• ६ जेठ २०८१, आइतबार

धनगढीको प्रमुखका लागि स्वतन्त्र उम्मेदवार हमालद्वारा मनोनयन दर्ता

blog

अविनाश चौधरी

धनगढी, वैशाख ११ गते । स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढी उपमहानगरपालिकाको प्रमुखका लागि आज मनोनयन दर्ता गराउनुभएको छ । 

बाजागाजा र नाचगानसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । हमालसँगै विभिन्न वडाको वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएकाहरुले पनि मनोनयन दर्ता गराउनुभएको छ ।  

धनगढीको ट्राफिक चौराहाबाट ¥यालीसहित स्वतन्त्र उम्मेदवार हमाल आफ्नो उम्मेदवारी दर्ता गराउन प्रमुख निर्वाचन अधिकृतको कार्यालयसम्म पुग्नु भएको थियो । उहाँको ¥यालीमा मान्छेको सहभागिता कुनै दलकोभन्दा कम थिएन । ¥यालीमा सहभागी भएका कतिपयले हमालकै मुखौटासमेत लगाएका थिए । 

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिदैँ हमालले बाँडीचुँडी खाने प्रवृतिकाविरुद्ध आफ्नो उम्मेदवारी रहेको प्रतिक्रिया दिनुभयो । व्यवसायिक पृष्ठभूमिका उहाँले आफू मेयरमा निर्वाचित भएमा पाँच वर्षसम्म राज्य कोषबाट मेयरले पाउने कुनै पनि सेवा सुविधा नलिएर धनगढीको विकासका लागि स्वयम् सेवकको रुपमा काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । 

यसअघि, २०७४ को निर्वाचनमा पनि उहाँले स्वतन्त्रबाटै धनगढीको मेयरमा चुनाव लड्नु भएको थियो । उहाँ दुई हजार ७९७ मतान्तरले  नेपाली काङ्ग्रेसका उम्मेदवारसँग पराजित हुनु भएको थियो । हमालले ११ हजार ५२७ मत प्राप्त गर्नुभएको थियो भने, विजयी हुनुभएका नेपाली काङ्ग्रेसका उम्मेदवार नृपबहादुर वडले १४ हजार ३२४ मत प्राप्त गर्नुभएको थियो । 

Author
अविनाश चौधरी

उहाँ धनगढीबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।