रुपेन्देही–११ लाई प्रो क्लब उपाधि
काठमाडौँ, वैशाख ३ गते । नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि रुपन्देही–११ ले जितेको छ । सिद्धार्थनगर क्रिकेट रंगशालामा शनिबार भएको खेलमा रुपन्देहीले मलेसिया–११ लाई सात विकेटले हरायो । मलेसियाले दिएको एक सय ४१ रनको विजयी लक्ष्य पछ्याएको रुपन्देहीले १९.३ ओभरमा लक्ष्य पूरा गरेको थियो । रुपन्देहीको जितमा प्रज्वल थापाले सर्वाधिक ७१ रन बनाउनुभयो । सन्दीप रजालीले ४१ र देव खनाल १२ रन बनाउनुभयो । बलिङमा मलेसियाका मुहमद वाफिक, सायद अजिज र शार्विनले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४० रन बनाएको थियो । मलेसियाको लागि नज्रिल रहमानले ३६, जुबईदी जुल्कफ्लेले २६ र सेईद अजिजले २० रन बनाउनुभयो । बलिङमा रुपन्देहीका बसिर अहमदले दुई विकेट लिनुभयो । कृष्ण कार्की, रुपेश कुर्मी, विक्रम भुसाल र विशाल विक्रम केसीले एक एक विकेट लिनुभयो । रुपन्देहीका प्रज्वल थापा ‘प्लेयर अफ दि फाइनल’ हुनुभयो । उपाधिसँगै रुपन्देहीले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पायो । उपविजेता मलेसियाले एक लाख रुपियाँमा चित्त बुझायो । रुपन्देहीका बसिर अहमद सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो ।
नवौँ राष्ट्रिय खेलकुदमा स्याङ्जामा कम्तीमा एक खेल खेलाइने
स्याङ्जा, वैशाख ३ गते । राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइरालाले नवौँ राष्ट्रिय खेलकुदमा स्याङ्जामा कम्तिमा एक खेल खेलाउने बताउनुभयो । प्रथम विवेक खाँण स्मृति सेभेन ए साईड अन्तर क्लब पुरुष फुटबलको समापन तथा पुरस्कार बितरणमा कोइरालाले आफु स्याङ्जा जिल्लामा प्याराग्लाइडिङ बाहेक थप एक खेल खेलाउन छलफलमा रहको बताउनुभयो ।कुनै पनि प्रतियोगिताले खेलकुदको विकासमा टेवा पुग्ने बताउँदै कोइरालाले खेलकुदमा सबैको चासो हुनुपर्ने बताउनुभयो । देशकै पदमा आसिन भएपनि आफु हुर्केको ठाउँमा सहयोग गर्र्न मन लाग्ने बताउदै कोइरालाले डिपीआर बनाएर लिएर आएमा आर्थिक सहयोग जुटाउन पहल गर्ने पनि बताउनुभयो । हेलु लामाचौर युवा क्लबले भिरकोट १ लामाचौरमा आयोजना गरेको सेभेन ए साईड अन्तर क्लब पुरुष फुटबलमा उपाधि रामबाच्छा ब्वाइज वालिङले जितेको हो । फाइनलमा स्मार्ट युथ क्लबलाई १–० गोलले हराएको रामबाच्छाले उपाधि सहित ३० हजार रुपियाँ पुरस्कार पायो । उपविजेतका बनेको स्मार्टले २० हजार रुपियाँमा चित्त बुझायो । चैत २८ गतेबाट शुरु भएको प्रतियोगितामा १८ क्लबको सहिभागिता रहेको थियो । प्रतियोगितामा ‘म्यान अफ दि सिरिज’ अयोजक टिमका इश्वर खाँण, बेष्ट फरवार्ड रामबाच्छाका जनम गुरुङ, बेष्ट किपर रामबाच्टाका रुपेश हमाल, बेष्ट डिफेन्डर स्मार्टका सन्देश क्षेत्री हुनुभयो । विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइरालाले पुरस्कार प्रदान गर्नुभयो ।
नेपालले जिम्बावेसँग क्रिकेट सिरिज खेल्ने
काठमाडौँ, वैशाख ३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावेसँग एक दिवसीय र टी-२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले घरेलु मैदानमा एक दिवसीय र टी-२० सिरिज खेल्न लागेको हो । क्यानले दुवै सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपालले जिम्बावे ए सँग वैशाख १७, १९ र २१ गते एकदिवसीय तथा वैशाख २३, २४ र २६ गते टी-२० सिरिज खेल्नेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा हुने अमेरिका र ओमानसँग त्रिदेशीय सिरिजको तयारीमा लागि जिम्बावे ए सँग सिरिज खेल्न लागेको हो । लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । नेपालले १२ खेलमा ६ जित र ६ वटै हार खेपेको छ । २८ खेलबाट ३६ अंक बनाएको ओमान शीर्षस्थानमा छ । यूएई, स्कटल्याण्ड, नामिबिया र अमेरिका तालिकाको क्रमश दोस्रो, तेस्रो, चौंथो र पाँचौ स्थानमा छन् । दुई अंक बनाएको पीएनजी तालिकाको पुछारमा छ । सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।
