• ३० चैत २०८२, सोमबार

लमजुङ प्रहरीले सुरु गर्‍यो ‘क्युआर सेवा’

blog

नवीनराज कुइँकेल

लमजुङ, चैत ३० गते । जिल्ला प्रहरी कार्यालय लमजुङले नागरिकका गुनासो एवं सुझावका लागि डिजिटल गुनासो सेवा सुरु गरेको छ ।

कार्यालयको सेवा प्रवाहका बारेमा सेवाग्राही तथा अन्य नागरिकका प्रतिक्रिया लिन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन क्युआर सेवा सुरु गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरीले डिजिटल गुनासो तथा सुझावका लागि यसअघि नै उपलब्ध क्युआरलाई व्यवस्थित गर्दै आइतबारदेखि क्युआर सार्वजनिक गरेको हो ।

क्युआरमार्फत जिल्लाका प्रहरी कार्यालयमा सेवा प्राप्त गर्ने क्रममा भएका गुनासो, सुझाव र सोबाहेक कुनै पनि घटना, अपराधसँग सम्बन्धित सूचनासमेत दिन सकिने लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

सबै सेवाग्राहीको पहुँच पुग्ने गरी जिल्ला प्रहरी कार्यालय र मातहतका एकाइमा पनि क्युआर राखिएको र सोबाहेक गुनासो तथा सुझावका लागि तयार क्युआर विभिन्न डिजिटल प्लेटफर्ममा पनि सार्वजनिक गरिएको छ ।

सेवाग्राहीका सुझाव डिजिटल हुने भएकोले त्यस्ता सुझावलाई नियमित निगरानी तथा समीक्षा गरी कार्यालयको सेवा प्रवाहलाई सहज र थप प्रभावकारी बनाइने प्रहरीले जनाएको छ ।

सरकारी कार्यालयमा सेवाग्राहीको गुनासो वा उजुरीका लागि अनिवार्य गुनासो पेटिका राखिएको भए पनि परम्परागत गुनासो पेटीकामा गुनासो वा उजुरी नपरेपछि अधिकांश कार्यालयले समयानुसार डिजिटल गुनासो तथा सुझाव सङ्कलनतर्फ लाग्न थालेका छन् ।

सेवाग्राहीले सो सम्बन्धित कार्यालयको सेवा प्रवाहको बारेमा जानकारी लिन तथा कार्यालयबाट लिएको सेवाको प्रभावकारिता सम्बन्धी क्युआर स्क्यान गरी निःशुल्क प्रतिक्रिया दिनसक्ने बनाइएको छ ।