प्रमुख बन्न प्रदेशसभाद्वयको राजीनामा
प्रदेश १ का दुई जना प्रदेशसभा सदस्यहरुले आइतबार पदबाट राजीनामा दिनुभएको छ । नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्यहरुले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न सांसद पदबाट राजीनामा दिनुभएको छ ।
जनकपुर उपमहानगरपालिकामा जसपाबाट लालकिशोर उम्मेदवार
जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालले लालकिशोर साहलाई उम्मेदवार बनाएको छ ।
काँग्रेसको निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठ)
पार्टी कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
ओखलढुङ्गामा काँग्रेसले उम्मेदवार टुङ्ग्यायो
नेपाली काँग्रेस ओखलढुङ्गाले जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । काँग्रेसले एक नगरपालिका र सात गाउँपालिकाको प्रमुख–उपप्रमुख पदको उम्मेदारहरुको नाम टुङ्ग्याएको हो ।
ललितपुर १० को वडाध्यक्षमा नरसिंह व्यञ्जनकारको उम्मेदवारी दर्ता
ललितपुर महानगरपालिका–१० का नरसिंह व्यञ्जनकारले ११ औँ पटक उम्मेदवारी दर्ता गर्नुभएको छ । दशौँ पटकसम्म चुनाव जित्नुभएको व्यञ्जनकारले आइतबार वडाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
भक्तपुरमा देकोनिभा ईततापाको जग्गा एकीकरण पीडित संघर्ष समितिबाट उम्मेदवार मनोनयन
भक्तपुर, वैशाख ११ गते । भक्तपुर नगरपालिकाको नगरप्रमुखको लागि देकोनिभा ईततापाको जग्गा एकीकरण पीडित संघर्ष समितिले आफ्नो उम्मेदवार मनोनयन दर्ता गरेको छ । नगरप्रमुखमा सो समितिको तर्फबाट सत्यराम त्वायनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।यस्तै सो समितिले भक्तपुर नगरपालिको वडा नम्बर २ मा शन्तज्ञान याकमी र वडा नम्बर ६ मा रामकृष्ण कुम्पाखले वडाध्यक्ष पदको लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
घोराहीको प्रमुखमा मालेबाट पाण्डेयको पहिलो उम्मेदवारी
लिलाधर वली घोराही, वैशाख, ११ गते । वैशाख ३० गते हुन थालेको स्थानीय तह निर्वाचनका लागि दाङमा उम्मेदवारी दर्ता सुरु भएको छ । जिल्लाका दशवटै स्थानीय तहहरुमा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, वडाहरुमा वडा अध्यक्ष र सदस्यका लागि उम्मेदवारी दर्ताको काम सुरु भएको हो । जस अनुसार घोराही उपमहानगरपालिकाको मेयरमा पहिलो उम्मेदवारका रुपमा मालेबाट नेत्रप्रकाश पाण्डेय र उपमेयरमा राधिका क्षेत्रीले उम्मेदवारी दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ताका लागि दिएको समय अनुसार मुख्य निर्वाचनअधिकृतको कार्यालय पुगेर पाण्डेय र क्षेत्रीले ११ बजे तिर उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँहरुलाई मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले उम्मेदवारी दर्ताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । उम्मेदवारी दर्ता गराएसँगै पाण्डेय र क्षेत्री घोराही उपमहानगरपालिकामा मेयर÷उपप्रमुखका लागि उम्मेदवारी दर्ता गराउने पहिलो मेयर र उपमेयरको उम्मेदवार भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभएको छ । घोराही उपमहानगरपालिका–१२ निवासी मेयरका उम्मेदवार पाण्डेयको प्रस्तावका गोबिन्द केके र समर्थकमा शोभा पाण्डे रहनुभएको छ भने वडा नं. १७ निवासी उपमेयरका उम्मेदवार क्षेत्रीको प्रस्तावमा निर्मलादेवी केसी र समर्थकमा गोविन्द केके रहनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पाण्डेय २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि घोराही उपमहानगरपालिकाको मेयर उम्मेदवारी दिनुभएको थियो । