गाजा , प्यालेस्टिनी क्षेत्र, चैत २८ गते । गाजाको नागरिक रक्षा तथा उद्धार सेवाले शनिबार प्यालेस्टिनी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा परी सात जनाको मृत्यु भएको बताएको छ । अल-बुरेज शरणार्थी शिविरमा रहेको प्रहरी चौकी नजिकै इजरायलले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।
मध्य गाजाको अल-अक्सा अस्पतालमा छ जनाको शव आएको र सात जना घाइते उपचारको लागि आएको उल्लेख गरिएको छ भने घाइते मध्य चार जनाको अवस्था गम्भीर रहेको बताएको छ । नजिकैको अल-अवदा अस्पतालमा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको बताइएको छ । सन् २०२३ देखि सुरु भएको सीमापार आक्रमणको दुई वर्ष पछि अक्टोबर–१० देखि लागु भएको युद्धविराम उल्लङ्घन गरेको आरोप इजरायल र हमासले एक अर्कालाई लगाउँदै आएका छन् ।
युद्धविराम सुरु भए देखि कम्तिमा ७३८ प्यालेस्टिनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबिच इजरायली सेनाले युद्धविराम सुरु भए देखि पाँच जना सैनिक मारिएको जनाएको छ । गाजामा मिडिया प्रतिबन्ध कारण अन्तर्राष्ट्रिय प्रेसलाई अझै पनि इजरायली अधिकारीले प्रवेश गर्न प्रतिबन्ध लगाएको एएफपीले जनाइएको छ ।रासस/एएफपी