हुन्छ ! यो घोर आश्चर्यको विषय हो । जीवनसँग किन यति धेरै लोभी छ मानव चेतना ?

–तपाईं आफैँ कल्पना गर्नुहोस् त– के हामी अजम्बरी हौँ त ? अहँ, हुँदै हैन । हामी त पृथ्वीका क्षणभङ्गुर मात्रै हौँ । हामीले जत्तिसुकै तेरो–मेरो भनौँ । जत्तिसुकै लोभलालच गरौँ । आखिरीमा हामीले केही लाने होइन ।

म त हरेक जीवनका अनुहारहरूमा, मनहरूमा, बिचारहरूमा, चाहानाहरूमा, सौन्दर्यहरूमा मृत्युको अत्यास लाग्दो ग्रहण मात्रै देखिरहेछु ।

हामी हरेक क्षण मृत्युको निसाना छलेर हिँड्नु पर्छ । हिँड्दा–हिँड्दै होस् । बस्दा बस्दैहोस्, खाँदा–खाँदैहोस् या जीवनका अनेकन पलहरूमा मृत्युसँग जुधिरहनु पर्छ ।

हामीले रोगसँग जोगिनु छ । आगोसँग जोगिनु छ । पानीसँग जोगिनु छ । हावासँग जोगिनु छ, सत्रुसँग जोगिनु छ । 

–चट्याङसँग, हुरीसँग, भूकम्पसँग, कोरोनासँग, प्लेगसँग, मलेरियासँग, बिजुलीसँग, सवारीसँग...!  के–केसँग जोगिनु छ के–केसँग ? 

–मृत्युका कदम कदम छलिरहेका छौँ र जीवन चलाइरहेका छौँ ।

–मृत्युको शाश्वत–सत्यसँग हामी हायलकायल छौँ ।

म सधैँ मृत्युको भयबाट सापेक्ष छु । म जीवनलाई मृत्युको शृङ्कलाबाट निरपेक्ष राख्न सक्दिनँ ।

म कोठामा पल्टिरहँदा म सुनिरहेको हुन्छु– गीत । मेरो पुरानो जापनिज पानासोनिक रेडियोले मृत्यु चिन्तन गराइरहेछ यतिबेला– 

–रेडियोमा एउटा मीठो गीत बजिरहेको छ तर गीतले मेरो जीवनका लयहरूमाथि धावा बोलिरहेछ । यो निरन्तर–निरन्तर घन्किरहेको हुन्छ । गीतसँगै मेरा  अहङ्कारहरूमाथि झट्टी हानिरहेको हुन्छ ।

–मर्ने कसैलाई रहर हुँदैन 

मान्छे नमरेको सहर हुँदैन 

भागेर जाउँ कुन ठाउँ जाऊँ...?

रेडियोको सुमधुर आवाजले मृत्युको ‘भय’ देखाउँछ । म जीवनलाई सतर्क गराउँछु । एउटा दर्बिलो अठोट गर्छु । यो मरिजाने चोलामा कसैलाई नराम्रो गर्न नपरोस् । कसैलाई नराम्रो भन्न नपरोस् । आफूले सधैँ राम्रो गर्न सकूँ । नसके कसैलाई कहिल्यै नराम्रो नगरूँ । कसैको मन नदुखाऊँ, कसैको चित्त नफुटाऊँ । हरक्षण राम्रो मात्रै सोच्न र गर्न सकूँ ।

म मृत्युुबाट उपर्जित मन अमिलो बनाउन पुग्छु । मृत्युको गहिराइमा डुब्दै, उत्रँदै गर्छु ।

मृत्यु रहर होइन– बाध्यता हो । मृत्यु सपना होइन– प्रकृतिको संस्कार हो । यो त केवल अनिश्चित स्वीकार गर्नुपर्ने– जबर्जस्त सत्य हो । मलाई यो मानिसका अहम् नियन्त्रण गर्ने प्रकृतिको अलौकिक विधि हो भन्ने पनि लाग्छ ।

