• १६ असार २०८१, आइतबार

कोपा इटालिया : मिलान डर्वीमा इन्टरको बाजी

blog

एसी मिलानविरुद्ध गोल गरेपछि इन्टरका लोउटारो मार्टिनेज । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख ७ गते । इन्टर मिलान कोपा इटालिया कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको मिलान डर्वीमा एसी मिलानलाई ३–० गोलले हराउँदै इन्टर मिलान फाइनलमा पुगेको हो । इन्टरले समग्रमा ३–० गोलकै जित निकाल्यो । यसअघि पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।  

इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई तथा रोविन गोसेन्सले एक गोल गर्नुभयो । इन्टरले चौथो मिनेटमा मार्टिनेजको गोलबाट अग्रता लिएको थियो । ४०औँ मिनेटमा मार्टिनेजले जोआक्विन कोरेआको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । 

त्यसपछि ८२औँ मिनेटमा रोविन गोसेन्सले गोल गर्दै इन्टरलाई सजिलै जिताउनुभयो । अब फाइनलमा इन्टरले युभेन्ट्स र फियोरेन्टिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल मे ११ तारिख हुनेछ । युभेन्ट्स र फियोरेन्टिनाको दोस्रो लेग आज (बुधबार) राति हुनेछ । पहिलो लेगमा युुभेन्ट्स १–० गोलले विजयी भएको थियो । एजेन्सी