कोपा इटालिया : युभेन्ट्स फाइनलमा
काठमाडौँ, वैशाद ८ गते । युभेन्ट्स कोपा इटालिया कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्सले फियोरेन्टिनालाई २–० गोलले हरायो ।युभेन्ट्स समग्रमा ३–० को जित निकाल्दै फाइनलमा पुगेको हो । यसअघि पहिलो लेगमा युभेन्ट्स १–० गोलले विजयी भएको थियो । युभेन्ट्सको सहज जितमा फेडरिको बर्नरडेस्ची र डानिलोले गोल गर्नुभयो । पहिलो र दोस्रो हाफमा समान एक एक गोल गरेको युभेन्ट्सले ३२औँ मिनेटमा फेडरिको बर्नरडेस्चीको गोलबाट अग्रता लिएको थियो । त्यसपछि इन्जुरी समयमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई फाइनमा लग्नुभयो । उपाधिको लागि युभेन्ट्सले इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । इन्टर मिलानले एसी मिलानलाई ३–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल मे ११ तारिख हुनेछ । एजेन्सी
एपिएफ महिला गोल्डकपको फाइनलमा
काठमाडौँ, वैशाख ८ गते । विभागीय टोली एपिएफ क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार राति भएको सेमिफाइनल खेलमा एपएिफले अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई ३–२ गोलले हरायो । एपिएफको जितमा सरु लिम्बुले दुई तथा सावित्रा भण्डारीले एक गोल गर्नुभयो । आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक एक गोल फर्काउनुभयो । एपिएफकी सरु लिम्बु प्लेयर अफ दि म्याच हुनुभयो । वनदेवी युवा क्लब (वीवाइसी) को आयोजनमा जारी प्रतियोगितामा वबहीबार दोस्रो सेमिफाइनलमा आयोजक वीवाइसी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । वैशाख १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार र उत्कृष्ट विधाका खेलाडीलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
च्यालेन्ज गल्फमा सन्जय र भुवनको अग्रता
काठमाडौँ, वैशाख ७ गते । सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिातको दोस्रो दिन सन्जय लामा र भुवन कुमार रोक्काले अग्रता लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा बुधबार सन्जयले ६ अन्डर ६२ र भुवनले चार अन्डर ६४ खेल्नुभयो । ३६ होलको समाप्तिसँगै सन्जय र भुवनको कूल आठ अन्डर एक सय २८ स्कोर छ । सन्जयले पहिलो दिन दुई अन्डर ६६ र भुवनले चार अन्डर ६४ खेल्नुभएको थियो । कूल सात अन्डर एक सय २९ स्कोरका साथ सूर्य प्रसाद शर्मा तेस्रो, ६ अन्डर एक सय ३० स्कोरका साथ दीपक मगर चौथो तथा पाँच अन्डर एक सय ३१ को समान स्कोर बनाउन सफल भुवन नगरकोटी र रवि खड्का संयुक्त पाँचौँ स्थानमा हुनुहुन्छ । पहिलो दिन ६ अन्डर खेल्नु भएको रविले दोस्रो दिन एक ओभर ६९ मा चित्त बुझाउनुभयो । यसैगरी एमेच्योरतर्फ सुवास तामाङ शीर्षस्थानमा हुनुहुन्छ । सुवासको कूल तीन अन्डर एक सय ३३ स्कोर छ । एक सय ४२ स्कोर सहित सुरेस तामाङ दोस्रो स्थानमा हुनुहुन्छ । बुधबार ३६ होलको समाप्तिसँगै कूल ११ ओभर एक सय ४७ स्कोरसम्म खेल्ने २६ खेलाडी थप ३६ होलको फाइनल राउन्डमा प्रवेश गरेका छन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले आयोजना गरेको सूर्य नेपाल गल्फ टुर अन्तर्गत बर्षको छैटौँ स्पर्धामा २२ एमेच्योर सहित ५९ गल्फरको सहभागिता रहेको थियो । कूल पाँच लाख ४५ हजार पुरस्कार राशी रहेको चारदिने प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख, उपविजेताले ६५ हजार र तेस्रो हुनेले ४६ हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रोतर्फ फाइनलमा पुग्ने शीर्ष २१ खेलाडीलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने बताईएको छ । एमेच्योर तर्फको विजेताले आकर्षक ट्रफी हात पार्नेछन् ।