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि उपलव्ध गराएको दुई दिनको समय अनुसार जिल्लामा पहिलो दिन साना दललाई उम्मेदवार दर्ताको समय दिएको छ । प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस पार्टी, नेकपा एमाले पार्टी, नेकपा माओवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीलाई उम्मेदवारी दर्ताका लागि बैशाख १२ गते दोश्रो दिन समय निर्धारण गरिएको छ । जस अनुसार जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात वटा गाउँपालिकाहरुमा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, एक सय वडाहरुमा वडा अध्यक्ष र सदस्यका लागि उम्मेदवारी दर्ता गराउने काम भैरहेको छ । निर्वाचनका लागि साना दलहरुले उम्मेदवार तयार गरेपनि प्रमुख दलहरुले केही स्थानीय तहहरुमा अझैसम्म उम्मेदवार चयन गर्न सकेका छैनन् ।
रौतहटका चार नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुख पदमा उम्मेदवार
रौतहट, वैशाख ११ गते । रौतहटको चन्द्रपुर, वृन्दावन, गुजरा र इशनाथ नगरपालिकामा नेपाली काँग्रेसले प्रमुख पदमा टिकट टुङ्ग्याएको छ । काँग्रेसले चन्द्रपुर नगरपालिकाको मेयरमा सञ्जयकुमार काफ्लेलाई उम्मेदवारी दिएको छ । उम्मेदवार काफ्ले २०७४ सालको निर्वाचनमा चन्द्रपुर–५ का वडा अध्यक्ष बन्न सफल हुनु भएको थियो । यसैगरी, वृन्दावन नगरपालिकाको प्रमुखमा प्रेमशंकर यादव, गुजरामा शेख मोहिबुल हक र इशनाथ नगरपालिकामा अन्जु झाको उम्मेदवारी टुङ्गिएको नेपाली काँग्रेस जिल्ला सभापति सुनिल यादव (जितेन्द्र)ले जानकारी दिनुभयो । सभापति यादवका अनुसार १८ वटा पालिका रहेको रौतहटमा बाँकी पालिकाको मेयर टुङ्ग्याउन छलफल भइरहेको छ । आज साँझसम्म प्रमुख र उपप्रमुखमा सबै टुङ्गो लाग्ने छ ।
जनकपुरधाम उपमहानगरपालिकामा मनोनयन दर्ता शुरु
लक्ष्मी चौधरी जनकपुरधाम, वैशाख ११ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता शुरु भएको छ ।धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकास्थित निर्वाचन कार्यालयमा आइतबार बिहान करिब ११ बजेदेखि मनोनयन दर्ता प्रक्रिया शुरु भएको हो । जनकपुरधाममा उपप्रमुखका लागि उमेश चौधरीले स्वतन्त्रबाट मनोनयन दर्ता गराउनुभएको छ । स्थानीय निर्वाचनका लागि अहिलेसम्म स्वतन्त्र उम्मेदवारहरुले मात्र मनोनयन दर्ता गराएका छन् । दर्ता गराउनेमा जनकपुरधाम २३ का निलम्बर झाले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ भने वडा न.ं २२ बाट शत्रुधन ठाकुर र वडा ३ बाट दीपेन्द्र साहले दर्ता गराउनु भएको छ । यस्तै, वडा नं २४ मा तराई मधेश लोकतान्त्रिक पार्टीबाट भागिरथलाल कर्णले अध्यक्षको लागि दर्ता गराउनु भएको छ । यस्तै, वडा नं. २० मा अध्यक्षका लागि हमिद कबारी मनोनयन दर्ता गराउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिकामा २५ वटा वडा रहेको छ । जनकपुरधाम उपमहानगरपालिकामा मनोनयन दर्ता शुरु भएको छ ।
धनगढीको प्रमुखका लागि स्वतन्त्र उम्मेदवार हमालद्वारा मनोनयन दर्ता
अविनाश चौधरीधनगढी, वैशाख ११ गते । स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढी उपमहानगरपालिकाको प्रमुखका लागि आज मनोनयन दर्ता गराउनुभएको छ । बाजागाजा र नाचगानसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । हमालसँगै विभिन्न वडाको वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएकाहरुले पनि मनोनयन दर्ता गराउनुभएको छ । धनगढीको ट्राफिक चौराहाबाट ¥यालीसहित स्वतन्त्र उम्मेदवार हमाल आफ्नो उम्मेदवारी दर्ता गराउन प्रमुख निर्वाचन अधिकृतको कार्यालयसम्म पुग्नु भएको थियो । उहाँको ¥यालीमा मान्छेको सहभागिता कुनै दलकोभन्दा कम थिएन । ¥यालीमा सहभागी भएका कतिपयले हमालकै मुखौटासमेत लगाएका थिए । