• ७ जेठ २०८१, सोमबार

नवौँ राष्ट्रिय खेलकुदमा ‘एनआरएनए’ छुट्टै टोली

blog

आठौँ राष्ट्रिय खेलकुदको समापन अवसरमा तीन वर्षअघि नेपालगन्ज रंगशालामा नवौँ राष्ट्रिय खेलकुद आयोजनाको झण्डा ग्रहण गर्दै गण्डकी प्रदेशका खेल पदाधिकारी । तस्बिर सौजन्य : विकास कार्की

काठमाडौँ, वैशाख ७ गते । गैरआवासीय नेपालीको संस्था (एनआरएनए) ले गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छुट्टै टोलीको रुपमा भाग लिन लागेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एनआरएनएलाई पनि प्रदेश र विभागीय टोली नेपाल आर्मी, एपएिफ र नेपाल पुलिस क्लब जस्तै छुट्टै टोलीको रुपमा सहभागिताको अवसर दिएको हो । 

छुट्टै टोलीको रुपमा राष्ट्रिय खेलकुदमा सहभागिताको मौका पाउनु विदेशमा बस्दै आएका नेपाली खेलाडीलाई खुशीको कुरा भएको एनआरएनए अन्तर्गत स्पोर्ट्स एकेडेमीका टेक्निकल डाईरेक्टर स्वयम्भूराज डंगोलले जानकारी दिनुभयो । ‘विदेशमा बसेका खेलाडीलाई मौका दिँदा यसले देशको प्रतिष्ठा बढाउँछ । त्यहाँको नयाँ प्रविधिमा अभ्यास गरिरहेका खेलाडीले पछि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि पदक दिलाउन सक्ने सम्भावना बढी छ । यसले अन्तमा नेपाललाई नै फाइदा पुग्ने हो,’ डंगोलले गोरखापत्रसँग भन्नुभयो । 

राखेपसँगको छलफलसँगै एनआरएनएले यसपटक समूह र व्यक्तिगत विधाका विभिन्न १८ वटा खेलमा सहभागिता जनाउन लागेको पनि डंगोलले बताउनुभयो । एनआरएनएलाई यसअघि नेपालगन्जमा आयोजना भएको आठौँ राष्ट्रिय खेलकुददेखि सहभागिताको मौका दिइएको हो । त्यतिबेला पटकपटक प्रतियोगिता सरेका कारण एनआरएनएका १५ जना खेलाडीले तेक्वान्दो, बक्सिङ, पौडी, कराँते, लनटेनिस र ब्याडमिन्टन खेलमा मात्र भाग लिएका थिए । भाग लिएका सबै खेलाडीले पदक जितेका थिए । 

डंगोलका अनुसार यसपटक एनआरएनएबाट १८ खेलमा दुई सय १५ जना खेलाडीले सहभागिता जनाउने तयारी गरेका छन् । केही खेलका खेलाडीले नेपालमै बसेर अभ्यास र तयारी गरिरहेका छन् । एनआरएनएले आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बक्सिङ, चेस, क्रिकेट, फुटबल, जुडो, कराते, लनटेनिस, स्फ्ट टेनिस, पौडी, टेबलटेनिस, भलिबल, तेक्वान्दो, बास्केटबल, उसु र रग्बीमा सहभागिता जनाउने तयारी गरिरहेको छ । केही खेल थपघट हुनसक्ने पनि डंगोलले बताउनुभयो ।

चैत ३० गते  बसेको मन्‍त्रिपरिषद् बैठकले नवौँ राष्ट्रिय खेलकुद आगामी जेठ २२ देखि २८ गतेसम्म गर्ने मिति तय गरेको थियो । सोही अनुसार राखेप अहिले नवौँ राष्ट्रिय खेलकुद आयोजनाको तयारीमा जुटेको छ । राखेपले गण्डकी प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एउटा खेल आयोजना गर्ने गरी तयारी गरेको छ ।

नवौँ राष्ट्रिय खेलकुदमा विभिन्न ३८ खेल समावेश गर्ने प्रस्ताव भएको छ । राखेप सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा हालै बसेको सातवटै प्रदेश खेलकुद परिषद्का सदस्य सचिव, विभागीय टोली एपिएफ, आर्मी र पुलिस तथा नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिसँगको छलफलमा ३८ खेल समावेस गरिने प्रस्ताव भएको हो । यसलाई शुक्रबार बस्ने राखेपको बोर्ड बैठकले अन्तिम टुंगो लगाउने छ । 

राखेपले नवौँ राष्ट्रिय खेलकुदका लागि आइतबार मात्र वैशाख ११ गतेसम्म लोगो, मस्कट, गीत रचना र नारा पेश गर्न सार्वजनिक सूचनामार्फत आव्हान गरेको थियो । प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुद प्रतियोगिता पछिल्लो पटक आठौँ संस्करण २०७५–०७६ मा नेपालगन्ज (हाल लुम्बिनी प्रदेश) मा भएको थियो । एक वर्षअघि २०७७ फागुन २१ देखि २८ सम्म आयोजना हुने तय भएको राष्ट्रिय खेलकुद कोभिड–१९ (कोरोना महामारी) का कारण स्थगित भएको थियो ।