• १६ असार २०८१, आइतबार

राष्ट्रिय बक्सिङ : चन्द्रकला र नाङजा सेमिफाइनलमा

blog

वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप

काठमाडौँ, वैशाख ७ गते । नेपाल आर्मी क्लबकी चन्द्रकला थापा र एपिएफकी नाङजा बुढामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । बसन्तपुर डबलीमा जारी प्रतियोगितामा चन्द्रकलाले स्वस्तिका तिरुवा तथा नाङजाले लुम्बिनी प्रदेशकी जानकी थापामगरलाई पराजित गर्नुभयो । 

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको महिला ५१ केजीमा एपिएफकी सन्जुमाया थिङले कर्णाली प्रदेशकी आरती विक तथा नेपाल प्रहरीकी दिवाना शेर्माले गण्डकी प्रदेशकी अस्मिता थापालाई हराउँदै सेमिफाइनलमा स्थान बनाउनुभयो । महिला ६० केजीमा बाग्मती प्रदेशकी शशिकला राईले गण्डकीकी जोशिका श्रेष्ठ तथा आर्मीकी संगिता डंगोलले कर्णालीकी मनीषा मगरको चुनौती समाप्त पार्दै सेमिफाइनल यात्रा तय गर्नुभएको छ । 

यसैगरी पुरुष ६३ केजीमा प्रहरीका भूपेन्द्र थापामगरले मधेश प्रदेशका रावन अलीलाई पन्छ्याउदै सेमिफाइनलमा पुग्नुभएको छ । सोही स्पर्धामा एपिएफका सोनाम सार्की पनि सेमिफाइनलमा पुग्नुभएको छ । उहाँले गण्डकीका निश्चल गुरुङमाथि जित निकाल्नुभयो । पुरुष ६९ केजीमा प्रहरीका सनिल शाहीले एपिएफका विक्रम चौधरी तथा सुदूरपश्चिम प्रदेशका भरत चन्दले कर्णालीका प्रशान्त लामालाई पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गर्नुभयो । 

भूपेन्द्र र सनिल १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुनुहुन्छ । पुरुष ५२ केजीमा आर्मीका प्रेम चौधरीले गण्डकीका आकाश राना र प्रहरीका चन्द्रबहादुर थापाले प्रदेश १ का धर्मेन्द्र राई तथा ५७ केजीमा प्रहरीका शम्भु राजवंशीले प्रदेश १ का भुगोल लिम्बू र आर्मीका इन्द्र सुनारले कर्णालीका पारस शाहीलाई निराश पार्दै सेमिफाइनलमा स्थान बनाउनुभयो । 

पुरुष ७५ केजीमा आर्मीका दिपेश लामाले बाग्मतीका निश्चल विष्ट र मधेसका कोसिश श्रेष्ठले एपिएफका झलक रोक्का तथा ८१ केजीमा आर्मीका दीपक श्रेष्ठले एपिएफका साजन तामाङलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्नुभयो । पुरुष ९१ केजीमा एपिएफका रविन नेपालले मधेशका विजय राजभण्डारीलाई पाखा लगाउँदै सेमिफाइनलमा पुग्नुभयो । सोही स्पर्धामा गण्डकीका किरन विकले लुम्बिनीका केशर खत्रीवाट वाकओभर पाउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो ।