लीलाधर वली
घोराही, चैत २८ गते । दाङको घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत शनिबार बिहान सेमिफाइनल खेल हुने भएका छन् ।
प्रतियोगिताको पुरुषतर्फ फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा गुल्मी र रुपन्देहीबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनल खेलमा नवलपरासी र प्युठान आमनेसामने हुनेछन् । शुक्रबार भएको क्वाटरफाइनल खेलमा गुल्मीले रोल्पा, रुपन्देहीले अर्घाखाँची, नवलपरासीले रुकुम पूर्व र प्यूठानले पाल्पालाई हराउँदै सेमिफाइनल प्रवशे गरेका थिए ।
बिहान ८ बजेदेखि सुरु हुने खेलमा महिलातर्फ पहिलो सेमिफाइनलमा रुकुम पूर्व र रुपन्देहीबिच खेल हुने तय भएको छ भने दोस्रो सेमिफाइनलमा पाल्पा र बर्दियाबिच प्रतिस्पर्धा हुने प्रदेश खेलकुद परिषद् लुम्बिनीले जनाएको छ । क्वाटरफाइनलतर्फ रुकुम पूर्वले दाङ, रुपन्देहीले बाँके, पाल्पाले रोल्पा र बर्दियाले गुल्मी जिल्लाको भलिवल टिमलाई हराउँदै सेमिफाइनमा पुगेका थिए ।
बिहान सेमिफाइनल खेलमा जित्ने टिमहरु दिउँसो फाइनलमा उपाधिका लागि भिड्ने भएका छन् । प्रतियोगिताको बिजेता टिमले नगद एक लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद ६५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र गर्नेछन् ।
यसैगरी, तेश्रो हुने टिमले ४० हजार र चौथो हुने टिमले ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ठ खेलाडीलाई नगद दस हजार र विधागत रुपमा पाँच जना खेलाडीलाई नगद ५/५ हजार रुपियाँसहित पुरस्कृत गरिने प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनराज गौतमले जानकारी दिनुभएको छ ।