सूर्य गल्फमा अनुभव साट्दै बेलायती गल्फर
काठमाडौँ, वैशाख ५ गते । सूर्य नेपाल गल्फ टुर अन्तर्गत बर्षको छैटौँ स्पर्धा ‘सूर्य नेपाल च्यालेन्ज’ मंगलबार देखि पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ । नेपालकै पूरानो गल्फ कोर्समा सञ्चालन हुने चार दिने प्रतियोगितामा सात जना नेपाली मूलका बेलायती गल्फरको समेत सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले जानकारी दिनुभयो । ‘घरेलु गल्फ टुरका कारण पछिल्लो समय नेपाली गल्फरको स्तर बढेको छ । अधिकांश खेलाडीले अन्डर पार स्कोर खेल्न थालेका छन् । यही मेसोमा वेलायतमा रहेका राम्रा एमेच्योर खेलाडीलाई प्रतियोगिातमा सहभागिताको मौका दिईएको हो,’ आचार्यले भन्नुभयो । उहाँका अनुसार पाँच ह्यान्डीक्याप मुनिका सात जना बेलायती गल्फरले नेपाली गल्फरसँग प्रतिस्पर्धा गर्नेछन् । बेलायतका खेलाडीहरुमा महेन्द्र फगामी, विष्णु थापा, राजु तामाङ, समक लिम्बु, गजेन्द्र गुरुङ, भक्त शेरचन र देव राना हुनुहुन्छ । यी मध्ये गजेन्द्र शुन्य ह्यान्डीक्याप खेलाडी हुनुहुन्छ । चारदिने प्रतियोगितामा ३६ प्रो र २० एमेच्योर गरी ५६ खेलाडीको सहभागिता रहनेछ । कूल पाँच लाख ४५ हजार पुरस्कार राशी रहेको प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख, उपविजेताले ६५ हजार र तेस्रो हुनेले ४६ हजार रुपियाँ पुरस्कार पाउनेछन् । कूल ७२ होलको स्पर्धामा ३६ होलको समाप्तिसँगै २१ जना शीर्ष खेलाडी थप ३६ होलको फाइनलका लागि छनोट हुनेछन् । प्रोतर्फ फाइनलमा पुग्ने शीर्ष २१ खेलाडीलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने बताईएको छ । एमेच्योर तर्फको विजेताले आकर्षक ट्रफी हात पार्नेछन् । प्रोतर्फ भुवन नगरकोटी, घरेलु प्रो जयराम श्रेष्ठ, सन्जय लामा, रवि खड्का र राम थापामगरलाई उपाधि दावेदार मानिएको छ । एमेच्योरतर्फ १३औँ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुवास तामाङ मुख्य दावेदार भएको एसोसिएसनले जनाएको छ ।
विश्व तेक्वान्दो च्याम्पियनसिपमा नोर्बु निर्णायक
काठमाडौं, बैशाख ५ गते । नेपालका निर्णाक नोर्बु लामाले सोमबारदेखि दक्षिण कोरियामा सुरु भएको विश्व तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्दै हुनुहुन्छ ।नेपालका तेक्वान्दो सहायक प्रशिक्षक नोर्बुले पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्न लागेका हुन् । उक्त प्रतियोगिता पुम्सेकै विश्व च्याम्पियनसिप भएको बताइएको छ ।नोर्बुले सन् २०२०, २०२१ र २०२२ मा एसियाली खुला, २०२२ मा विश्व तेक्वान्दो मुजु प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसक्नुभएको छ । उहाँले अनलाइन अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि निर्णायकको जिम्मेवारी सम्हाल्नु भएको छ ।
ला लिगामा रियलको कठिन जित
काठमाडौँ, वैशाख ५ गते । स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिडले सेभियामाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले सेभियालाई उसैको मैदानमा ३–२ गोलले हरायो । रियलको कठिन पूनरागमन जितमा रोड्रिगो, नाचो फर्नान्डेस र कप्तान करिम बेन्जेमाले गोल गर्नुभयो । घरेलु टोली सेभियाका इभान राकिटिक र एरिक लमेलाले गोल गर्नुभएको थियो । प्रतिस्पर्धात्मक खेलमा २१औँ मिनेटमा इभान राकिटिकले फ्रिकिकमा गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाउनुभयो । २५औँ मिनेटमा एरिक लमेलाले जेसस कोरोनाको पासमा गोल गर्दै सेभियाको अग्रता दोब्बर बनाउनुभयो । सेभियाको लगातार दुई गोलपछि जोसिएको रियलले दोस्रो हाफमा सानदार पूनरागमन गरेको थियो । ५०औँ मिनेटमा रोड्रिगोले ड्यानी कार्भाजलको पासमा गोल गर्दै रियललाई खेलमा फर्काएने प्रयास गर्नुभयो । ८२औँ मिनेटमा नाचो फर्नान्डेसले कार्भाजलकै पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । इन्जुरी समयमा कप्तान बेन्जेमाले रोड्रिगोको पासमा गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाउनुभयो । जारी लिगमा बेन्जेमाको यो २५औँ गोल हो । २८ खेलमा ११ असिस्ट समेत दिनुभएका बेन्जेमा सर्वाधिक गोल कर्ताको शीर्षसुचीमा हुनुहुन्छ । यस जितसँगै शीर्षस्थानमा रहेको रियलले ३२ खेलबाट ७५ अंक बनाएको छ । रियल दोस्रो स्थानको बार्सिलोना र सेभियाभन्दा १५ अंकले अगाडि छ । दुई खेल कम खेलेको बार्सिलोना र ३२ खेल सकेको पराजित सेभियाको समान ६० अंक छ । रियलसँगको हारसँगै सेभियाले दोस्रो स्थानमा उक्लने मौका गुमाएको हो । एजेन्सी
चेल्सी एफए कपको फाइनलमा
काठमाडौँ, वैशाख ५ गते । चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । लन्डन स्थित वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–० गोलले हराउँदै चेल्सीले फाइनलमा स्थान बनाएको हो ।चेल्सीको जितमा रुवेन लफटस चिक र मासन माउन्टले गोल गर्नुभयो । बल पोसेसनमा अब्बल देखिएको चेल्सीलाई गोल गर्न दोस्रो हाफको अन्तिमसम्म कुर्नुपरेको थियो ।रुवेनले ६५औँ मिनेटमा गोल गर्दै चेल्सीको उत्साह जगाउनुभयो । त्यसपछि ७६औँ मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीको फाइनल यात्रा पक्का बनाउनुभएको थियो । उपाधिका लागि चेल्सीले लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुलले शनिबार राति म्यानचेस्टर सिटीलाई ३–२ गोलले हराउँदै फाइनल यात्रा तय गरेको थियो । चेल्सी र लिभरपुलको फाइनल भिडन्त मे १४ तारिख हुनेछ । एजेन्सी
आर्मी महिला गोल्डकपको सेमिफाइनलमा
धनगढी, वैशाख ५ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार राति भएको खेलमा आर्मीले बागमती युवा क्लबलाई ७–० गोलले हरायो । पहिलो हाफमा चार गोल गरेको आर्मीले दोस्रो हाफमा तीन गोल थपेको थियो । आर्मीको फराकिलो जितमा कुसुम खतिवडा र अमिषा कार्कीले समान दुई तथा इन्दिरा राई र दीपा शाहीले एक गोल गर्नुभयो । अर्को गोल आर्मीले वागमतीबाट आत्मघाती उपहार पाएको थियो । खेलभर आर्मीको दबाब झेलेको बागमतीले गोल गर्न लायक अवसर बनाउन सकेन । अव सेमिफाइनलमा आर्मीले एपीएफ र विराटनगर महानगरपालिका बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय सहित आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीलाई पाँच लाख र उपविजेतालाई दुई लाख ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले नाएको छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार र उत्कृष्ट विधाका खेलाडीलाई जनही १० हजार रुपियाँ प्रदान गरिने बताईएको छ ।
नेपालले अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने
काठमाडौँ, वैशाख ४ गते । नेपाली राष्ट्रिय फुटबल टोलीले अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले जेठ ११ र १५ गते कतारको दोहामा अफगानिस्तानसँग फुटबल खेल्न लागेको हो । एएफसी एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेको नेपालले त्यसैको तयारीका लागि अफगानिस्तानसँग दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको नेपाली टोलीका म्यानेजर मधुसुदन उपाध्यायले जानकारी दिनुभयो । नेपाली टोलीले अहिले एएफसी एसिया कप छनोट खेलको बन्द प्रशिक्षण सुरु गरिसकेको छ । टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ सदस्सीय खेलाडी छनोट गरी तयारी सुरु गर्नुभएको हो । एएफसी एसिया कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । तुलनात्मक रुपमा नेपालका लागि यो कठिन समूह हो । यस समूहमा नेपालसँगै कुवेत, जोर्डन र इन्डोनेसिया रहेको छ । छनोट खेल जुन ८ देखि १४ तारिखसम्म कुवेतमा हुनेछ । समूहको शीर्ष टोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछ ।
नवौँ राष्ट्रिय खेलकुद समयमै : सदस्य सचिव घिसिङ