एन्फा निर्वाचन : ‘बी’ र ‘सी’ डिभिजनको प्रतिनिधि छनोट
काठमाडौँ, वैशाख ३ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि ‘बी’ र ‘सी’ डिभिजनबाट प्रतिनिधि छनोट भएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार अबेर सम्पन्न निर्वाचनमार्फत ‘बी’ डिभिजनबाट ११ र ‘सी’डिभिजनबाट ९ क्लबले निर्वाचनका लागि मताधिकार प्राप्त गरेका हुन् । प्रतिनिधि छनोटको निर्वाचनमा ‘बी’ डिभिजनका १४ क्लब सहभागी थिए । जसमा चर्च ब्वाइज युनाइटेड, खुमलटार युथ क्लब, रानी पोखरी कर्नर टिम (आरसिटी), सरस्वती युथ क्लब, श्री भगवती, मध्यपुर युथ क्लब, टुसाल युथ, नयाँबस्ती, बाँसबारी, श्री कुमारी र ब्वाईज युनियनले मताधिकार पाए । सामाजिक युथ, झम्सिखेल र वीरगञ्ज युनाइटेडले मताधिकार प्राप्त गर्न सकेनन् ।यसैगरी ‘सी’ डिभिजनबाट मनोहरा एकिकृत युवा क्लब, पुल्चोक स्पोर्ट्स, समाज कल्याण, खालीबारी युथ, प्लानिङ ब्वाइज युनाइटेड, स्वयम्भु, आरसी ३२ फुटबल एकेडेमी, महावीर स्टडिज एन्ड एसोसिएसन र वीरगंज युथ एकेडेमीले मताधिकार पाएका छन् । ‘सी’ का १४ क्लबमध्ये झापा फुटबल क्लब, ओसिस क्लब, सानेपा फुटबल क्लब, रानीबन र साँगा फुटबल क्लबले मताधिकार पाएनन् । एन्फाको चुनाव आगामी असार ६ गतेका लागि तय भएको छ ।
इन्टरको उपाधि होड कायम
काठमाडौँ, वैशाख ३ गते । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले उपाधि होड कायम राखेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले स्पेजियालाई उसैको मैदानमा ३–१ गोलले हरायो । इन्टरको जितमा मार्सेलो ब्रोजोभिक, लोउटारो मार्टिनेज र एलेक्सिस सान्चेजले गोल गर्नुभयो । स्पेजियाका जुलियो मेजेरोले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै दोस्रो स्थानमा रहेको इन्टरको ३२ खेलबाट ६९ अंक पुगेको छ । शीर्षस्थानमा रहेको एसी मिलानको ७१ अंक छ । मिलानले एक खेल बढी खेलेको छ । पराजित स्पेजिया ३३ अंकसहित १५औँ स्थानमा छ । शुक्रबार रातिनै भएको खेलमा एसी मिलानले जेनोआलाई २–० गोलले हरायो । मिलानको जितमा राफेल लियाओ र जुनियर मेसियसले गोल गर्नुभयो । पराजित जेनोआ २२ अंक सहित १९औँ स्थानमा छ । एजेन्सी
प्रदेश स्तरीय हाम्रो धरान भेट्रान फुटबल कप २०७९ हुने
निशा राईधरान, वैशाख २ गते । फुटबल विकासका लागि खेलप्रति आकर्षण बढाउन प्रदेशस्तरीय प्रथम हाम्रो धरान भेट्रान कप २०७९ आयोजना हुनेभएको छ । “हाम्रो धराने फुटबल विकासको लागि स्थानिय तहमा युवाहरुको सक्रियता” मुल नाराकोसाथ हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजना बैशाख ३ गतेदेखि १० गतेसम्म हुनेभएको छ । क्लबले पत्रकार सम्मेलन गर्दै धरानलाई खेलकुद हबको रुपमा विकास गर्ने उद्देश्यसाथ धरान उपमहानगरपालिकाद्वारा विभिन्न प्रतियोगितामा आर्थिक तथा भौतिकरुपमा सहयोग गर्दैआएको छ । फुटबलमा नै समर्पण गरी आफ्नो जिवन विताइरहेका खेलाडिहरुका लागि पनि यस क्लवले ३५ बर्ष कटेका भेट्रान खेलाडीलाई खेलको माध्यमबाट स्वास्थ राख्ने तथा सामाजिक विकृति हटाउने उद्देश्य पनि राखिएको क्लबका अध्यक्ष अशोककुमार राईले बताउनुभयो ।प्रतियोगितामा प्रदेश १ भरिका विभिन्न १२ टिमले सहभागिता जनाउनेछ । प्रतियोगितामा सहभागी हुने टिममा ३८ बर्षको ३ जना, ४० बर्षका ८ जना अनिवार्य खेलाडी हुनुपर्नेछ । प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुने अध्यक्ष राईले जानकारी दिनुभयो ।प्रतियोगिताको विजेता हुने टिमले नगद ८० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुने टिमले नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताका व्यक्तिगत विधामा समेत पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल ६ लाख ५५ हजार रुपियाँ खर्च हुने आयोजकको अनुमान छ ।
