• ७ जेठ २०८१, सोमबार

नवौँ राष्ट्रिय खेलकुदको तयारी सुरु

blog

फाइल तस्बिर

काठमाडौँ, वैशाख ४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । राखेपले आइतबार मात्र प्रतियोगिताका लागि लोगो, मस्कट, गीत रचना र नारा पेश गर्न सार्वजनिक सूचनामार्फ खुला आव्हान गरेको छ ।

गत साता बसेको मन्त्रीपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको मिति तय गरेको थियो । राखेपले वैशाख ११ गतेभित्र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो, मस्कट, गीत र नारा पेश गर्न सार्वजनिक आव्हान गरेको हो । लोगोमा गण्डकी प्रदेशको समग्र प्रतिविम्ब, नवौँ राष्ट्रिय खेलकुद र शक्तिको प्रतिक भएको हुनुपर्ने उल्लेख गरिएको छ । 

यसैगरी मस्कटका लागि गण्डकी प्रदेशको प्रख्यात जनावर, गीत रचनाका लागि बढीमा चार मिनेट हुनुपर्ने, राष्ट्रिय भावनाले ओतप्रोत भएको, खेल, खेलाडीको भावना समेटिएको हुनुपर्ने उल्लेख छ । खुला प्रतिस्पर्धाबाट छनोट भएका लोगोलाई ५० हजार, मस्कटलाई २५ हजार, गीत रचनालाई २० हजार रुपियाँ र नारालाई १० हजार रुपियाँ प्रदान गरिने पनि राखेपले जनाएको छ । 

गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एउटा खेल आयोजना गरिने राखेपमा उपाध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो । राखेपले मन्त्रीपरिषद्ले राष्ट्रिय खेलकुदको मिति तय गरेसँगै प्रदेश खेलकुद परिषद्सँग तयारी र सुझाव संकलन गर्ने, राष्ट्रिय खेलकुदमा समावेश हुने खेलको खेलस्थल, खेलाडी कोटालगायत विषयमा प्रारम्भिक अध्ययन र छलफल पनि सुरु गरेको छ । 

प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुद प्रतियोगिता पछिल्लो पटक आठौँ संस्करण २०७५(०७६ मा नेपालगन्जमा भएको थियो । एक वर्षअघि २०७७ फागुन २१ देखि २८ सम्म आयोजना हुने तय भएको राष्ट्रिय खेलकुद कोभिड–१९ (कोरोना महामारी) का कारण स्थगित भएको थियो ।