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिदैँ हमालले बाँडीचुँडी खाने प्रवृतिकाविरुद्ध आफ्नो उम्मेदवारी रहेको प्रतिक्रिया दिनुभयो । व्यवसायिक पृष्ठभूमिका उहाँले आफू मेयरमा निर्वाचित भएमा पाँच वर्षसम्म राज्य कोषबाट मेयरले पाउने कुनै पनि सेवा सुविधा नलिएर धनगढीको विकासका लागि स्वयम् सेवकको रुपमा काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । यसअघि, २०७४ को निर्वाचनमा पनि उहाँले स्वतन्त्रबाटै धनगढीको मेयरमा चुनाव लड्नु भएको थियो । उहाँ दुई हजार ७९७ मतान्तरले नेपाली काङ्ग्रेसका उम्मेदवारसँग पराजित हुनु भएको थियो । हमालले ११ हजार ५२७ मत प्राप्त गर्नुभएको थियो भने, विजयी हुनुभएका नेपाली काङ्ग्रेसका उम्मेदवार नृपबहादुर वडले १४ हजार ३२४ मत प्राप्त गर्नुभएको थियो ।
रेसुङ्गा नगरपालिकामा पन्थीलाई उम्मेदवार बनाउने काँग्रसको निर्णय
गुल्मी नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको लागि रेसुङ्गा नगरपालिका प्रमुखमा खिलध्वज पन्थीलाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राप्रपा पनि सत्ता गठबन्धनको चुनावी तालमेलमा
राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपामा पनि झापामा गठबन्धनको चुनावी तालमेलमा सहभागी बनेको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले नगर प्रमुखको उम्मेद्वार सहित दुई वटा वडाध्यक्ष पाउनुपर्ने शर्तसहित तालमेलमा सहभागी भएको हो ।
ओखलढुङ्गा एमालेले टुङ्ग्यायो उम्मेदवार
नेकपा एमालेले ओखलढुङ्गाले जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदारहरुको नामावालीमध्येबाट प्रदेश कमिटीले सबै स्थानीय तहका प्रमुख र उपप्रमुखलगायतको उम्मेदवारको टुंगो लगाएको हो ।
एमाले बाजुराले लगायो उम्मेदवार टुङ्गो
नेकपा एमाले बाजुराले जिल्लाका नौ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेकपा एमाले बाजुराले जिल्लाका नौ वटै स्थानीय तहका लागि प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाअध्यक्ष पदको टुङ्गो लगाएको हो ।
सिन्धुलीमा गठबन्धनद्वारा गाँउपालिका उम्मेदवार तय
सिन्धुलीमाढी, वैशाख ११ गते । सिन्धुली जिल्लामा स्थानीय तहको प्रमुख र उप–प्रमुख पदमा सत्ता गठबन्धनका राजनीतिक दलले भागबण्डा अनुसार उमेद्वार टुङग्याएका छन् ।नौ वटा स्थानीय तह मध्ये नेपाली काँग्रेसले पाँच वटा पालिकामा प्रमुख र चार वटा पालिकामा उप–प्रमुख पाएको छ । नेकपा (माओवादी केन्द्र)ले चार वटा पालिकामा प्रमुख र पाँच वटा पालिकामा उप–प्रमुख पाएको छ ।भागवण्डा अनुसार नेपाली कांग्रेसले पाएको पालिका अध्यक्षमा गोलन्जोर गाँउपालिकामा पुष्पबहादुर कार्की, फिक्कल गाँउपालिकामा नृपबहादुर भुजेल, घ्याङलेख गाँउपालिकामा जगतबहादुर भोलन र तीनपाटन गाँउपालिकामा कर्णबहादुर थापामगरले टिकट पाएको नेपाली काँग्रेस सिन्धुलीका सभापति उपेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो । त्यस्तै, नेपाली काँग्रसले उपाध्यक्ष पाएको पालिकाहरुमा सुनकोसी गाँउपालिकामा कपिल कोइराला, मरिण गाँउपालिकामा बिमला माझी, हरिहरपुरगढी गाँउपालिकामा बमबहादुर स्याङ्वाले टिकट पाएको उहाँले बताउनुभयो । उहाँका अनुसार नेपाली काँग्रेसको भागमा परेको कमलामाई नगरपालिकाको प्रमुख र दुधौली नगरपालिकाको उप–प्रमुखको उम्मेदवार भने आइतबार बेलुकासम्म प्रदेशले