राष्ट्रिय बक्सिङ : चन्द्रकला र नाङजा सेमिफाइनलमा
काठमाडौँ, वैशाख ७ गते । नेपाल आर्मी क्लबकी चन्द्रकला थापा र एपिएफकी नाङजा बुढामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । बसन्तपुर डबलीमा जारी प्रतियोगितामा चन्द्रकलाले स्वस्तिका तिरुवा तथा नाङजाले लुम्बिनी प्रदेशकी जानकी थापामगरलाई पराजित गर्नुभयो । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको महिला ५१ केजीमा एपिएफकी सन्जुमाया थिङले कर्णाली प्रदेशकी आरती विक तथा नेपाल प्रहरीकी दिवाना शेर्माले गण्डकी प्रदेशकी अस्मिता थापालाई हराउँदै सेमिफाइनलमा स्थान बनाउनुभयो । महिला ६० केजीमा बाग्मती प्रदेशकी शशिकला राईले गण्डकीकी जोशिका श्रेष्ठ तथा आर्मीकी संगिता डंगोलले कर्णालीकी मनीषा मगरको चुनौती समाप्त पार्दै सेमिफाइनल यात्रा तय गर्नुभएको छ । यसैगरी पुरुष ६३ केजीमा प्रहरीका भूपेन्द्र थापामगरले मधेश प्रदेशका रावन अलीलाई पन्छ्याउदै सेमिफाइनलमा पुग्नुभएको छ । सोही स्पर्धामा एपिएफका सोनाम सार्की पनि सेमिफाइनलमा पुग्नुभएको छ । उहाँले गण्डकीका निश्चल गुरुङमाथि जित निकाल्नुभयो । पुरुष ६९ केजीमा प्रहरीका सनिल शाहीले एपिएफका विक्रम चौधरी तथा सुदूरपश्चिम प्रदेशका भरत चन्दले कर्णालीका प्रशान्त लामालाई पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गर्नुभयो । भूपेन्द्र र सनिल १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुनुहुन्छ । पुरुष ५२ केजीमा आर्मीका प्रेम चौधरीले गण्डकीका आकाश राना र प्रहरीका चन्द्रबहादुर थापाले प्रदेश १ का धर्मेन्द्र राई तथा ५७ केजीमा प्रहरीका शम्भु राजवंशीले प्रदेश १ का भुगोल लिम्बू र आर्मीका इन्द्र सुनारले कर्णालीका पारस शाहीलाई निराश पार्दै सेमिफाइनलमा स्थान बनाउनुभयो । पुरुष ७५ केजीमा आर्मीका दिपेश लामाले बाग्मतीका निश्चल विष्ट र मधेसका कोसिश श्रेष्ठले एपिएफका झलक रोक्का तथा ८१ केजीमा आर्मीका दीपक श्रेष्ठले एपिएफका साजन तामाङलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्नुभयो । पुरुष ९१ केजीमा एपिएफका रविन नेपालले मधेशका विजय राजभण्डारीलाई पाखा लगाउँदै सेमिफाइनलमा पुग्नुभयो । सोही स्पर्धामा गण्डकीका किरन विकले लुम्बिनीका केशर खत्रीवाट वाकओभर पाउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो ।
नवौँ राष्ट्रिय खेलकुदमा ‘एनआरएनए’ छुट्टै टोली
काठमाडौँ, वैशाख ७ गते । गैरआवासीय नेपालीको संस्था (एनआरएनए) ले गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छुट्टै टोलीको रुपमा भाग लिन लागेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एनआरएनएलाई पनि प्रदेश र विभागीय टोली नेपाल आर्मी, एपएिफ र नेपाल पुलिस क्लब जस्तै छुट्टै टोलीको रुपमा सहभागिताको अवसर दिएको हो । छुट्टै टोलीको रुपमा राष्ट्रिय खेलकुदमा सहभागिताको मौका पाउनु विदेशमा बस्दै आएका नेपाली खेलाडीलाई