गलैँचा निर्यात घट्ने चिन्ता
गलैँचामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) ले निर्यातमा ३० प्रतिशतसम्म गिरावट आउने व्यवसायीले अनुमान गरेका छन् । नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर गलैँचा उद्योगमा पाउँदै आएको भ्याट छुट हटाउँदा गलैँचाको उत्पादन लागत महँगो भई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेर निर्यातमा गिरावट आउने बताएको हो ।
नेपाल र मङ्गोलियाबिच सहमति
ऊन उत्पादन, गुणस्तर परीक्षण र निर्यात प्रवर्धनमा सहकार्य गर्न नेपाल र मङ्गोलियाबिच सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपालमा पस्मिना धागो र ऊनको गुणस्तर परीक्षण र विश्लेषण, यस क्षेत्रमा ज्ञान एवं अनुसन्धान कार्यको आदानप्रदान गर्न नेपाली व्यवसायी र मङ्गोलियाली अधिकारी सहमत भएका छन् । नेपाल पस्मिना उद्योग सङ्घ तथा मङ्गोलियाली सरकारको रिसर्च एन्ड डेभलपमेन्ट इन्स्टिच्युट अफ लाइट इन्डस्ट्रीबिच यस विषयमा बुधबार समझदारी भएको हो ।
बजार अनुगमनको प्रभावकारिता देखिएन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गरेकोमध्ये ८०/८२ प्रतिशत कुनै न कुनै जरिबाना वा कारबाहीमा पर्ने गरेका छन् । विभागले चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म एक हजार १६० वटा अनुगमन टोलीले तीन हजार ४१४ व्यवसायी फर्मको अनुगमन गरेकामा दुई हजार नौ सय कुनै न कुनै कारबाही वा जरिबानामा परेका हुन् ।
विमानस्थल प्रवेशमा कडाइ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि एक जना यात्रुको बिदाइ वा स्वागतमा तीन जना मात्रै जान पाइने भएको छ । विमानस्थलको टर्मिनल भवनबाहिर अत्यधिक भीड हुन थालेपछि विमानस्थल सुरक्षा समितिले यस्तो निर्णय गरेको हो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सम्भावित हवाई सुरक्षा जोखिमलाई ध्यानमा राखी विमानस्थल सुरक्षा समितिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो ।
तेल निर्यात घटेसँगै समग्र निर्यातमा गिरावट
यो वर्ष पाम तेल र भटमास तेल निर्यातमा गिरावट आएसँगै मुलुकको समग्र निर्यात व्यापारमा उल्लेख्य कमी आएको छ । विगतका वर्षमा पाम तेलको निर्यातले समग्र निर्यातमा उल्लेख्य वृद्धि आएकामा चालु आवको सुरुदेखि नै पाम तेलको निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ ।
बङ्गलादेशलाई ४० देखि ५० मेगावाट विद्युत बेच्न तयारी
नेपालले वर्षायाममा उत्पादित बिजुली बङ्गलादेश बेच्नका लागि गरेको गृहकार्य अन्तिम रूपमा पुगेको जनाएको छ । गत जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को भारत भ्रमणको क्रममा नेपालको विद्युत् बङ्गलादेश निर्यात गर्नका लागि भारतीय पक्षसँग छलफल भएको थियो ।
‘पाँच सय मेगावाट विद्युत् खेर गयो’
निजी क्षेत्रका ऊर्जा उत्पादकले विभिन्न ३० जलविद्युत् आयोजनाको करिब पाँच सय मेगावाट विद्यत् खेर जान थालेको औँल्याएका छन् । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान कार्यालयमा भएको छलफलमा ऊर्जा उत्पादकहरूले नेपाल विद्युत् प्राधिकरणले ३० जलविद्युत् आयोजनालाई आफ्नो क्षमताको आधा मात्रै विद्युत् उत्पादन गर्न बाध्य पारेको र यसबाट पाँच सय मेगावाट उत्पादन बन्द गराइएको आरोपसमेत लगाएका छन् ।
स्टार्टअप कार्यविधि संशोधन गरिँदै
सरकारले स्टार्टअप व्यवसाय कर्जा प्रवाह कार्यविधि २०७९ संशोधन गरेको छ । पहिलो पटक ल्याएको कार्यक्रम कार्यान्वयनमा दुविधा आएपछि कार्यविधि थप संशोधन गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यविधि संशोधन गरेर अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको जानकारी दिएको छ । स्टार्टअप कर्जाका लागि परेका आवेदनले न्यूनतम ५० अङ्क ल्याउनुपर्ने र स्टार्टअप समितिले आफैँ कार्यविधि बनाउन सक्ने व्यवस्था थप गरेर अर्थ मन्त्रालयमा पठाएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएपछि कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ । उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले कार्यविधि संशोधन भएर आएपछि १०/१५ दिनमा कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो ।
कम्पनीको सञ्चालक र पदाधिकारीले जरिबाना तिर्नुपर्ने
कम्पनीका सञ्चालक र पदाधिकारीले समेत जरिबाना तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि कम्पनीले मात्र जरिबाना तिर्दै आएकामा अबदेखि सञ्चालक र पदाधिकारीले तिर्नुपर्ने व्यवस्था गरिएको हो । कम्पनी ऐन २०६३ को दफा ८१ (२) को व्यवस्थाबमोजिम कम्पनीले कार्यालयलाई तोकिएको समयमा विवरण, सूचना, जानकारी वा जवाफ उपलब्ध नगराएको अवस्थामा जरिबाना आकर्षित हुने र उक्त जरिबाना भुक्तानी गर्ने दायित्व कम्पनीका सञ्चालक वा त्यसका पदाधिकारीमा रहने व्यवस्था रहेको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ । कम्पनीका रजिस्ट्रार महेश बरालले ऐनमा भएको व्यवस्था कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । यसअघि कम्पनी कम्पनीले मात्र जरिबाना तिर्नुपर्ने व्यवस्था भएकामा अब सञ्चालक र पदाधिकारीलाई समेत अनिवार्य गरिएको उहाँले जानकारी दिनुभयो ।