टुंग्याउने भएको छ । गठबन्धनकै अर्को ठूलो दल नेकपा (माओवादी केन्द्र)ले भने भागवण्डा अनुसार सबै पालिकाको प्रमुख र उप–प्रमुखको उम्मेदवार टुङग्याएको छ । माओवादी केन्द्रले दुधौली नगरपालिकाको नगर मेयरमा दिनेश अधिकारी दनुवारलाइ उम्मेदवार बनाएको छ । कमलामाई नगरपालिकाको उम–मेयरमा दीर्घराज श्रेष्ठलाई उठाएको छ । उक्त पार्टीले मरिण गाउपालिकाको अध्यक्षमा विमर्श मोक्तान, हरिहरपुरगढी गाउपालिकाको अध्यक्षमा बज्रध्वज वाइवा र सुनकोसी गाँउपालिकाको अध्यक्षमा दीपा बोहोरा दाहाललाइ उम्मेदवार बनाएको नेकपा माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष लेखनाथ दाहालले जानकारी दिनुभयो । त्यस्तै, नेकपा माओवादी केन्द्रले उपाध्यक्ष पाएको पालिकाहरुमा उक्त पदमा तीनपाटन गाँउपालिकमा अशोक पुलामी, फिक्कल गाँउपालिकामा लोकेन्द्र कार्र्की, गोलन्जोर गाउपालिकामा ज्वालाप्रसाद न्यौपाने र घ्याङलेख गाउपालिकामा शंकरमान घलानलाई उम्मेदवार बनाएको उहाँले बताउनुभयो । ७९ वडाका अध्यक्ष र सदस्य भागबण्डामा भने गठबन्धन दल बीच कुरा अझै मिलेको छैन । गठबन्धनमा रहेका राजनीतिक दल र प्रमुख प्रतिपक्षि नेकपा एमालेले अझै केही उम्मेदवार मिलाउन बाँकी रहेकोले सोमबार सबै पालिकामा उमेद्वारी दर्ता गर्ने जनाएका छन् ।
गठबन्धनमा सहमति जुट्यो, ८० प्रतिशत प्रमुख कांग्रेसलाई
ध्यान कुलुङसङ्खुवासभा, बैशाख ११ गते । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने भनेका तीन दलले गठबन्धनका लागि सहमति जुटाएका छन् । भाग बण्डा नमिलेको भन्दै विज्ञप्ति नै निकालेर गठबन्धनको सम्भावना टरेको बताएको दलहरुले अन्ततः सहमति जुटेको विज्ञप्ती मार्फत जानकारी गराएका छन् । जिल्लाको दश स्थानीय तह मध्ये सात वटा स्थानीय तहमा गठबन्धन गर्ने बाँकी तीन स्थानीय तहमा मैत्रिपुर्ण प्रतिष्पर्धा गर्ने सहमति गरेका हुन् । सात स्थानीय तह मध्ये पाँच स्थानमा नेपाली कांग्रेस र बाँकी दुई स्थानीय तहमा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी प्रमुख पदमा उमेद्वार बनाउने सहमति भएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । जिल्लाको मादी नगरपालिका नेकपा (माओवादी केन्द्र) र भोटखोला गाउँपालिका नेकपा (एकिकृत समाजवादी) लाई प्रमुख पद दिएर बाँकी पाँच स्थानमा नेपाली कांग्रेस निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् । खाँदबारी नगरपालिका, चैनपुर नगरपालिका, धर्मदेवी नगरपालिका, पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिकामा नेपाली कांग्रेस प्रमुख पदमा प्रतिष्पर्धा गर्ने भएका छन् । चैनपुर र खाँदबारी नगरपालिकामा माओवादी केन्द्रलाई उपप्रमुख पद दिईएको छ भने सभापोखरी गाउँपालिकामा एकिकृत समाजवादीलाई उक्त पद दिईएको छ । जिल्लाको मकालु गाउँपालिका, चिचिला गाउँपालिका र सिलिचोङ गाउँपालिकामा मैत्रीपूर्ण प्रतिष्पर्धा गर्ने सहमति जुटेको नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खङ्काले जानकारी दिनुभयो । उक्त स्थानीय तहहरुमा एक्लाएक्लै चुनाव लड्ने सहमति भएको सभापति खड्काले जानकारी दिनुभयो । उक्त पालिकाहरुमा गठबन्धन बाहेकका अन्य दलसँग तालमेल नगर्ने सहमति भएको समेत उहाँले जानकारी दिनुभयो । सङ्खुवासभामा रहेको ७६ वटा वडा मध्ये ६० वटा वडामा गठबन्धन गर्ने सहमति भएको हो । त्यस मध्ये ४६ वटा कांग्रेस, छ वटा माओबादी केन्द्र, पाँच वटा एकिकृत समाजवादी र तीन वटा जनता समाजबादीको भागमा परेको छ ।पाँच नगरपालिका र पाँच गाउँपालिका गरि दश स्थानीय तह रहेको सङ्खुवासभामा अघिल्लो स्थानीय तहको चुनावमा पाँच स्थानमा नेपाली कांग्रेस र पाँच स्थानमा नेकपा एमालेले प्रमुख पद जितेका थिए । यस पटक सङ्खुवासभामा कुनै दलसँग गठबन्धन नगरी नेकपा एमाले चुनाव लड्ने भएका छन् । नेकपा एमालेले यस अघि नै दश वटै स्थानीय तहको उमेद्वार घोषणा गरिसकेका छन् ।