खुशीको कुरा भएको एनआरएनए अन्तर्गत स्पोर्ट्स एकेडेमीका टेक्निकल डाईरेक्टर स्वयम्भूराज डंगोलले जानकारी दिनुभयो । ‘विदेशमा बसेका खेलाडीलाई मौका दिँदा यसले देशको प्रतिष्ठा बढाउँछ । त्यहाँको नयाँ प्रविधिमा अभ्यास गरिरहेका खेलाडीले पछि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि पदक दिलाउन सक्ने सम्भावना बढी छ । यसले अन्तमा नेपाललाई नै फाइदा पुग्ने हो,’ डंगोलले गोरखापत्रसँग भन्नुभयो । राखेपसँगको छलफलसँगै एनआरएनएले यसपटक समूह र व्यक्तिगत विधाका विभिन्न १८ वटा खेलमा सहभागिता जनाउन लागेको पनि डंगोलले बताउनुभयो । एनआरएनएलाई यसअघि नेपालगन्जमा आयोजना भएको आठौँ राष्ट्रिय खेलकुददेखि सहभागिताको मौका दिइएको हो । त्यतिबेला पटकपटक प्रतियोगिता सरेका कारण एनआरएनएका १५ जना खेलाडीले तेक्वान्दो, बक्सिङ, पौडी, कराँते, लनटेनिस र ब्याडमिन्टन खेलमा मात्र भाग लिएका थिए । भाग लिएका सबै खेलाडीले पदक जितेका थिए । डंगोलका अनुसार यसपटक एनआरएनएबाट १८ खेलमा दुई सय १५ जना खेलाडीले सहभागिता जनाउने तयारी गरेका छन् । केही खेलका खेलाडीले नेपालमै बसेर अभ्यास र तयारी गरिरहेका छन् । एनआरएनएले आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बक्सिङ, चेस, क्रिकेट, फुटबल, जुडो, कराते, लनटेनिस, स्फ्ट टेनिस, पौडी, टेबलटेनिस, भलिबल, तेक्वान्दो, बास्केटबल, उसु र रग्बीमा सहभागिता जनाउने तयारी गरिरहेको छ । केही खेल थपघट हुनसक्ने पनि डंगोलले बताउनुभयो ।चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नवौँ राष्ट्रिय खेलकुद आगामी जेठ २२ देखि २८ गतेसम्म गर्ने मिति तय गरेको थियो । सोही अनुसार राखेप अहिले नवौँ राष्ट्रिय खेलकुद आयोजनाको तयारीमा जुटेको छ । राखेपले गण्डकी प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एउटा खेल आयोजना गर्ने गरी तयारी गरेको छ ।नवौँ राष्ट्रिय खेलकुदमा विभिन्न ३८ खेल समावेश गर्ने प्रस्ताव भएको छ । राखेप सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा हालै बसेको सातवटै प्रदेश खेलकुद परिषद्का सदस्य सचिव, विभागीय टोली एपिएफ, आर्मी र पुलिस तथा नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिसँगको छलफलमा ३८ खेल समावेस गरिने प्रस्ताव भएको हो । यसलाई शुक्रबार बस्ने राखेपको बोर्ड बैठकले अन्तिम टुंगो लगाउने छ । राखेपले नवौँ राष्ट्रिय खेलकुदका लागि आइतबार मात्र वैशाख ११ गतेसम्म लोगो, मस्कट, गीत रचना र नारा पेश गर्न सार्वजनिक सूचनामार्फत आव्हान गरेको थियो । प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुद प्रतियोगिता पछिल्लो पटक आठौँ संस्करण २०७५–०७६ मा नेपालगन्ज (हाल लुम्बिनी प्रदेश) मा भएको थियो । एक वर्षअघि २०७७ फागुन २१ देखि २८ सम्म आयोजना हुने तय भएको राष्ट्रिय खेलकुद कोभिड–१९ (कोरोना महामारी) का कारण स्थगित भएको थियो ।
आर्मीलाई मुख्यमन्त्री कबड्डी उपाधि
कैलाली, वैशाख ७ गते । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । धनगढीमा बुधबार भएको फाइनलमा आर्मीले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ४०–१६ ले हरायो । उपाधिसँगै आर्मीले एक लाख ५० रुपियाँ पुरस्कार पायो । उपविजेता एफिएफले ८० हजारमा रुपियाँ प्राप्त गर्यो । सेमिफाइनलमा पुगेका सुदूरपश्चिम र लुम्बीनी प्रदेशले ४०/४० हजार रुपियाँ पुरस्कार पाए । कैलाली जिल्ला कबड्डी सङ्घको आयोजनामा भएको प्रतियोगिताका विजेता टोली र खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बाेहोरा, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहलगायतले पुरस्कार प्रदान गर्नुभयो ।
