• १६ असार २०८१, आइतबार

च्यालेन्ज गल्फमा सन्जय र भुवनको अग्रता

blog

सूर्य नेपाल च्यालेन्ज गल्फको दोस्रो दिन सट प्रहार गर्दै सन्जय लामा । तस्बिर : एनपीजीए

काठमाडौँ, वैशाख ७ गते । सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिातको दोस्रो दिन सन्जय लामा र भुवन कुमार रोक्काले अग्रता लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा बुधबार सन्जयले ६ अन्डर ६२  भुवनले चार अन्डर ६४ खेल्नुभयो । ३६ होलको समाप्तिसँगै सन्जय र भुवनको कूल आठ अन्डर एक सय २८ स्कोर छ । सन्जयले पहिलो दिन दुई अन्डर ६६ र भुवनले चार अन्डर ६४ खेल्नुभएको थियो । 

कूल सात अन्डर एक सय २९ स्कोरका साथ सूर्य प्रसाद शर्मा तेस्रो, ६ अन्डर एक सय ३० स्कोरका साथ दीपक मगर चौथो तथा पाँच अन्डर एक सय ३१ को समान स्कोर बनाउन सफल भुवन नगरकोटी र रवि खड्का संयुक्त पाँचौँ स्थानमा हुनुहुन्छ । पहिलो दिन ६ अन्डर खेल्नु भएको रविले  दोस्रो दिन एक ओभर ६९ मा चित्त बुझाउनुभयो ।

 यसैगरी एमेच्योरतर्फ सुवास तामाङ शीर्षस्थानमा हुनुहुन्छ । सुवासको कूल तीन अन्डर एक सय ३३ स्कोर छ । एक सय ४२ स्कोर सहित सुरेस तामाङ दोस्रो स्थानमा हुनुहुन्छ । बुधबार ३६ होलको समाप्तिसँगै कूल ११ ओभर एक सय ४७ स्कोरसम्म खेल्ने २६ खेलाडी थप ३६ होलको फाइनल राउन्डमा प्रवेश गरेका छन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले आयोजना गरेको सूर्य नेपाल गल्फ टुर अन्तर्गत बर्षको छैटौँ स्पर्धामा  २२ एमेच्योर सहित ५९ गल्फरको सहभागिता रहेको थियो । 

कूल पाँच लाख ४५ हजार पुरस्कार राशी रहेको चारदिने प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख, उपविजेताले ६५ हजार र तेस्रो हुनेले ४६ हजार रुपियाँ पुरस्कार पाउनेछन्  । प्रोतर्फ फाइनलमा पुग्ने शीर्ष २१ खेलाडीलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने बताईएको छ । एमेच्योर तर्फको विजेताले आकर्षक ट्रफी हात पार्नेछन् ।