मृत्यु कण–कणमा छ, मन–मनमा छ, पल–पलमा छ, क्षण–क्षणमा छ । मृत्युका अप्रिय चुम्बनले नडामेको जीव कुनै छैन । मृत्युको लयले नछोएको कुनै ठाउँ छैन । मृत्युको भयले नगाँजेको कुनै गाउँ छैन ।

–म निःशब्द छु–मृत्युुसँग । घरको अग्लो पर्खाल लगाएँ भने वा मूलढोकामा गजवार लगाएँ भने चोरलाई रोक्न सकुँला तर मृत्युुलाई कुन पर्खालले रोकूँ ? कुन गजवारले छेकूँ ?  म प्रश्न निरूपण गर्न सकिरहेको छैन ।

–मृत्युलाई दुनियाँको कुनै शक्तिले रोक्न र छेक्न सक्दैन । रोकेर रोक्न नसकिने, छेकेर छेक्न नसकिने अजेय शक्ति हो– मृत्यु !

मृत्युले उँचनिच मान्दैन । होचो–अर्घेलो जान्दैन ।

यतिबेला म कविशिरोमणि लेखनाथ पौडेलको ‘काल महिमा’ कविता सम्झिरहेछु ।

“राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो 

आयो, टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो

लाखौँ औषधी, अस्त्र–शस्त्र महिमा देखेर डर्दैन त्यो 

व्याधा–तुल्य लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो”

मृत्यु प्रकृति हो । मृत्यु जीवनको एक नमिठो लय हो । मृत्यु जीवनको एक अप्रिय धुन हो । जो हामीले चुपचाप स्विकार्नुको विकल्प हुन्न ।

जीवनका सबै सौन्दर्यहरू अमूर्त छन् । बाँच्ने उमेर– अमूर्त छ । जीवनको गन्तव्य– अमूर्त छ ।  जीवनको शैली र स्वभाव अमूर्त छ । रोग, भोक, शोक सबै अमूर्त छन् । जीवनका अनेकौँ लयहरू जो भोग्नेलाई थाहा नहुनु कस्तो अचम्म ! यो कस्तो जीवन हो ? जो आफैँले थाहा नपाउँदै इहलिला समाप्त गर्नु पर्छ  !

म जन्मिनुमा गर्व गर्छु । म यो प्रकृतिको अनुकूलतामा जन्मिएँ या प्रतिकूलतामा जन्मिएँ ? त्यो त थाहा छैन । यद्यपि प्रकृति स्वयं मेरो पक्षमा छ भन्ने लाग्छ । प्रकृति विपक्षमा रहे कुनै पनि जीव पलभर पनि बाँच्न सक्दैन । 

मलाई पटक्कै लाग्दैन पृथ्वीले मलाई तिरस्कार गर्छ । यो विशाल पृथ्वीले मलाई  तिरस्कार होइन, सदैव सत्कार गर्छ । पृथ्वी स्वयं पनि मृत्युको भयले हजारौँ वर्षदेखि  गुज्रिरहेको छ । पृथ्वीको पनि आयु छ । जव पृथ्वीको समय समाप्त हुन्छ । पृथ्वी पनि पृथ्वी रहन्न । समयको भयसँग पृथ्वी पनि हायलकायल छ ।

–लाग्छ, हामी पृथ्वीका सम्पूर्ण जीवहरू समयका निर्बलिया थोपा हौँ । समयको निश्चित पावन्दी सकिएपछि हामी पनि बलेँसीमा झरेका पानीका थोपाझैँ प्याट्ट फुट्नु पर्छ । थोत्रो चप्पलका फिर्ताझैँ च्याट्ट चुछट्टिनु पर्छ ।

–मृत्युुसँग हामी पार्थक्य रहन सक्दैनौँ । मृत्युुबाट लखेटिएर जतिसुकै दगुरौँ । जतिसुकै भागौँ । हामी मृत्युको लखेटाइबाट उम्कन वा छलिन सक्दैनौँ । मृत्युसँग हामी लुकौँ कि भागौँ, झनझन मृत्युको सम्मुख उभिरहेका हुन्छौँ । न मृत्यु हामीभन्दा टाढा छ । न हामी नै मृत्युको रामराज्यबाट टाढा जान सक्छौँ ।

