• २८ चैत २०८२, शनिबार

हक्कीको राष्ट्रिय टिम र जर्सी सार्वजनिक

blog

राष्ट्रिय पुरुष र महिला हक्की टिमले लगाउने जर्सी सार्वजनिक गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौँ, चैत २८ गते । नेपाली राष्ट्रिय हक्की टिम र खेलाडीले लगाउने जर्सी सार्वजनिक गरिएको छ ।

नेपाल हक्की सङ्घले शुक्रबार एक कार्यक्रमबिच पुरुष र महिलामा समान २६/२६ खेलाडीसहित राष्ट्रिय टिमले लगाउने जर्सी सार्वजनिक गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राम चरित्र मेहता र नेपाल हक्की सङ्घका अध्यक्ष अनिल प्रसाद शर्माले संयुक्त रुपमा जर्सी अनावरण गर्नुभयो । 

हक्की सङ्घले पुरुष टिमका लागि रातो र महिला टिमका लागि पिङ्क रङको जर्सी तयार गरेको छ । जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव मेहताले सङ्घले हक्की खेलको विकास र विस्तारका लागि गरेको काम प्रशंसा योग्य रहेको बताउनुभयो ।

मेहताले राखेपले हक्की खेलको विकास र पूर्वाधार निर्माणका लागि सक्दो सहयोग गर्दै आएको पनि बताउनुभो । उहाँले सरकारको सहयोगले मात्र खेलको विकास असम्भव भएको उल्लेख गर्दै निजि क्षेत्रलाई पनि समेटेर अगाडि बढ्नु पर्ने धारणा राख्नुभयो । 

यस्तै नेपाल हक्की सङ्घका महासचिव एवं राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठले हक्की सङ्घले राष्ट्रिय टिमको जर्सी सार्वजनिक गर्दै नयाँ थालनी गरेको र आगामी दिनमा यसले हक्की खेलको बारेमा राम्रो सन्देश दिने बताउनुभयो ।  उहाँले आगामी दिनमा जर्सीका लागि प्रायोजक खोज्ने योजना रहेको जानकारी पनि दिनुभयो । 

सङ्घको पहलमा काभ्रेको धुलिखेलमा हक्कीका लागि छुट्टै स्टेडियम बनाउने तयारी भईरहेको छ । जग्गा प्राप्तिसँगै डिपिआर समेत तयार भएकोले सरकारको थप लगानीमा निर्माण कार्यले पूर्णता पाउने पनि सङ्घको विश्वास छ ।

सङ्घले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्न र खेलाडीलाई तयारी अवस्थामा राख्न महिला र पुरुषको राष्ट्रिय टिम तयार गरेको हो । 

गत फागुनमा काठमाडौँमा भएको राष्ट्रिय हक्की प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनका आधारमा पुरुष र महिलामा २६/२६ खेलाडीको सूची तयार पारिएको महासचिव श्रेष्ठले जानकारी लिनुभयो । 

हक्की महिला टिम 

महिला टिमकी कप्तानमा अंकिता अधिकारी हुनुहुन्छ । यस्तै गोलकिपरमा संजुमगर, खुश्वु रान र मधुकुमारी हुनुहुन्छ । फरवार्डमा प्रनिता पुडासैनी, आशीका मण्डल, नमिता एस के, बन्दना भट्ट, अन्जली कर्माकर, बविता उराव र मुस्कान राना हुनुहुन्छ ।

मिडफिल्डमा सितामाया बल, अंकिता मुखिया, गिता पुनमगर, करुणा ठगुन्ना, नीरुता गिरी, सविता राजवंशी, लक्ष्मनिया कुमारी दास, पूर्णीमा नेगी र सपना स्याङवो रहनुभएको छ ।

यस्तै डिफेन्समा सोनु वराल, संजिता श्रेष्ठ,विमु नेपाली, संजु चौधरी, सर्मिला कुमारी र कृति पुलामी छनोट हुनुभएको छ । 

पुरुष टिम 

पुरुष टिमको कप्तानमा कुशल नेपाली रहनुभएको छ । गोलकिपरमा जोशन राई, विवेक जोशी र उज्ज्वल राजवैशी हुनुहुन्छ ।

फरवार्डमा असिम बाहिक, सुदिप चौधरी, बिशु घिमिरे, महेश नेपाली, भरत टमटा, रोनस के यादव र अनिश खड्का रहनुभएको छ । मिडफिल्डमा आयुष शाह, पुरुषोत्तम महतो, मोहन पुन, उमेश श्रेष्ठ, जयन्त बडु, मनिष भट्ट, रोमन राजवंशी हुनुहुन्छ ।

डिफेन्समा सुजन बोगटी, सौरभ दंगाल, मानकेश्वर साह, विवेक गुरुङ, निशान्त भट्ट, रोहित राजवंशी, संगम घर्तीमगर र अमिन सापकोटा छनोट हुनुभएको छ ।