प्रिन्स र रशिलालाई ब्याडमिन्टन उपाधि
काठमाडौँ, वैशाख १ गते । रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको पुरुष एकलको फाइनलमा प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१–१७, २१–१० ले हराउनुभयो उपाधिसँगै प्रिन्सले एक लाख १५ रुपियाँ र उपविजेता नवीनले ५५ हजार रुपियाँ प्राप्त गर्नुभयो । दिपेश धामी र प्रफुल महर्जन तेस्रो हुनुभयो । दुवै जनाले समान १५ हजार रुपियाँ हात पार्नुभयो । महिलातर्फ च्याम्पिया क्शिलाले आर्मीकै अनुमाया राईलाई २१–१२, २१–१८ ले पाखा लगाउनुभयो । उहाँले एक लाख १५ हजार र अनुमायाले ५५ हजार रुपियाँ प्राप्त गर्नुभयो । तेस्रो बन्न सफल पार्थना देउवा र जेशिका गुरुङले जनही १५ हजार प्राप्त गर्नुभयो । पुरुष डबल्समा रिभाइभका प्रिन्स र आर्मीका नवीन विजयी हुनुभयो । फाइनलमा प्रिन्स र नवीनको जोडीले आर्मीका पविन लिङथेब र सुरोज महर्जनको जोडीलाई १८–२१, २१–९, २१(१८ ले हराउनुभयो । यस स्पर्धाको विजेता, उपविजेता र तेस्रोले क्रमशः ५०, २५ र १० हजार रुपियाँ प्राप्त गर्नुभयो । पुरुष यू–१५ एकलमा सिल्क ग्रुपका कविर केसीले एनआरएनका साहिल चन्दलाई २१–१९, २१–१७ को सेटमा हराएर उपाधि जित्नुभयो । महिला यू–१५ मा आर्मीकी रोज पाण्डे, पुरुष यू–१९ मा आर्मीका सन्तोष पनेरु र महिला यू–१९ मा आर्मीकी पार्थना देउवा पहिलो हुनुभयो । प्रतियोगिताको विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलगायतले पुरस्कार प्रदान गर्नुभयो ।
हेविवेटमा नुवाकोटे टाइगर च्याम्पियन
काठमाडौँ, वैशाख १ गते । दोस्रो आरडब्लू समर स्लामको उपाधि नुवाकोटे टाइगरले जित्नुभएको छ । नुवाकोटको गुप्तेश्वरमा बिहीबार भएको डेविवेट भिडन्तमा डेभिडलाई पराजित गर्दै नुवाकोटे टाइगर च्याम्पिनय बन्नुभएको हो । डेभिड यसअघि वसन्तपुरमा भएको पहिलो हेरिटेज रिङ रेस्लिङका च्याम्पियन हुनुहुन्छ । जितसँगै नुवाकोटे टाइगरले ८५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । यसैगरी त्रिपल थ्रेडतर्फ साइन, चट्टान र किङरोवर्डबीचको खेलमा साइन च्याम्पियन बन्नुभएको छ । उहाँले ४५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । महिलातर्फको उपाधि टनुले जित्नुभयो । आकृतिलाई हराउनुभएकी उहाँले ४० हजार रुपियाँ पाउनुभयो । ट््याक टिम म्याचमा सिजे उड र योङ स्याडीललाई स्पाइडर म्यान र बाकाको जोडीले हराउनुभयो । स्पाइडर म्यान र बाकाको जोडीले ६० हजार रुपियाँ पुरस्कार पाउनुभयो । विजेतालाई शिवपूरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र नेपाल रिङ रेस्लिङ महासंघकी महासचिव सुवर्ण श्रेष्ठ लगायतले पुरस्कार प्रदान गर्नुभयो । यसअघि पूर्व मन्त्री डा.प्रकाशरण महतले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
फुटबल टोलीको प्रशिक्षण शुक्रबारदेखि
काठमाडौँ, वैशाख १ गते । एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबारदेखि बन्द प्रशिक्षण सुरु गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल टोलीको प्रशिक्षण दशरथ रंगशालामा गराउने जानकारी दिएको हो । टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २५ जना खेलाडी बोलाउनुभएको छ । एसिया कप छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ । समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया रहेका छन् । नेपालका लागि यो तुलनात्मक रुपमा कठिन समूह हो । छनोट खेल कुवेतमा जुन ८ देखि १४ तारिखसम्म हुनेछ । समूहको शीर्ष टोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछ । प्रशिक्षणमा बोलाइएका खेलाडी : किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ र विशाल राई ।