• १३ साउन २०८१, आइतबार

दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा

blog

सञ्चालनमा आयो लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत प्रवाह । तस्बिर : नेपाल विद्युत प्राधिकरण

काठमाडौं, चैत २३ गते । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आएको छ ।

विसं.२०७८ को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्‍याएका चार वटा टावरहरूको पुनर्निर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्णरुपमा सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आएसँगै करिब तीन सय मेगावाट विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको छ ।

नेपाल विद्युत प्राधिकरणले लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइन गत भदौबाट आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो । बाढीले क्षति पुर्‍याएका टावरहरूको पुनर्निर्माणमा केही समय लाग्ने देखिएपछि उदीपुर सबस्टेसनबाट निजी क्षेत्रले निर्माण गरेको दोर्दी खोला–१ जलविद्युत आयोजनासम्म दोर्दी कोरिडोरको लाइन र त्यहाँबाट कीर्तिपुर सबस्टेसनसम्म दोर्दी खोला–१को प्रसारण लाइन प्रयोग गरी लाइनको आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो ।

वैकल्पिक व्यवस्थाको रूपमा दोर्दी खोला–१ को साढे तीन किलोमिटर प्रसारण लाइन प्रयोग गरी निजी क्षेत्रले निर्माण गरेका जलविद्युत आयोजनाहरूको विद्युत जोडिएको थियो । टावरको पुनर्निर्माण सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा आएसँगै दोर्दी खोलामा निर्माण भएका निजी क्षेत्रका सबै जलविद्युत आयोजनाहरूको विद्युत कीर्तिपुर सबस्टेसनमा जोडिएर दोर्दी करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह भएको आयोजना प्रमुख रमेश पौडेलले बताउनुभयो ।

प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी खोला–१ र ८.६३ मेगावाटको चेपेखोला साना जलविद्युत आयोजना जोडिएका छन् । निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युतसहित त्यस कोरिडोरमा निर्माणाधीन र निर्माण हुने अन्य आयोजनाको विद्युत यही लाइनमा जोडिने छ ।

उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युतगृहको स्वीचयार्डमा विद्युत जोड्ने व्यवस्था गरिएको छ । यसका लागि निर्माणाधीन २२० केभी मर्स्याङ्दी कोरिडोरको करिब ६ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको छ । निर्माण अन्तिम चरणमा रहेको उदीपुर सबस्टेसन असारभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ ।

करिब ८५ करोड रुपियाँ अनुमानित लागत रहेको दोर्दी करिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो । प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ । आयोजनाले नै कीर्तिपुरमा १३२ केभी, १० एमबिए क्षमताको सबस्टेसन निर्माण गरेको छ । २०७७ मै निर्माण सम्पन्न भएको प्रसारण लाइनका चार वटा टावरहरू २०७८ को असारमा असारमा दोर्दी खोलामा आएको बाढीले बगाइदिएको थियो । आयोजना २०७४ सालमा सुरु गरिएको थियो ।