• ७ जेठ २०८१, सोमबार

घोराहीको प्रमुखमा मालेबाट पाण्डेयको पहिलो उम्मेदवारी

blog

लिलाधर वली 

घोराही, वैशाख, ११ गते । वैशाख ३० गते हुन थालेको स्थानीय तह निर्वाचनका लागि दाङमा उम्मेदवारी दर्ता सुरु भएको छ । जिल्लाका दशवटै स्थानीय तहहरुमा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, वडाहरुमा वडा अध्यक्ष र सदस्यका लागि उम्मेदवारी दर्ताको काम सुरु भएको हो । 

जस अनुसार घोराही उपमहानगरपालिकाको मेयरमा पहिलो उम्मेदवारका रुपमा मालेबाट नेत्रप्रकाश पाण्डेय र उपमेयरमा राधिका क्षेत्रीले उम्मेदवारी दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ताका लागि दिएको समय अनुसार मुख्य निर्वाचनअधिकृतको कार्यालय पुगेर पाण्डेय र क्षेत्रीले ११ बजे तिर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँहरुलाई मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले उम्मेदवारी दर्ताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । उम्मेदवारी दर्ता गराएसँगै पाण्डेय र क्षेत्री घोराही उपमहानगरपालिकामा मेयर÷उपप्रमुखका लागि उम्मेदवारी दर्ता गराउने पहिलो मेयर र उपमेयरको उम्मेदवार भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभएको छ । 

घोराही उपमहानगरपालिका–१२ निवासी मेयरका उम्मेदवार पाण्डेयको प्रस्तावका गोबिन्द केके र समर्थकमा शोभा पाण्डे रहनुभएको छ भने वडा नं. १७ निवासी उपमेयरका उम्मेदवार क्षेत्रीको प्रस्तावमा निर्मलादेवी केसी र समर्थकमा गोविन्द केके रहनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पाण्डेय २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि घोराही उपमहानगरपालिकाको मेयर उम्मेदवारी दिनुभएको थियो । 

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि उपलव्ध गराएको दुई दिनको समय अनुसार जिल्लामा पहिलो दिन साना दललाई उम्मेदवार दर्ताको समय दिएको छ । प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस पार्टी, नेकपा एमाले पार्टी, नेकपा माओवादी पार्टी र  नेकपा एकीकृत समाजवादी पार्टीलाई उम्मेदवारी दर्ताका लागि बैशाख १२ गते दोश्रो दिन समय निर्धारण गरिएको छ । 

जस अनुसार जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात वटा गाउँपालिकाहरुमा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, एक सय वडाहरुमा वडा अध्यक्ष र सदस्यका लागि उम्मेदवारी दर्ता गराउने काम भैरहेको छ । निर्वाचनका लागि साना दलहरुले उम्मेदवार तयार गरेपनि प्रमुख दलहरुले केही स्थानीय तहहरुमा अझैसम्म उम्मेदवार चयन गर्न सकेका छैनन् ।