• १३ असार २०८१, बिहिबार

युनाइटेडको जितमा रोनाल्डोको ह्याट्रिक

blog

काठमाडौँ, वैशाख ४ गते  सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरेसँगै इङ्लिस प्रियिमर लिगमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि कठिन जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा युनाइटेडले नर्विचलाई ३-२ गोलले हरायो । 

युनाइटेडलाई जिताउन सबै गोल रोनाल्डोले गर्दा नर्विचका लागि केइरन डोवेल र टिमु पुकीले गोल गर्नुभयो । रोनाल्डोले सातौँ मिनेटमा गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । त्यसपछि रोनाल्डोले ३२औँ र ७६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो । रोनाल्डोको यो खेल जीवनको ६०औँ ह्याट्रिक हो । नर्विचका केइरनले पहिलो हाफको इन्जुरी र पुकीले ५२औँ मिनेटमा गोल गरेपनि टोलीको हार टरेन । 

जितसँगै युनाइटेड पाँचौँ स्थानमा छ । युनाइटेडले ३२ खेलबाट ५४ अङ्क बनाएको छ । पराजित नर्विच २१ अङ्कसहित तालिकाको अन्तिममा छ । अन्य खेलमा टोट्टनहाम ब्राइटनसँग र आर्सनल साउथह्याम्पटनसँग समान १-० गोलले पराजित भएको छ । अर्को खेलमा ब्रेन्टफर्डले वाट्फर्डलाई २-१ गोलले हराएको छ । एजेन्सी ।