गोविन्द शर्मा
बाँके, चैत २७ गते । बाँकेको खजुरामा पहिलोपटक खजुरा गोल्डकप आयोजना हुँदैछ । लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको खजुरा डि गाउँस्थित मिनी रङ्गशालामा पहिलोपटक गोल्डकप हुन लागेको आयोजक न्यु डाँफे स्पोर्टस क्लवका अध्यक्ष बालाराम खत्रीले जानकारी दिनुभयो ।
क्लवका अध्यक्ष खत्रीले भन्नुभयो, ‘‘खजुरा गोल्डकपका लागि यहाँका स्थानीय अगुवाहरुको साथ र समर्थनले हौसला प्रदान गरेको छ, यसबाट गाउँमा पनि भव्य प्रतियोगिता सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिनेछौं ।’’
प्रतियोगितामा गोरखा ब्वाईज स्पोर्टस क्लव बुटवल, संकटा स्पोर्टस क्लव काठमाडौँ, एपिएफ काठमाडौँ, फोर ब्रदर्श एफसी नवलपरासी, काँक्रेविहार क्लव सुर्खेत, नाईजेरियन जोन क्लव नाइजेरिया र जेविएम फुटबल एकेडेमी लखनउ भारतका गरी आठ टोलीको सहभागिता रहेको छ । चैत ३० गतेदेखि हुने प्रतियोगिताको फाइनल खेल वैशाख ६ गते हुनेछ ।
गोल्डकपको विजेताले नगद सात लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, उपविजेताले चारलाख रुपियाँ नगद प्राप्त गर्नेछ । खजुरा गाउँपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद लगायत स्थानीय दाताहरुको सहयोगमा गोल्डकपको आयोजना हुन लागेको हो । करिब ६० लाखको लागतमा गोल्डकप आयोजना गर्न लागिएको क्लवले जनाएको छ ।