• १३ साउन २०८१, आइतबार

बर्डफ्लुपीडित किसानले पाउन थाले राहत

blog

काठमाडौँ, चैत २७ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभागले बर्डफ्लुबाट पीडित किसानलाई राहत वितरण सुरु गरेको छ । 

गत वर्ष देशका विभिन्न १५ वटा जिल्लामा बर्डफ्लु फैलिएको थियो । त्यसबाट करिब एक लाख किसानका छ लाखभन्दा बढी पन्छी, अन्डा तथा अन्य पन्छीजन्य पदार्थ र पन्छी उत्पादन सामग्री नष्ट गरिएको थियो । त्यसबापत विभागले ती किसानलाई राहत उपलब्ध गराएको छ । १५ वटै जिल्लाका किसानले ५८ करोड रुपियाँभन्दा बढी क्षतिपूर्ति पाउने भएका छन् । विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार जुनजुन जिल्लामा बर्डफ्लुबाट किसान पीडित भएका छन्, ती जिल्लाका भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा रकम पठाइसकिएको छ । कतिपय जिल्लाले वितरणसमेत सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो । पीडित किसानको खातामा नै रकम हाल्ने गरेको उहाँले जानकारी दिनभयो । 

काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, कास्की, सुर्खेत, धनुषा, बारा, पर्सा, सर्लाही, मोरङ, सुनसरी र उदयपुर जिल्लामा छ लाख ७४ हजार २११ वटा पन्छी, ११ लाख ७८ हजार ८५० अन्डा, एक लाख ७३ हजार ३१० केजी दाना, १३२ केजी मासु नष्ट गरिएको थियो । 

सम्बन्धित जिल्ला दररेट समितिबाट प्राप्त दररेटअनुसार ७८ करोड दुई लाख ८० हजार ६२० रुपियाँ बराबरको क्षति भएको थियो । त्यसमध्ये सरकारले किसानलाई ७५ प्रतिशत मात्र राहत दिने गरेको छ । किसानले सरकारबाट ५८ करोड ५२ लाख १० हजार ४६५ रुपियाँ पाउनेछन् । सबभन्दा बढी चितवनमा ४२ करोड ५३ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । 

बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) २०७४ का अनुसार क्षतिको प्रमाणित विवरणका आधारमा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ र पन्छी उत्पादन सामग्रीको क्षतिको रकम निर्धारण गरी सम्बन्धित धनीलाई क्षति रकमको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउनेछ । सो क्षतिपूर्तिबापतको रकम प्राप्त गर्नका लागि सम्बन्धित धनीले पन्छी तथा पन्छीजन्य वस्तु नष्ट गरेको मितिले ३० दिनभित्र सबै प्रमाणसहित जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ । किसानले यी सबै प्रक्रिया पूरा गरिसकेपछि मात्र रकम प्राप्त गरिरहेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।