यो पृथ्वीको कुनै सुदूर गर्त त्यस्तो छैन जहाँ मृत्युको भयबाट प्राणीहरू मुक्त रहन सकून् । 

भ्रष्ट मानिसका पापी नङ्ग्राले चिथोरेर थुपारेको सम्पत्तिले मृत्युुको मुख थुन्छ या थुन्दैन होला ? म आफ्नै भित्री मनलाई प्रश्न गर्छु । –भ्रष्टहरूले मर्नु पर्छ कि पर्दैन होला ?

–मृत्यु त्यस्तो शक्ति हो जसले जीवनलाई पाइला–पाइलामा तर्साइरहन्छ । पल–पलमा थर्काइरहन्छ । हामी केवल यो क्षणभङ्गु, जीवनको एउटा विशिष्ट पलमा मृत्युुकै पाश्र्वमा बसेर जीवनको गीत गुनगुनाइरहेका हुन्छौँ । जीवन एक धर्को हाँस्न नपाउनेहरू हुन् कि जीवनभर रोगले गिजोलिरहेकाहरू हुन्– जीवनको याचनामै रहेको देख्छु । 

जीवनमा अनुभूत गरेका अथाह खुसी हुन् या जीवनका कहालीलाग्दा रात यी सबै मृत्युको अघिल्तिर अनुभूति गर्ने वर्जनीय स्मृति मात्रै हुन् ।

जीवनका खुसी हुन् कि दुःख ! हामीले छाडेर जाने भनेको यहीँ हो । मृत्युको पोल्टामा जाँदा जसरी हामी नाङ्गै आएका थियौँ । त्यसै गरी नाङ्गै जाने हो । 

मृत्युु– कति भयानक हुन्छ ।

मृत्यु– कति त्रासद् हुन्छ ।

मृत्यु– कति पीडादायी हुन्छ ।

मृत्यु एउटा सिलसिलाबाट मुक्ति हो । यो नाश्वर शरीरबाट जब जीवनको गीत गाइरहने चरा उडेर जाने निभृत अवस्था हो ।

–भनिन्छ छ नि, “कात्रोमा खल्ती हुन्न ।” रित्तो जानुपर्ने भएपछि किन चाहियो कात्रोमा खल्ती ? किन चाहियो अथाह धन–दौलत ? 

जे–जे चाहिने हो हाम्रा इन्द्रियहरूले अनुभूति  गरिन्जेल मात्रै हुन् । यो देब्रे छातीको पर्याङमुनि उफ्रिरहने सानो अङ्ग चलुन्जेल मात्रै हो ।

यो पृथ्वीभन्दा पर र मृत्युभन्दामाथि के छ ? म अहिले एकिन गर्न समर्थ छु ।  

कैले–काहीँ चिन्तन गर्छु– जीवन अन्ततः धुवाँको धागो सिवाय केही होइन रहेछ । मनमा एक प्रकारको मृत्यु–झङ्कार आइरहन्छ । यदि पलपलमा मृत्युुको शास्वत–सत्य नहुने थियोे त– हामी अन्य प्राणीभन्दा पृथक् हुनेथिएनौँ । मृत्युले सजग नगराएको भय आज विश्वका कैयौँ मानिस महामानवहरूलाई हामीले पढ्न पाउने थिएनौँ । बुझ्न पाउने थिएनौँ । मृत्युले मानिसलाई गतिशील बनाएको छ । चलायमान बनाएको छ । मृत्यु–जीवनलाई सधैँ झकझक्याइरहने  अदृश्य शक्ति हो ।

