• २० असार २०८२, शुक्रबार

असार मसान्तसम्म कर्जा असुली गर्न समस्याग्रस्त सहकारीलाई म्याद

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २० गते । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका १९ वटा सहकारीको कर्जा असुलीका लागि असार मसान्तसम्मको समय दिएको छ । समितिले सूचना प्रकाशन गरी समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई ऋण तिर्न यही असार मसान्तसम्मको समय दिएको हो । तोकिएको म्यादभित्र आफ्नो दायित्व राफसाफ नगरे समस्याग्रस्त घोषणा भएको मितिदेखि असुलीको दिनसम्मको साँवा, ब्याज, हर्जानासमेत ऋणमा गणना गरिने समितिले जनाएको छ । आउँदो साउन १ देखि त्यो असुली थालिने समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

समितिको सूचना अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सहकारी ऐनबमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका निम्ति लेखिआएकाले ऋण असुलीको प्रक्रिया अघि बढाइएको हो ।

समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक र कर्मचारीलाई पटक पटक सार्वजनिक सूचना प्रकाशन गर्दासमेत आफ्नो दायित्व भुक्तानी नगरिएकाले अन्तिम पटक सूचना प्रकाशन गरिएको समितिले जनाएको छ ।

अहिले प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट कोअपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, ओरेन्टल कोअपरेटिभ, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था, स्टान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, नेपाल सहकारी वित्तीय संस्था, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था, भेगास बचत तथा ऋण सहकारी संस्था, तुलसी बहुमुखी सहकारी संस्था, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था, गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त सहकारी घोषणा गरेर कारबाही अगाडि बढाएको छ ।