सिटीलाई हराउँदै लिभरपुल फाइनलमा
काठमाडौँ, वैशाख ४ गते । इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा आसिन म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।वेम्बली स्टेडियममा शनिबार राति भएको खेलमा लिभरपुलले सिटीलाई ३–२ गोलले हरायो । लिभरपुलको जितमा साडियो मानेले दुई र इब्राहिमा कोनाटले एक गोल गर्नुभयो । सिटीका ज्याक ग्रेलिस र बर्नाडो सिल्भाले एक एक गोल गर्नुभएको थियो । लिभरपुलले नवौँ मिनेटमा इब्राहिमा कोनाटको गोलबाट सुरुवाती अग्रता लिएको थियो । १७औँ मिनेटमा साडियो मानेले गोल गदै लिभरपुलको अग्रता दोब्बर बनाउनुभयो । ४५औँ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गर्दै पहिलो हाफमा लिभरपुललाई फराकिलो अग्रता दिलाउनुभयो । दोस्रो हाफमा खेलमा फर्किएको सिटीले ४७औँ मिनेटमा पहिलो गोल फर्काएको थियो । ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । त्यसपछि इन्जुरी समयमा बर्नाडो सिल्भाले गोल गरे पनि सिटीले हार टार्न सकेन । सात पटकको च्याम्पियन लिभरपुल सन् २०१२ पछि एफए कप फुटबलको फाइनलमा पुगेको हो । फाइनलमा लिभरपुलले चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल मे १४ तारिख हुनेछ । एजेन्सी
युनाइटेडको जितमा रोनाल्डोको ह्याट्रिक
सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरेसँगै इङ्लिस प्रियिमर लिगमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि कठिन जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा युनाइटेडले नर्विचलाई ३-२ गोलले हरायो ।
प्रशिक्षक संघमा राजेन्द्र
काठमाडौँ, वैशाख ३ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत नेपाल प्रशिक्षक संघको अध्यक्षमा राजेन्द्र तामाङ निर्वाचित हुनुभएको छ । संघको शनिबार चितवनमा सम्पन्न निर्वाचनले राजेन्द्रको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा समीर लिम्बू, सुरेन्द्र तामाङ र हेमबहादुर गुरुङ तथा सदस्यहरुमा अर्जुन चौधरी, मन्जित पुन, सनोज श्रेष्ठ, बिमन श्रेष्ठ, रामचन्द्र थापा, विजय श्रेष्ठ, धनेश्वर प्रजापति, सरोज श्रेष्ठ, विनोद महर्जन, अनिल तामाङ र महिला सदस्यमा भगवती रानामगर निर्वाचित हुनुभएको छ । एन्फाको असार ६ गते हुने नयाँ कार्यसमिति निर्वाचनमा प्रशिक्षक संघबाट एकजनालाई मताधिकार छ । यसैगरी एन्फा निर्वाचनका लागि एन्फामा आवद्ध ४८ जिल्लामध्ये ४५ जिल्ला, ‘ए’ डिभिजन क्लबबाट १४, ‘बी’ बाट ११ र ‘सी’ डिभिजन क्लबलाई नौ, खेलाडी संघ, महिला र रेफ्री संघलाई एकम एक मताधिकार प्रदान गरेको छ । एन्फाले राष्ट्रिय लिगका लागि छनोट भएका मोफसलका चार क्लबलाई पनि यसपटक निर्वाचनमा मताधिकार दिएको छ ।
रुपेन्देही–११ लाई प्रो क्लब उपाधि
काठमाडौँ, वैशाख ३ गते । नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि रुपन्देही–११ ले जितेको छ । सिद्धार्थनगर क्रिकेट रंगशालामा शनिबार भएको खेलमा रुपन्देहीले मलेसिया–११ लाई सात विकेटले हरायो । मलेसियाले दिएको एक सय ४१ रनको विजयी लक्ष्य पछ्याएको रुपन्देहीले १९.३ ओभरमा लक्ष्य पूरा गरेको थियो । रुपन्देहीको जितमा प्रज्वल थापाले सर्वाधिक ७१ रन बनाउनुभयो । सन्दीप रजालीले ४१ र देव खनाल १२ रन बनाउनुभयो । बलिङमा मलेसियाका मुहमद वाफिक, सायद अजिज र शार्विनले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४० रन बनाएको थियो । मलेसियाको लागि नज्रिल रहमानले ३६, जुबईदी जुल्कफ्लेले २६ र सेईद अजिजले २० रन बनाउनुभयो । बलिङमा रुपन्देहीका बसिर अहमदले दुई विकेट लिनुभयो । कृष्ण कार्की, रुपेश कुर्मी, विक्रम भुसाल र विशाल विक्रम केसीले एक एक विकेट लिनुभयो । रुपन्देहीका प्रज्वल थापा ‘प्लेयर अफ दि फाइनल’ हुनुभयो । उपाधिसँगै रुपन्देहीले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पायो । उपविजेता मलेसियाले एक लाख रुपियाँमा चित्त बुझायो । रुपन्देहीका बसिर अहमद सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो ।