–मानिसहरूलाई जत्तिको जीवनको मोह संसारका अरू कुनै जीवलाई हुँदैन । स्वर्ग र नर्कको कुरा छाडौँ । मानिसलाई नर्कानुभूति नै भए पनि पृथ्वी जत्तिको मोह कुनै ठाउँ छैन । पृथ्वीको पवित्रता, सुन्दरता र यो पावनभूमि अन्त कहाँ होला र ? हाम्रो पूर्वीय दर्शनशास्त्रले भनेजस्तो स्वर्ग वा नर्कको जति नै वर्णन गरे पनि यो जीवनका लागि पृथ्वीको सौन्दर्य प्रीतिकर नै छ । म स्वयं पृथ्वीको बाहेक अन्य कुनै जगतको जीवनप्रति मोह राख्दिनँ । जे छ यहीँ छ । जे हुन्छ यहीँ हुन्छ ।

यी नीलो आकाश, हरिया जङ्गल, ताल–तलैया, सधैँ चिर्बिराउने चरा–चुरुङ्गी, हिमालयका मनमोहक दृश्य, कल–कलाइरहेका खोला–नाला, झरी–बादल, नागबेली पहाडको चित्ताकर्षक मोहकता, समथर फाँटका आयाम, प्रकृतिका इन्द्रेणी रङहरू, परिवर्तन भइरहने ऋतुका चव्रmहरू, घाम र जूनको लुकामारी  सबै सबै पृथ्वीका अनुपम सौन्दर्य हुन् ।

पृथ्वीको मौलिक सुन्दरता आफैँमा अनुपम छ । हामीले खेलेको, हामीले हिँडेको यो स्वर्ग जस्तो पृथ्वीबाट रत्तिभर छुट्टिन खोजिन्न । म कल्पनामा कोव्रmोमा पिङ खेलेर सोच्दैछु– मृत्युबिनाको यो सृष्टि कस्तो हुँदो हो ? 

–साँच्चै  कल्पना गर्नोस् त– ‘मृत्यु भय’ नहुँदो त कस्तो हुँदो हो यो सृष्टिको सौन्दर्य ? 

–कसले गर्दो हो– ईश्वरको कल्पना ?  कसले बनाउँदा हुन् यतिविधि मठ–मन्दिर ? कसले बनाउँदो हुन्– गुम्बा, मस्जिद, चर्च र गिर्जाघरहरू ?

–हामी मानव केवल मानव मात्रै हुने थियौँ । धर्म  हुने थिएन । धर्मगुरुहरू हुने थिएनन् । धर्मका ठुलाठुला ग्रन्थहरू हुने थिएनन् । धार्मिक युद्धहरू हुने थिएनन । धर्मको ढोँगीपन कहीँ कतै बाँकी रहने थिएन ।

मैले यहाँ मृत्युभयको मात्रै विषय उप्काएको हुँ । अब तपाईंहरू विज्ञ पाठक आफैँ आँखा चिम्म गरेर मनलाई अन्तरध्यानमा सम्मोहित गर्नुहोस् र सोच्नुहोस्– मानिस वा पृथ्वीका अन्य जीव–जनावरहरू अजर–अमर हुने हो भने यो पृथ्वीको हालत कस्तो हुन्थ्यो होला ? तपाईंहरू आफ्नै विवेकले कल्पना गर्नुहोस् त ।

हरेक कुरामा गुणदोष हुन्छ । त्यो जायज छ । हामीले सबै कुरालाई यथास्थितिवादी आँखाले मात्रै हेर्न थाल्यौँ भने त्यो हेराइले भ्रान्ती र भ्रम बाहेक केही देख्दैन । 

हरेक दृश्य परिवर्तनशील छन् । गतिशील छन्, चलायमान छन् ।

–कुनै पनि कुराको निश्चित रूप हुँदैन । निश्चित आकार हुँदैन । हामीले हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी हुन्छ । हामीले विषय–वस्तुलाई हेर्ने दुरी र दृष्टिकोणमा बहुआयाम ल्याउन जरुरी छ ।