कपिलवस्तु र अर्घखाँचीमा गरी ३२५ बढी जनप्रतिनिधिले दिए राजिनामा
कपिलवस्तु/अर्घखाँची, वैशाख ११ गते । स्थानीय निर्वाचनमा उम्मेदवार दिनका लागि कपिलवस्तु र अर्घखाँचीमा गरी ३२५ बढी जनप्रतिनिधिले राजिनामा दिएका छन् । कपिवस्तुका १० स्थानीय तहका ५१३ मध्ये हाल सम्म २ सय २१ जनप्रतिनिधिले राजिनामा दिनु भएको छ । विजयनगर र कृष्णनगर गाउँपालिका बाहेकका पालिकामा जनप्रतिनिधिले शुक्रवार राजिनामा पेस गरेका छन् । हाल सम्म महाराजगन्ज नगरपालिकाका नगरप्रमुख अव्दुल कलाम मुसलमान, यशोधरा गाउँपालिकाका अध्यक्ष ग्रिजेश कुमार पाण्डे, मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरीले राजिनामा दिनु भएको छ । यसै गरी ४ नगर उप–प्रमुख र २ गाउँपालिका उपाध्यक्षले समेत राजिनामा दिनु भएको छ । हाल सम्म कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका जनप्रतिनिधिको राजिनामा आउन सकेको छैन । यसै गरी ४८ जना वडा अध्यक्ष र १६४ वडा सदस्यले राजिनामा दिनु भएको छ । महाराजगन्ज नगरपालिका, कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाका धेरै जनप्रतिनिधिले राजिनामा दिनु भएको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा ५६ जन प्रतिनिधिले राजिनामा दिएका छन् । नगरपालिकामा राजिनामा नदिनेमा २ वडा सदस्य मात्र रहेका छन् । नगरप्रमुख अव्दुल कलाम मुसलमान, उपप्रमुख शुभावती कुर्मी सहित ११ वडाका वडा अध्यक्षले राजिनामा दिनु भएको छ । नगरप्रमुखले उपप्रमुख र उपप्रमुखले प्रमुख सँग राजिनामा दिनु भएको थियो । यसै गरी कपिलवस्तु नगरपालिकाको उपमेयर सहित ४८ जना जनप्रतिनिधिले राजिनामा दिनु भएको छ । नगरपालिकामा कुल ६४ जना जनप्रतिनिधि रहनु भएको थियो । यशोधरा गाउँपालिकामा ४२ मध्ये ३९ जना जनप्रतिनिधिले राजिनामा दिनु भएको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष र सबै वडा अध्यक्षले राजिनामा दिनु भएको हो । यता अर्घाखाँचीमा पनि १२५ जनप्रतिनिधिले राजिनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानिय तहको चुनावमा पुनः उम्मेदवारीको आकाङ्क्षा राख्दै मेयर, वडा अध्यक्षसहित १२५ जना जनप्रतिनिधिले राजिनामा दिएका हुन् । निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ अनुसार बहालवाला जनप्रतिनिधिले पालिकाको कुनै पनि पारिश्रमिक, सुविधा पाउने गरी लाभको पदमा नरहेको हुनुपर्ने र उम्मेदवारी दिनुअघि नै राजिनामा दिनुपर्ने व्यवस्था गरेको छ । १२ वटा वडा रहेको सन्धिखर्क नगरपालिकाका २२ जना जनप्रतिनिधिहरुले पुनः उम्मेद्वार बन्न पदबाट राजिनामा दिएका छन् । सन्धिखर्क नगरपालिकाका प्रमुख सहित वडा अध्यक्ष, वडा सदस्य गरी २२ जनाले पदबाट राजिनामा दिए ।यस्तै शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी उपप्रमुख टीका रेस्मी लगायत १३ वडा अध्यक्ष सहित ४४ जनाले, भूमिकास्थान नगरपालिकाका मेयर रेशम थापा र सिफारिस भएका वार्ड अध्यक्ष र सदस्यहरु गरी १७ जना बहालवाला प्रतिनिधिले राजिनामा दिएका छन् ।पाणिनी गाउँपालिकामा पनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतम, उपाध्यक्ष लक्ष्मी गौतम ,वडाध्यक्षहरु सहित १२ जना, छत्रदेव गाउँपालिकामा पनि वडाध्यक्ष र सदस्य गरी १५ जना र मालारानी गाउँपालिका प्रमुख तथा वडाअध्यक्ष र सदस्य सहित १५ जनाले राजिनामाका छन् ।सरकारले स्थानीय तहको निर्वाचन २०७९ को लागि बैसाख ३० गते मिति तोकेको छ । उम्मेद्वार दर्ता गर्ने मिति ११ र १२ गते बैशाखमा रहेको छ ।