काठमाडौँ, वैशाख ४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै आयोजना हुने बताउनुभएको छ । आइतबार प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव, तीन विभागीय टोलीका प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिको उपस्थितिमा भएको नवौँ राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले उक्त कुरा बताउनुभएको हो ।गत साता बसेको मन्त्रीपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो । ‘राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ । हुन्छ कि हुँदैन भन्ने संशय नराख्नु होला । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न आआफ्नो स्तरबाट तयारी अगाडि बढाउन आग्रह गर्छु,’ घिसिङले भन्नुभयो । प्रतियोगिता र पूर्वाधारको व्यस्थापन र समन्वय गर्न आवश्यक रहेकोले सरोकारवालासँग पहिलो बैठक बोलाईएको पनि घिसिङले बताउनुभयो । बैठकले राखेपको छिट्ट बस्न लागेको बोर्र्ड बैठकका लागि एजेन्डा तय गर्न सहज भएको पनि घिसिङले बताउनुभयो । ‘नवौँ राष्ट्रिय खेलकुदका लागि बजेट निर्माण कमिटी र निर्देशिका तयार गर्ने कमिटी पनि गठन भइसकेको छ । राखेप खेलाडीको नगद पुरस्कार, कीर्तिमानधारीको नगद पुरस्कार, खेलाडीको भत्ता वृद्धि गर्ने विषयमा पनि पहल भइरहेको छ,’ उहाँले भन्नुभयो । बैठकमा सहभागी प्रदेशका सदस्य सचिवहरुले कर्मचारी व्यवस्थापन गरिदिनु पर्ने, पूर्वाधारको मर्मत सम्भार गर्नु पर्ने, छनोट प्रतियोगिताको विधि, प्रतियोगिता र पूर्वाधारमा समन्वय, आयोजक प्रदेशलाई १-२ खेल थप्न पाउने प्रावधान बनाउनु पर्ने, एनआरएनलाई पनि समावेश गर्न पहल गर्नु पर्ने, ऐनमा भएका जटीलतालाई फुकाउनु पर्ने, खरिदलगायतका कुरा निर्देशिकामा स्पष्ट हुनु पर्ने, गण्डकी प्रदेशका सबै जिल्लाले अपनत्व गर्ने गरी सबै जिल्लामा प्रतियोगिता सञ्चालन गर्नु पर्नेलगायतका विषयमा धारणा राख्नुभएको थियो । राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहालले राष्ट्रिय खेलकुदको महत्व, सहभागी हुने टिम, खेल संख्या, खेलाडीलगायत सहभागी संख्या, नवौं राष्ट्रिय खेलकुदको स्वरुपलगायतका विषयमा प्रकाश पार्नुभएको थियो । बैठकमा ६ प्रदशेका सदस्य सचिव, नेपाल ओलम्पिक कमिटी, नेपाल प्रहरी, नेपाली सेना र एपीएफका प्रतिनिधिको उपस्थिति रहेको थियो । मधेस प्रदेशमा सदस्यसचिव नियुक्त भइ नसकेकाले महिला, बालवालिका तथा युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख ठूलोबाबु दाहाल बैठकमा उपस्थित हुनुहुन्थ्यो ।
रग्बीमा गोर्खाली क्लब र बडिमालिका च्याम्पियन
काठमाडौँ, वैशाख ४ गते । यू–२० राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि गोर्खाली रग्बी क्लब र बडिमालिका रग्बी क्लबले जितेको छ । चितवनको भरतपुरमा भएको प्रतियोगितामा गोर्खाली पुरुषतर्फ र बडिमालिका महिलातर्फ च्याम्पियन बनेको हो ।फाइनलमा गोर्खालीले मकवानपुर रग्वी क्लबलाई ५–३ ले हरायो । महिलातर्फ बडिमालिकाले हिमालयन रग्बी क्लबलाई १०–० ले स्तब्ध बनायो । पुरुषतर्फ गोर्खालीका रोहन डंगोल र महिलामा बडिमालिकाकी अर्पना थापा उत्कृष्ट खेलाडी चुनिनुभयो ।
महिला गोल्डकप : नेपाल पुलिसको विजयी सुरुवात
धनगढी, वैशाख ४ गते। विभागीय टोली नेपाल पुलिस क्लबले प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिता विजयी सुरुवात गरेको छ। कैलालीको धनगढी रंगशालामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पुलिसले चन्द्रपुर नगरपालिका रौतहटलाई १-० गोलले हरायो। पुलिसको जितमा रेखा पौडेलले निर्णायक गोल गर्नुभयो। रेखाले ५१औँ मिनेटमा गरेको गोल पुलिसको जितमा पर्याप्त बन्यो। धनगढीमा पहिलो पटक फर्डलाइटमा रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो। वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीयसहित आठ टोलीको सहभागिता छ। गोल्डकपको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछ। यसैगरी प्रत्येक खेलको ‘वमन अफ दि म्याच’लाई पाँच हजार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभएको थियो।