• २८ चैत २०८२, शनिबार

टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु छोरा गम्भीर घाइते

blog

सिराज खान

नेपालगन्ज, चैत २८ गते । बाँके जिल्लाको कोहलपुर-१५, अक्कलघरवामा मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा शनिबार भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ भने चालक युवक गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार शनिबार बिहान करिब १० बजे कोहलपुर १५ अक्कलघरवाको भित्री सडकमा मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार जाजरकोट छेडागाउ नगरपालिका ५ का ५७ वर्षीया देवीसरा रावतको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक उहाँका छोरा सुदिप रावत गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दीपक पातलीका अनुसार गुरुवा गाउँदेखि हवलदारपुरतर्फ गइरहेको कर्णाली प्रदेश ०२–००१ ब ०३६१ नम्बरको मोटरसाइकललाई हवलदारपुरबाट गुरुवागाउतर्फ गइरहेको भे. १ ख. ३२३२ नम्बरको टिप्परले अक्कलघरवामा ठक्कर दिएको थियो । 

मोटरसाइकलमा आमालाई बसालेर गइरहेको अवस्थामा भएको दुर्घटनामा परेर आमाको घट्नास्थमै मृत्यु भएको र छोरा गम्भीर घाइते भएको प्रहरी नायब उपरिक्षक पातलीले बताउनुभयो । 

उहाँले दुर्घटनामा गम्भीर घाइते भएका सुदिप रावतको उपचार नेपालगन्जस्थित सन्जिवनी अस्पतालमा भइरहेको जनाउँदै रावतको छाती र टाउकोमा गम्भीर चोट लागेको बताउनुभयो । 

दुर्घटनापछि फरार भएका टिप्परका चालक बाँके राप्ती सोनारी-९ निवासी टेकबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेर आवश्यक कानुनी कारबाही र अनुसन्धान सुरु गरेको पनि बाँकेका प्रहरी प्रवक्ता पातलीले बताउनुभयो ।