• १६ असार २०८१, आइतबार

उपाधि दौड बलियो बनाउँदै रियल म्याड्रिड

blog

ओसासुनाविरुद्ध गोल गरेपछि रियलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख ८ गते । रियल म्याड्रिडले स्पेनिस ला लिगामा उपाधि दौड बलियो बनाएको छ । बुधबार राति भएको खेलमा रियलले ओसासुनालाई उसैको मैदानमा ३–१ गोलले हरायो । अनुभवी कप्तान करिम बेन्जेमाले दुई वटा पेनाल्टी मिस गरेपनि रियलले सहज जित निकालेको हो । 

रियलको जितमा डेभिड अलाबा, मार्को असेन्सियो र लुकास भाजक्वेजले गोल गर्नुभयो । ओसासुनाका एन्टी बुडिमिरले सान्त्वना गोल फर्काउनुभयो । रियलले १२औँ मिनेटमा डेभिड अलाबाको गोलबाट अग्रता लिएको थियो । तर, रियलको अग्रता एक मिनेट पनि टिकेन । १३औँ मिनेटमा एन्टी बुडिमिरले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । 

त्यसपछि ४५औँ मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई पुन अग्रता दिलाउनुभयो । बेन्जेमाले दोस्रो हाफमा दुई पेनाल्टी मिस गर्नुभएको थियो । बेन्जेमाको दुवै पेनाल्टीलाई ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले बचाउनुभयो । इन्जुरी समयमा लुकासले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई सजिलै जिताउनुभयो । 

जितसँगै उपाधितर्फ लम्किएको रियलले शीर्षस्थानमा १७ अंकको अग्रता बनाएको छ । अब रियललाई उपाधिको जित्न पाँच खेलबाट चार अंक मात्त आवश्यक छ । रियलले अबको दुई खेलमै उपाधि जित्ने सम्भावना छ ।

दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ६१ अंक तथा दुई खेल कम खेलेको बार्सिलोनाको ६० अंक छ । रियलसँग पराजित ओसासुना ४४ अंक सहित नवौँ स्थानमा छ । बुधबार रातिनै भएको खेलमा एट्लेटिको ग्रानाडासँग गोलरहित बराबरीमा रोकिएको हो । अर्को खेलमा गेटाफेले सेल्टा भिगोलाई २–० गोलले हरायो । एजेन्सी