कोपा इटालिया : मिलान डर्वीमा इन्टरको बाजी
काठमाडौँ, वैशाख ७ गते । इन्टर मिलान कोपा इटालिया कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको मिलान डर्वीमा एसी मिलानलाई ३–० गोलले हराउँदै इन्टर मिलान फाइनलमा पुगेको हो । इन्टरले समग्रमा ३–० गोलकै जित निकाल्यो । यसअघि पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई तथा रोविन गोसेन्सले एक गोल गर्नुभयो । इन्टरले चौथो मिनेटमा मार्टिनेजको गोलबाट अग्रता लिएको थियो । ४०औँ मिनेटमा मार्टिनेजले जोआक्विन कोरेआको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि ८२औँ मिनेटमा रोविन गोसेन्सले गोल गर्दै इन्टरलाई सजिलै जिताउनुभयो । अब फाइनलमा इन्टरले युभेन्ट्स र फियोरेन्टिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल मे ११ तारिख हुनेछ । युभेन्ट्स र फियोरेन्टिनाको दोस्रो लेग आज (बुधबार) राति हुनेछ । पहिलो लेगमा युुभेन्ट्स १–० गोलले विजयी भएको थियो । एजेन्सी
युनाइटेडमाथि लिभरपुलको सानदार जित
काठमाडौँ, वैशाख ७ गते । इङ्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले बलियो प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई ४–० गोलले हरायो । लिभरपुलको फराकिलो जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले एक एक गोल गर्नुभयो । एकपक्षीय खेलमा लिभरपुलले पाँचौँ मिनेटमा गोलको खाता खोलेको थियो । लुइस डियाजले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । २२औँ मिनेटमा मोहम्मद सलाहले साडियो मानेको पासमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाउनुभयो । दोस्रो हाफमा दुई गोल थपेको लिभरपुलका लागि मानेले ६८औँ र सलाहले ८५औँ मिनेटमा गोल गर्नुभएको थियो । यस जितसँगै लिभरपुलले लिग जित्ने सम्भावना बलियो बनाएको छ । जितसँगै शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक पुगेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ७४ अंक सहित दोस्रो स्थानमा छ । हारसँगै ५४ अंक बनाएको युनाइटेड छैटौँ स्थानमा छ । एजेन्सी
आयोजक विवाइसी महिला गोल्डकपको सेमिफाइनलमा
काठमाडौँ, वैशाख ७ गते । आयोजक वनदेवी युवा क्लब (विवाइसी) कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धनगढी रंगशालामा मंगलबार राति भएको खेलमा कालिका स्पोर्ट्स एकेडेमीलाई २–० गोलले हराउँदै विवाइसी अन्तिम चारमा पगेको हो ।विवाइसीको जितमा दुवै गोल चन्द्रा भण्डारीले गर्नुभयो । चन्द्राले चन्द्राले छैटौँ र ८९औँ मिनेटमा गोल गर्नुभएको थियो । उहाँ वमन अफ दि म्याच समेत चुनिनुभयो । सेमिफाइनलमा विवाइसीले नेपाल पुलिस क्लबको सामना गर्नेछ । वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा तीन विभागीय सहित आठ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार र विधागत उत्कृष्ट खेलाडीलाई १० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।