• १४ असार २०८१, शुक्रबार

आर्मी महिला गोल्डकपको सेमिफाइनलमा

blog

बल अगाडि बढाउने प्रयास गर्दै आर्मी र बागमतीका खेलाडी । तस्बिर : विवाइसी क्लब

धनगढी, वैशाख ५ गते । विभागीय  टोली त्रिभुवन आर्मी क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार राति भएको खेलमा आर्मीले बागमती युवा क्लबलाई ७–० गोलले हरायो । 

पहिलो हाफमा चार गोल गरेको आर्मीले दोस्रो हाफमा तीन गोल थपेको थियो । आर्मीको फराकिलो जितमा  कुसुम खतिवडा र अमिषा कार्कीले समान दुई तथा इन्दिरा राई र दीपा शाहीले एक गोल गर्नुभयो । अर्को गोल आर्मीले वागमतीबाट आत्मघाती उपहार पाएको थियो । खेलभर आर्मीको दबाब झेलेको बागमतीले गोल गर्न लायक अवसर बनाउन सकेन । अव सेमिफाइनलमा आर्मीले एपीएफ र विराटनगर महानगरपालिका बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय सहित आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीलाई पाँच लाख र उपविजेतालाई दुई लाख ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले नाएको छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार र उत्कृष्ट विधाका खेलाडीलाई जनही १० हजार रुपियाँ प्रदान गरिने बताईएको छ ।