• २८ चैत २०८२, शनिबार

निमित्त प्रधान सम्पादक गौतमको बिदाइ

राइजिङ नेपालको निमित्त प्रधान सम्पादकमा लम्साल

blog

दी राइजिङ नेपालका नवनियुक्त निमित्त प्रधान सम्पादक रमेशकुमार लम्साल (दायाँ) र सेवा निबृत्त हुनुभएका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतम (बायाँ) ।

गोरखापत्र अनलाइन

काठमाडौँ, चैत २८ गते । गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दी राइजिङ नेपालको निमित्त प्रधान सम्पादकमा पत्रकार रमेशकुमार लम्साल नियुक्त हुनुभएको छ । 

यसअघि सो जिम्मेवारीमा रहनुभएका विष्णुप्रसाद गौतम उमेर हदका कारण शनिबारदेखि अनिवार्य अवकाश प्राप्त गर्नुभएपछि लम्साललाई नियुक्त गरिएको हो । 

अध्यक्ष गोविन्दप्रसाद भण्डारीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “तपाईंको लामो समयावधिको पत्रकारिता क्षेत्रको अनुभव र क्षमताले दी राइजिङ नेपाल दैनिकलाई अझ बढी लोकप्रिय, स्तरीय र पठनीय बनाउनमा प्रयोग र प्रतिविम्बित हुने छ भन्ने अपेक्षा एवम् विश्वास लिएको छु । निमित्त प्रधान सम्पादक हुनुभएकोमा हार्दिक बधाई ।” 


तह १० का कार्यकारी सम्पादक लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि चैत २९ गतेदेखि लागु हुनेगरी अंग्रेजी प्रकाशन दी राइजिङ नेपाल दैनिकको निमित्त प्रधान सम्पादक तोकिएको हो । 

नवनियुक्त निमित्त प्रधान सम्पादक लम्सालले पदमा रहँदासम्म पूर्ण इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्पादन कार्य सामूहिक कार्य भएकाले सम्पादकीय समूहमा रहेका सबै पत्रकारको सामूहिक सहयोगको आशा व्यक्त गर्नुभयो । 

सो अवसरमा गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक रामप्रसाद आचार्य र राइजिङ नेपालमा कार्यरत पत्रकार मञ्जिमा ढकालले नवनियुक्त प्रधान सम्पादकलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै, बिदाइ हुनुभएका गौतमको भाबी जीवन सुखद रहोस् भनी शुभकामना दिनुभयो । संस्थान प्रवर्धनमा उहाँले खेल्नुभएको भूमिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो । 


गौतमको बिदाइ

त्यसैगरी शनिबारसम्म कायम रहनुभएका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतमको आज बिदाइ गरिएको छ । अध्यक्ष भण्डारीले गौतमलाई बिदाइ गर्नुहुँदै उहाँको आगामी दिन झन सुखद रहोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँलाई मायाको चिनो प्रदान गर्दै उहाँले गौतमले संस्थानमा दिनुभएको योगदानको प्रशंसा गर्नुभयो ।

सेवा निबृत्त हुनुभएका गौतम २०५३ माघ १ गतेदेखि तह ६ मा सेवा प्रवेश गर्नुभएको थियो । उहाँले संस्थानमा २९ वर्ष २ महिना २७ दिन सेवा गर्नुभयो । संस्थानका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको बिदाइ कार्यक्रममा गोरखापत्र संस्थान सञ्चालक समितिका सदस्यद्वय सुरथ पोखरेल, लक्की चौधरी सहभागी हुनुहुन्थ्यो । त्यस्तै, विभागीय प्रमुखहरू ताराबहादुर बस्याल, डिजिटल संयोजक नारदमुनि गौतम, विवेकानन्द मिश्रसहित पत्रकार तथा कर्मचारीहरूको सहभागिता थियो ।