नवौँ राष्ट्रिय खेलकुदमा स्याङ्जामा कम्तीमा एक खेल खेलाइने
स्याङ्जा, वैशाख ३ गते । राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइरालाले नवौँ राष्ट्रिय खेलकुदमा स्याङ्जामा कम्तिमा एक खेल खेलाउने बताउनुभयो । प्रथम विवेक खाँण स्मृति सेभेन ए साईड अन्तर क्लब पुरुष फुटबलको समापन तथा पुरस्कार बितरणमा कोइरालाले आफु स्याङ्जा जिल्लामा प्याराग्लाइडिङ बाहेक थप एक खेल खेलाउन छलफलमा रहको बताउनुभयो ।कुनै पनि प्रतियोगिताले खेलकुदको विकासमा टेवा पुग्ने बताउँदै कोइरालाले खेलकुदमा सबैको चासो हुनुपर्ने बताउनुभयो । देशकै पदमा आसिन भएपनि आफु हुर्केको ठाउँमा सहयोग गर्र्न मन लाग्ने बताउदै कोइरालाले डिपीआर बनाएर लिएर आएमा आर्थिक सहयोग जुटाउन पहल गर्ने पनि बताउनुभयो । हेलु लामाचौर युवा क्लबले भिरकोट १ लामाचौरमा आयोजना गरेको सेभेन ए साईड अन्तर क्लब पुरुष फुटबलमा उपाधि रामबाच्छा ब्वाइज वालिङले जितेको हो । फाइनलमा स्मार्ट युथ क्लबलाई १–० गोलले हराएको रामबाच्छाले उपाधि सहित ३० हजार रुपियाँ पुरस्कार पायो । उपविजेतका बनेको स्मार्टले २० हजार रुपियाँमा चित्त बुझायो । चैत २८ गतेबाट शुरु भएको प्रतियोगितामा १८ क्लबको सहिभागिता रहेको थियो । प्रतियोगितामा ‘म्यान अफ दि सिरिज’ अयोजक टिमका इश्वर खाँण, बेष्ट फरवार्ड रामबाच्छाका जनम गुरुङ, बेष्ट किपर रामबाच्टाका रुपेश हमाल, बेष्ट डिफेन्डर स्मार्टका सन्देश क्षेत्री हुनुभयो । विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइरालाले पुरस्कार प्रदान गर्नुभयो ।
नेपालले जिम्बावेसँग क्रिकेट सिरिज खेल्ने
काठमाडौँ, वैशाख ३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावेसँग एक दिवसीय र टी-२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले घरेलु मैदानमा एक दिवसीय र टी-२० सिरिज खेल्न लागेको हो । क्यानले दुवै सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपालले जिम्बावे ए सँग वैशाख १७, १९ र २१ गते एकदिवसीय तथा वैशाख २३, २४ र २६ गते टी-२० सिरिज खेल्नेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा हुने अमेरिका र ओमानसँग त्रिदेशीय सिरिजको तयारीमा लागि जिम्बावे ए सँग सिरिज खेल्न लागेको हो । लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । नेपालले १२ खेलमा ६ जित र ६ वटै हार खेपेको छ । २८ खेलबाट ३६ अंक बनाएको ओमान शीर्षस्थानमा छ । यूएई, स्कटल्याण्ड, नामिबिया र अमेरिका तालिकाको क्रमश दोस्रो, तेस्रो, चौंथो र पाँचौ स्थानमा छन् । दुई अंक बनाएको पीएनजी तालिकाको पुछारमा छ । सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।
एन्फा निर्वाचन : ‘बी’ र ‘सी’ डिभिजनको प्रतिनिधि छनोट
