खेमराज सापकोटा
रानी, चैत ३० गते । कोशी प्रदेश सरकारले २०८२ सालमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले बताउनुभएको छ ।
२०८२ को गतिविधिका बारेमा जानकारी गराउनुहुँदै सरकारले निर्वाचन सफलतापूर्वक ढङ्गले सम्पन्न गर्नुका साथै पर्यटन वर्ष, लगानी सम्मेलनका साथै विपद् प्रतिकार्य लगायतका क्षेत्रमा सरकारले काम गरेको बताउनुभयो ।
नेकपा एमाले र नेपाली कांग्रेस बिचको सहमति अनुसार चलिरहेको सत्ता समीकरण स्थिर रहे पनि जेनजी आन्दोलनले प्रशासनिक आधार कमजोर बनायो ।
२०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अधिकांश मन्त्रालयमा आगजनी र तोडफोड भएपछि सरकारी संयन्त्र प्रत्यक्ष रूपमा प्रभावित बन्दै आएको छ ।
भौतिक संरचना ध्वस्त भएपछि सेवा प्रवाह, नीति कार्यान्वयन र प्रशासनिक गतिविधिमा अवरोध उत्पन्न भएको छ । मन्त्री पराजुलीका अनुसार, प्रदेशमा सत्ता समीकरण परिवर्तनबारे कुनै छलफल भएको छैन ।
केन्द्रमा समेत त्यस्तो सङ्केत नदेखिएको भन्दै उनले एमाले–कांग्रेस सहकार्य यथावत रहने स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार सत्ता साझेदार कांग्रेस आन्तरिक व्यवस्थापनमै व्यस्त रहेको र दुई दलबिचको समझदारी बलियो रहेको छ ।
आन्दोलनपछिको परिस्थितिले मन्त्रिपरिषद्मा भने आंशिक फेरबदल ल्यायो । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद् पुस २२ गते पुनर्गठन गरिएको थियो, जसलाई प्रशासनिक पुनर्संरचना र राजनीतिक सन्तुलन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ ।
आर्थिक दबाब, भौतिक क्षति र पुनर्निर्माणको आवश्यकता हुँदाहुँदै पनि सरकारले सेवा प्रवाहलाई निरन्तरता दिएको दाबी गरिएको छ । आन्दोलनबाट भएको क्षतिलाई ‘नभुलिने’ भन्दै मन्त्री पराजुलीले यसले मुलुकलाई दशकौं पछाडि धकेलेको टिप्पणी समेत गर्नुभयो ।
चुनौतीबिच सरकारले लगानी सम्मेलन र ‘कोशी प्रदेश भ्रमण वर्ष’ जस्ता कार्यक्रम सञ्चालनमा ल्याएको थियो । पराजुलीका अनुसार २०८२ सालभर प्रदेश मन्त्रिपरिषद्का ३२ वटा बैठक बसेका छन् । साथै, चार वटा पदमार्ग निर्माणको काम अघि बढाइएको र यसबाट हजारौंलाई रोजगारी सिर्जना हुने अपेक्षा गरिएको मन्त्री पराजुलीले बताउनुभयो ।
‘‘नागरिकसँग प्रत्यक्ष जोडिएर काम गर्ने कार्यमा हामी रहेका छौँ,’’ उहाँले भन्नुभयो । पराजुलीका अनुसार विपद् प्रतिकार्यका लागि अत्यावश्यक सेवा केन्द्र सञ्चालनमा ल्याएर एकीकृत रूपमा काम गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार मोरङ, झापा, तेह्रथुम, खोटाङ र धनकुटामा सो सेवा सञ्चालनमा ल्याइएको छ । प्रदेशमा अधिवेशनबाट कोशी प्रदेशको आमसञ्चार लगाएतका महत्त्वपूर्ण विधेयकहरू पारित गरेको उहाँले बताउनुभयो ।