पैंतीस हजार पदका लागि उम्मेदवारी दर्ता हुँदै
स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका लागि ३५ हजार २२१ पदका लागि आइतबार र सोमबार देशभरका निर्वाचन कार्यालयमा उम्मेदवार दर्ता हुन लागेको हो । आयोगले उम्मेदवार दर्ताका लागि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मको समय छुट्याएको छ ।
ओखलढुङ्गामा नेकपा एस र जसपा एक्ला एक्लै चुनाव लड्ने
ओखलढुङ्गामा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले एक्ला एक्लै चुनावमा जाने तयारी गरेका छन् ।
गृहमन्त्रीद्वारा उम्मेद्वार मनोनयनको सुरक्षा प्रबन्धबारे चासो
काठमाडौँ, बैशाख १० गते । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनमा उम्मेद्वारको मनेनयनका बोला हुन सक्ने अप्रत्यासित घटना रोक्न गरिएको सुरक्षा तयारीबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका प्रमुखसँग जानकारी लिनुभएको छ । गृहमन्त्री खाणले शनिबार दिउँसो नेपाली प्रहरीका निर्वाचन हेर्ने प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमसँग जानकारी लिनुभएको हो । गृहमन्त्री खाणले नेपाल प्रहरीका प्रदेश एक प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी, मधेस प्रदेश प्रमुख नायब महानिरीक्षक मसुद आलम खाँ, बागमती प्रदेश प्रमुख नायब महानिरीक्षक पुजा सिंह, गण्डकी प्रदेश प्रमुख, नायब महानिरीक्षक दिवस लोहनी, लुम्बिनी प्रदेश प्रमुख नलप्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रमुख नायब महानिरीक्षक गणेश ऐर र सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मोहन आचार्यसँग निर्वाचनको मनोनयनका बेलाका लागि गरिएको सुरक्षा प्रबन्धबारे जानकारी लिनुभएको हो । मधेस प्रदेशका खाँ, बागमती प्रदेशका सिंह, लुम्बिनी प्रदेशका उपाध्याय र सुदूरपश्चिम प्रदेशका आचार्यको प्रदेश प्रमुखका रूपमा शुक्रबारमात्र सरुवा भएको हो । यस्तै सशस्त्र प्रहरी बलका प्रदेश १ प्रमुख नायब महानिरीक्षक कमलराज गिरी, मधेश प्रदेश प्रमुख नायब महानिरीक्षक गणेश ठाडा मगर, बागमती प्रदेश प्रमुख नायब महानिरीक्षक किशोर प्रधान, गण्डकी प्रदेश प्रमुख नायब महानिरीक्षक शम्भु सुवेदी, लुम्बिनी प्रदेश प्रमुख नायब महानिरीक्षक कुलबहादुर नेम्बाङ, कर्णाली प्रदेश प्रमुख नायब महानिरीक्षक अभि खत्री तथा सुदूर पश्चिम प्रदेश प्रमुख दुर्गाप्रसाद भट्टराईसँग पनि उम्मेद्वारी मनोनयनका बेलाको सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको हो । गृहमन्त्री खाणँसँग आफूहरू उम्मेद्वारको मनोनयनका हेला हुने अप्रत्यासित घटनाबारे सतर्क र चनाखो भएर रणनीति बनाउँदै तयारी गरेको बताएका थिए । ‘मैले स्थानीय तह निर्वाचनमा उम्मेद्वार मनोनयनका बेलाको सुरक्षा व्यवस्थाको तयारी कस्तो छ भनेर सोधे,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘सबै प्रदेश र केन्द्रमा निर्पाचन हेरिरहेका अधिकृतहरूले आफूहरूले पूर्णरूपमा तयारी गरेको जानकारी दिएका छन् ।’ गृहमन्त्री खाणले त्यसक्रममा स्वच्छ, निष्पक्ष र धाधलीरहित निर्वाचन गर्न सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन निर्देशन दिनुभएको थियो । सशस्त्र प्रहरी बलका सुदूरपश्चिम प्रमुख नायब महानिरीक्षक भट्टराईले गृहमन्त्री खाणले उम्मेद्वारको मनोनयनका बेलाको सुरक्षा अवस्थाबारे टेलिफोनमार्फत जानकारी लिएको बताउनुभयो । निर्वाचन आयोगले उम्मेद्वारी मनोनयनको समय बैशाख ११ र १२ गते छुट्याएको छ ।