काठमाडौँ, वैशाख ३ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि ‘बी’ र ‘सी’ डिभिजनबाट प्रतिनिधि छनोट भएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार अबेर सम्पन्न निर्वाचनमार्फत ‘बी’ डिभिजनबाट ११ र ‘सी’डिभिजनबाट ९ क्लबले निर्वाचनका लागि मताधिकार प्राप्त गरेका हुन् । प्रतिनिधि छनोटको निर्वाचनमा ‘बी’ डिभिजनका १४ क्लब सहभागी थिए । जसमा चर्च ब्वाइज युनाइटेड, खुमलटार युथ क्लब, रानी पोखरी कर्नर टिम (आरसिटी), सरस्वती युथ क्लब, श्री भगवती, मध्यपुर युथ क्लब, टुसाल युथ, नयाँबस्ती, बाँसबारी, श्री कुमारी र ब्वाईज युनियनले मताधिकार पाए । सामाजिक युथ, झम्सिखेल र वीरगञ्ज युनाइटेडले मताधिकार प्राप्त गर्न सकेनन् ।यसैगरी ‘सी’ डिभिजनबाट मनोहरा एकिकृत युवा क्लब, पुल्चोक स्पोर्ट्स, समाज कल्याण, खालीबारी युथ, प्लानिङ ब्वाइज युनाइटेड, स्वयम्भु, आरसी ३२ फुटबल एकेडेमी, महावीर स्टडिज एन्ड एसोसिएसन र वीरगंज युथ एकेडेमीले मताधिकार पाएका छन् । ‘सी’ का १४ क्लबमध्ये झापा फुटबल क्लब, ओसिस क्लब, सानेपा फुटबल क्लब, रानीबन र साँगा फुटबल क्लबले मताधिकार पाएनन् । एन्फाको चुनाव आगामी असार ६ गतेका लागि तय भएको छ ।
इन्टरको उपाधि होड कायम
काठमाडौँ, वैशाख ३ गते । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले उपाधि होड कायम राखेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले स्पेजियालाई उसैको मैदानमा ३–१ गोलले हरायो । इन्टरको जितमा मार्सेलो ब्रोजोभिक, लोउटारो मार्टिनेज र एलेक्सिस सान्चेजले गोल गर्नुभयो । स्पेजियाका जुलियो मेजेरोले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै दोस्रो स्थानमा रहेको इन्टरको ३२ खेलबाट ६९ अंक पुगेको छ । शीर्षस्थानमा रहेको एसी मिलानको ७१ अंक छ । मिलानले एक खेल बढी खेलेको छ । पराजित स्पेजिया ३३ अंकसहित १५औँ स्थानमा छ । शुक्रबार रातिनै भएको खेलमा एसी मिलानले जेनोआलाई २–० गोलले हरायो । मिलानको जितमा राफेल लियाओ र जुनियर मेसियसले गोल गर्नुभयो । पराजित जेनोआ २२ अंक सहित १९औँ स्थानमा छ । एजेन्सी
प्रदेश स्तरीय हाम्रो धरान भेट्रान फुटबल कप २०७९ हुने
निशा राईधरान, वैशाख २ गते । फुटबल विकासका लागि खेलप्रति आकर्षण बढाउन प्रदेशस्तरीय प्रथम हाम्रो धरान भेट्रान कप २०७९ आयोजना हुनेभएको छ । “हाम्रो धराने फुटबल विकासको लागि स्थानिय तहमा युवाहरुको सक्रियता” मुल नाराकोसाथ हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजना बैशाख ३ गतेदेखि १० गतेसम्म हुनेभएको छ । क्लबले पत्रकार सम्मेलन गर्दै धरानलाई खेलकुद हबको रुपमा विकास गर्ने उद्देश्यसाथ धरान उपमहानगरपालिकाद्वारा विभिन्न प्रतियोगितामा आर्थिक तथा भौतिकरुपमा सहयोग गर्दैआएको छ । फुटबलमा नै समर्पण गरी आफ्नो जिवन विताइरहेका खेलाडिहरुका लागि पनि यस क्लवले ३५ बर्ष कटेका भेट्रान खेलाडीलाई खेलको माध्यमबाट स्वास्थ राख्ने तथा सामाजिक विकृति हटाउने उद्देश्य पनि राखिएको क्लबका अध्यक्ष अशोककुमार राईले बताउनुभयो ।प्रतियोगितामा प्रदेश १ भरिका विभिन्न १२ टिमले सहभागिता जनाउनेछ । प्रतियोगितामा सहभागी हुने टिममा ३८ बर्षको ३ जना, ४० बर्षका ८ जना अनिवार्य खेलाडी हुनुपर्नेछ । प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुने अध्यक्ष राईले जानकारी दिनुभयो ।प्रतियोगिताको विजेता हुने टिमले नगद ८० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुने टिमले नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताका व्यक्तिगत विधामा समेत पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल ६ लाख ५५ हजार रुपियाँ खर्च हुने आयोजकको अनुमान छ ।