• ५ असोज २०८१, शनिबार

ला लिगामा रियलको कठिन जित

blog

सेभियालाई हराएपछि खुशी मनाउँदै रियलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख ५ गते । स्पेनिस ला लिगाको  उपाधि दौडमा रहेको रियल म्याड्रिडले सेभियामाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले सेभियालाई उसैको मैदानमा ३–२ गोलले हरायो । रियलको कठिन पूनरागमन जितमा रोड्रिगो, नाचो फर्नान्डेस र कप्तान करिम बेन्जेमाले गोल गर्नुभयो । घरेलु टोली सेभियाका इभान राकिटि र एरिक लमेलाले गोल गर्नुभएको थियो । 

प्रतिस्पर्धात्मक खेलमा २१औँ मिनेटमा इभान राकिटिले फ्रिकिकमा गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाउनुभयो । २५औँ मिनेटमा एरिक लमेलाले जेसस कोरोनाको पासमा गोल गर्दै सेभियाको अग्रता दोब्बर बनाउनुभयो । सेभियाको लगातार दुई गोलपछि जोसिएको रियलले दोस्रो हाफमा सानदार पूनरागमन गरेको थियो । 

५०औँ मिनेटमा रोड्रिगोले ड्यानी कार्भाजलको पासमा गोल गर्दै रियललाई खेलमा फर्काएने प्रयास गर्नुभयो । ८२औँ मिनेटमा नाचो फर्नान्डेसले कार्भाजलकै पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । इन्जुरी समयमा कप्तान बेन्जेमाले रोड्रिगोको पासमा गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाउनुभयो । जारी लिगमा बेन्जेमाको यो २५औँ गोल हो । २८ खेलमा ११ असिस्ट समेत दिनुभएका बेन्जेमा सर्वाधिक गोल कर्ताको शीर्षसुचीमा हुनुहुन्छ । 

यस जितसँगै शीर्षस्थानमा रहेको रियलले ३२ खेलबाट ७५ अंक बनाएको छ । रियल दोस्रो स्थानको बार्सिलोना र सेभियाभन्दा १५ अंकले अगाडि छ । दुई खेल कम खेलेको बार्सिलोना र ३२ खेल सकेको पराजित सेभियाको समान ६० अंक छ । रियलसँगको हारसँगै सेभियाले दोस्रो स्थानमा उक्लने मौका गुमाएको हो । एजेन्सी