उम्मेद्वार बन्न दल फेर्दै स्थानीय नेता
जानु पाण्डे कपिलवस्तु, वैशाख १० गते । स्थानीय निर्वाचनमा आफ्नो दलबाट टिकट नपाउँने संकेत मिले पछि कपिलवस्तुमा पार्टी परिवर्तन गर्ने लहर चल्न लागेको छ । उम्मेद्वार नहुने संकेत मिल्न लागेपछि जनप्रतिनिधि र राजनैतिक दलका नेताहरु धमाधम पार्टी परिवर्तन गर्न लागेको छन् । स्थानीय निर्वाचनको मनोनयन गर्ने दिन नजिकिदै जाँदा नेताहरुमा दल परिवर्तन गर्ने लहर चल्न लागेको छ । कपिलवस्तुमा गठबन्धन नहुने संकेत देखिएको र दल विच उम्मेद्वारीको आकांछी धेरै भएपछि आन्तरिक मिलाउन समेत सकस भएको छ ।जिल्लाको विजयनगर गाउँपालिकाको अध्यक्ष पदको उम्मेद्वार नहुँने भएपछि काँग्रेस नेता जानकी प्रसाद यादव जसपा प्रवेश गर्नु भएको छ । यादव अघिल्लो स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिनु भएको थियो । निर्वाचनमा पराजय भए पछि काँग्रेस सांसद अभिशेख प्रताप शाहको पहलमा उहाँ काँग्रेस प्रवेश गर्नुभएको थियो । यादव काँग्रेस अधिवेशनमा क्षेत्रिय सभापतिमा समेत पराजित हुनु भएको थियो । यता यादव जसपा प्रवेश गरेपछि पार्टी समिति बेवास्था गरेको भन्दै विरोध प्रकट गरेका छन् । यसैगरी कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुदीप पौडेल नगरप्रमुखको टिकट नपाउने भएपछि जसपा प्रवेश गर्नुभएको छ । उहाँ एक महिना अगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाई एमाले प्रवेश गर्नुभएको थियो । पौडेल जसपा प्रवेश गरेपछि जसपाबाट नगरप्रमुखका आकांक्षी रामअचल यादवले जसपा त्यागेको घोषणा गर्नुभएको छ । यसैगरी कपिलवस्तुको महाराजगन्ज नगरपालिकाका दुई वडा अध्यक्ष र काँग्रेस क्षेत्रिय सचिवले पार्टी परित्याग गरेका छन् । वडा नं. ११ का वडा अध्यक्ष जगदिश तिवारी वडा नं. १ का अध्यक्ष शिवप्रसाद वानियाले काँग्रेस परित्याग गर्दै एमाले प्रवेश गर्नुभएको छ । यसैगरी क्षेत्रीय सचिव गंगेश नाथ तिवारी समेत एमाले प्रवेश गर्नुभएको हो । वडा अध्यक्षको उम्मेद्वार बन्नका लागि जसपा शिवराज नगरकमिटिका सचिव पारस केवट लोसपा प्रवेश गरेका छन् । केवट कार्यकर्ता माझ लोकप्रिय नेता रुपको चिनिदै आएका छन् । उहाँले पार्टी परित्याग गरेपछि जसपामा तरंग मच्चिएको छ ।
मनोनयन दर्ता व्यवस्थित र शान्तिपूर्ण बनाउन अपिल
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख १० गते । स्थानीय तह सदस्य निर्वाचनका लागि आइतबार र सोमबार हुने मनोनयन दर्तालाई व्यवस्थित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय तथा सम्बद्ध सबैमा अपिल गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा शनिबार जारी गरिएको विज्ञप्तीमार्फत सो अपिल गरिएको हो । कानून बमोजिमको योग्यता पुगेका सबै नागरिकको स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार बन्न पाउने नैसर्गिक अधिकारमाथि कहीँ कतैबाट कुनै अवरोध आउन नदिन पनि आयोगले आग्रह गरेको छ । आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “निर्धारित दुई दिनमध्ये कुनै दिन दल वा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता हुन आएको खण्डमा सोही दिन उम्मेदवारको मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराइन्छ ।”