–त्यसो गरियो भनेँ हरेक वस्तु फरक र परिवर्तनशील देखिन्छ । 

नत्र हामीले देखेको मात्रै अन्तिम रूप र सौन्दर्य होइन । हामीले जानेको मात्रै अन्तिम ज्ञान र विवेक  होइन । हामीले भोगेको मात्रै अन्तिम सत्य र समय होइन । त्यो ज्ञान हामीलाई हमेसा रहनु पर्छ ।

हाम्रो ज्ञानको परिधिलाई सधैँ चलायमान राख्न सकेनौँ भने हामीले यो जीवनमा ज्ञानको होइन, अज्ञानताको पोखरीमा डुबुल्की मारिरहेका हुने छौँ ।

हामीसँग मृत्यु निहित छ । मृत्युकै कारण हामीले ईश्वरको कल्पना गर्न सकेका छौँ । मृत्युबाट बच्न  हामीले यी लीला र नानारङ्ग गरिरहेका हुन्छौँ । 

तीनै जीवनका लीला र रङ्गबाट जन्मिएको हो– ईश्वरको अस्तित्व ! मृत्युको त्रासबाट निर्माण भएको छ– ईश्वरको निरवच्छिन्न सत्ता ।

–मृत्युले जीवनलाई निर्ममतापूर्वक अँठ्याउँछ । जीवनको अन्तिम सत्य हो– मृत्यु ! अहम्हरूको समापन हो– मृत्यु ! जीवनको आकस्मिक र अकल्पनीय गन्तव्य हो– मृत्यु ! 

मृत्यु– प्राणीको निजत्व र अस्तित्वको निर्वाण् ाप्राप्ति पनि हो । 

हामीले हेरिरहेको आकाश, छोइरहेकोे भूगोल । बोलिरहेको आवाज, निरन्तर फेरिरहेको स्वास, अनुभूत गरिरहेको, अनुभूति यी सबैबाट टाढा रहनु हो मृत्यु ! एउटा अनुपम सिलसिलाबाट चुँडिएर फुत्रुक्क कतै अज्ञात गर्तमा झर्नु हो– मृत्यु !

मानिसलाई  जीवनमा जतिसुकै मृत्युुले कठालो समाओस् वा धावा बोलोस् ।

–हुरी–हन्डर खाओस्, 

–वायु–वर्षाले रुझोस्, 

–घाम–घर्षणले पोलोस्, 

–आपत्–विपत्ले जेलोस्, 

–दुःख–दर्दले गालोस्, 

–ताप–तृष्णाले बालोस्, 

–श्राप–सन्निपातले खाओस् । 

मानिस  जीवनको  स्वार्थबाट विचलित हुनुहुँदैन । जीवनको सन्झ्यालबाट प्रगतिको सौन्दर्य चिहाउनु पर्छ । मृत्युको अघोर लयबाट सिर्जनाको गीत गुनगुनाइरहन्न्छु । अधीर मन धीर बनाउँछु ।

मृत्युु– प्रकृतिको निर्मम र व्रmुर यथार्थ हो । यो प्रकृतिको प्रहार चुपचाप सहनुको विकल्प छैन जीवनसँग । जीवनमा जतिसुकै अग्लो पर्खाल लगाए पनि मृत्युले भत्काउँछ एक दिन ।

प्रकृतिको अजेय शक्तिसँग हायल–कायल छ जीवन । म यही जीवनलाई कसरी हराभरा बनाउँन सक्छु– चिन्ता गर्छु । म भागेर मृत्युुसँग– भाग्न सक्दिनँ । लुकेर मृत्युबाट लुक्न सक्दिनँ ।

–जीवनको मौन महा–प्रस्थान ! निर्वाध स्वीकार्य छ । म प्रकृतिको यो विधि भत्काउने सामथ्र्य राख्दिनँ । यद्यपि मृत्युको भुइँकुहिरो उठ्नुअघि म खोजिरहेको हुन्छु– जीवनको अस्तित्व ! म सोचिरहन्छु– जीवनको सौन्दर्य ! गाइरहन्छु–जीवनको गीत !

... र कोरिरहन्छु–जीवनको मूर्त चित्र ! 

तामाकोसी–२ झुले, दोलखा