• १४ असार २०८१, शुक्रबार

रुपेन्देही–११ लाई प्रो क्लब उपाधि

blog

काठमाडौँ, वैशाख ३ गते । नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि रुपन्देही–११ ले जितेको छ । सिद्धार्थनगर क्रिकेट रंगशालामा शनिबार भएको खेलमा रुपन्देहीले मलेसिया–११ लाई सात विकेटले हरायो । मलेसियाले दिएको एक सय ४१ रनको विजयी लक्ष्य पछ्याएको रुपन्देहीले १९.३ ओभरमा लक्ष्य पूरा गरेको थियो । 

रुपन्देहीको जितमा प्रज्वल थापाले सर्वाधिक ७१ रन बनाउनुभयो । सन्दीप रजालीले ४१ र देव खनाल १२ रन बनाउनुभयो । बलिङमा मलेसियाका मुहमद वाफिक, सायद अजिज र शार्विनले एक एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४० रन बनाएको थियो । मलेसियाको लागि नज्रिल रहमानले ३६, जुबईदी जुल्कफ्लेले २६ र सेईद अजिजले २० रन बनाउनुभयो । बलिङमा रुपन्देहीका बसिर अहमदले दुई विकेट लिनुभयो । 

कृष्ण कार्की, रुपेश कुर्मी, विक्रम भुसाल र विशाल विक्रम केसीले एक एक विकेट लिनुभयो । रुपन्देहीका प्रज्वल थापा ‘प्लेयर अफ दि फाइनल’ हुनुभयो । उपाधिसँगै रुपन्देहीले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पायो । उपविजेता मलेसियाले एक लाख रुपियाँमा चित्त बुझायो । रुपन्देहीका बसिर अहमद सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो ।