• ३० चैत २०८२, सोमबार

गौर भन्सारको राजस्व सङ्कलनमा उल्लेखनीय सुधार

blog

गौर भन्सार कार्यालय, रौतहटका कार्यालय प्रमुख विकासकुमार रजक। तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा
रौतहट, चैत ३० गते ।
गौर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ मा राजस्व सङ्कलनतर्फ उत्साहजनक प्रगति हासिल गरेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष लक्ष्य अनुसार उच्च उपलब्धि प्राप्त भएको कार्यालय प्रमुख विकासकुमार रजकले जानकारी दिनुभयो।

गौर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ मा कुल लक्षित राजस्व ३५ करोड ४३ लाख ७८ हजार रुपियाँमध्ये २९ करोड ९१ लाख ३० हजार रुपियाँ मात्र सङ्कलन गरेको थियो।

चालु आर्थिक वर्ष २०८२/०८३ मा कार्यालयको लक्ष्य ३३ करोड २९ लाख ९२ हजार रुपियाँ रहेकोमा २०८२ चैत २८ गतेसम्म लक्ष्यको ९०.६३ प्रतिशत अर्थात् ३० करोड १८ लाख २ हजार ८१८ रुपियाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो।

गत आर्थिक वर्षको मङ्सिर महिनामा राजस्व सङ्कलन लक्ष्यको १००.५१ प्रतिशत थियो भने चालु आर्थिक वर्षमा सोही महिनामा १७०.१७ प्रतिशत पुगेको छ। त्यस्तै, गत आर्थिक वर्षको पुस महिनामा लक्ष्यको ११७.८९ प्रतिशत सङ्कलन भएकोमा चालु आर्थिक वर्षमा २१३.०५ प्रतिशत पुगेको छ।

माघ महिनामा गत वर्ष ८०.५० प्रतिशत सङ्कलन भएकोमा चालु वर्षमा १२८.६१ प्रतिशत, फागुन महिनामा गत वर्ष ९३.१५ प्रतिशत रहेकोमा चालु वर्षमा १०७.९० प्रतिशत सङ्कलन भएको कार्यालयले जनाएको छ।

गत वर्षको चैत महिनामा ६५.९६ प्रतिशत सङ्कलन भएकोमा चालु वर्षको चैत २८ गतेसम्म १५१.८२ प्रतिशत राजस्व सङ्कलन भएको छ। समग्रमा २०८२ चैत २८ गतेसम्म चालु आर्थिक वर्षको लक्ष्यको १२३.४३ प्रतिशत प्रगति भएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख रजकका अनुसार राजस्व सङ्कलन बढ्नुको मुख्य कारण कोइला, गुड (सख्खर), टायल्स आदिको आयातमा वृद्धि हुनु तथा मुद्दा फर्छ्याैट भई मालसामान र सवारी साधनहरूको समयमै लिलाम बिक्री हुनु हो।

गत आर्थिक वर्षमा मुद्दा सङ्ख्या बढी भए पनि चालु आर्थिक वर्षमा मुद्दा सङ्ख्या घटेको र भएका मुद्दाहरू पनि समयमै फर्छ्याैट गरी लिलाम बिक्री गरिएको उहाँले बताउनुभयो।

विभिन्न किराना, खाद्यान्न तथा लत्ताकपडासहितका मालसामानको लिलामबाट चालु आर्थिक वर्षमा हालसम्म ४२ लाख ५२ हजार ८०७ रुपियाँ राजस्व सङ्कलन भएको छ।

गौर भन्सार कार्यालयका प्रमुख रजकका अनुसार निकासीतर्फ पनि यस वर्ष उल्लेखनीय सुधार भएको छ। भेनियर र पिभिसी पाइप निकासीबाट गत वर्षको तुलनामा बढी राजस्व सङ्कलन भएको तथ्याङ्कले देखाएको छ।

कार्यालयमा प्लान्ट क्वारेन्टाइनको सुविधा नभएकाले खाद्यान्न जाँचपासको सुविधा नहुँदा तथा रौतहटमा बर्सेनि आउने बाढीका कारण उत्पादन घट्ने भएकाले मलङ्गवा तथा वीरगन्ज भन्सारबाट आयातित खाद्यान्नमा निर्भर रहनुपर्ने अवस्था रहेको छ।

चालु आर्थिक वर्षमा चैत महिनाभित्रै लक्ष्य नजिक पुग्नु तथा मासिक लक्ष्यहरूमा शतप्रतिशतभन्दा बढी प्रगति हुनु गौर भन्सार कार्यालयको कार्यक्षमतामा सुधार आएको सङ्केत भएको स्थानीय सरोकारवालाहरूले बताएका छन्।