आयोगले वैशाख ११ गते विहान १० बजेदेखि ५ बजेसम्म र सोमबार १२ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ । बिगतको स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम एक दिन रहेको भएपनि एक दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतलाई कार्य चाप धान्न कठिन भएको देखिएकाले यस पटक दुई दिन समय निर्धारण गरेको आयोगको भनाई छ । “मनोनयन दर्ताका लागि दुई दिनको समय दिन उपयुक्त हुने भन्ने राजनीतिक दल तथा अन्य सरोकारवालाबाट आयोगलाई सुझाव प्राप्त भएको आधारमा स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा मनोनयन दर्ताको कार्यक्रम दुई दिन राखिएको हो” आयोगको विज्ञप्तीमा उल्लेख छ । सोे समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गर्न आयोगले सबैमा अपिल गरेको छ ।कतिपय स्थानमा राजनीतिक दलका उम्मेदवारलाई गोला प्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको भन्ने सूचना आयोगमा प्राप्त भएकाले सो विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले विज्ञप्तीमार्फत प्रष्ट पारेको छ ।
जनकपुरमा लोसपाबाट मेयरमा चौधरी र उपमेयरमा मिश्र
स्मृति मिश्र धनुषा, वैशाख १० गते । जनकपुरधाम उपमहानगरपालिका मेयरमा मनोज चौधरी र उपमेयरमा रिता मिश्रलाई लेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले उम्मेद्वार बनाउने निर्णय गरेको छ । लोसपाको केन्द्रीय कमिटीको शनिबार बसेको बैठकले जनकपुरधाम उपमहानगरपालिकाकालागि मेयर तथा उपमेयर उम्मेदवार टुंगो लगाएको हो । चौधरी लोसपाको जनकपुरधाम उपमहानगर समिति अध्यक्ष हुन् भने मिश्र जनकपुरधाम उपमहानगरपालिकामा अघिल्लो कार्यकालमा उपमेयर रहनुभएको थियो ।चुनावी प्रयोजनका कारण उहाँले हिजो शुक्रबार राजीनामा दिनुभएको थियो । लोसपा नगर समितिले जनकपुरधामका मेयरका लागि उम्मेदवार बनाइएका चौधरीका अतिरिक्त प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, मनोज चौधरी र अमर पञ्जियांरका नाम सिफारिस गरिएको थियो । उम्मेदवार चयनमा ढिलाइ भइरहँदा लोसपाका स्थानीय नेता जानकीराम साहले चैत ६ गते पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नुभएको छ । उहाँ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ अध्यक्षसमेत हुनुहुन्थ्यो । लोसपाकै अर्का सदस्य र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र साहले पनि पार्टी परित्याग गरी तमलोपाको सदस्यता लिनुभएको छ । उहाँहरू लगायत थप केही वडाअध्यक्षहरूले लोसपा परित्याग गरी अन्य राजनीतिक दलम प्रवेश गर्नुभएको छ ।
ओखलढुङ्गामा चुनावी सुरक्षामा १२ सय सुरक्षाकर्मी
शेरबहादुर राईओखलढुङ्गा, वैशाख १० गते । ओखलढुङ्गामा चुनावी सुरक्षाका लागि बाह्रसय सुरक्षाकर्मी खटिने भएका छन् । जिल्लाको आठ वटै स्थानीय तहमा हुने चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन १२ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका हुन् । जिल्लामा चुनावी सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरि १२ सय भन्दा बढी सुरक्षाकर्मी खटाइने निर्णय भएको जिल्ला सुरक्षा समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताउनुभयो । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ लगायत सुरक्षा निकायका प्रमुखहरुको टोलीले मतदान केन्द्रहरुको अनुगमन गरी संवेदनशील केन्द्रहरुको पहिचान गरेको पनि प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिनुभयो ।सुरक्षाकर्मी अपुग भएमा प्रदेशबाट थप सुरक्षा व्यवस्था मिलाउन पहल भईरहेको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन विशेष सुरक्षा व्यवस्था योजना तयार पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।