• ३० चैत २०८२, सोमबार

खानेपानीमन्त्री पाठकद्वारा जलस्रोत कार्यालयको निरीक्षण

blog

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको निरीक्षणपछि मन्त्री तिलचन पाठकसहितको सामूहिक तस्बिर ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ३० गते । कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले ताप्लेजुङस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको निरीक्षण गर्नुभएको छ ।

ताप्लेजुङको भ्रमणमा आउनुभएका मन्त्री पाठकले सोमबार कार्यालयको निरीक्षण गर्नुभएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय निरीक्षण गर्नुहुँदै मन्त्री पाठकले कार्यालयमार्फत कार्यान्वयनमा रहेका योजना तथा कार्यसम्पादनबारे जानकारी लिनुभएको छ । 

मन्त्री पाठकले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गर्दै आएको योजना कार्यान्वयनको अवस्थासँगै कार्यालयबाट प्रवाह हुने अन्य सेवा र कार्यसम्पादनबारे जानकारी लिनुभएको डिभिजन प्रमुख विशाल पोख्रेलले जानकारी दिनुभयो ।

डिभिजन प्रमुख पोख्रेलका अनुसार कार्यालयको निरीक्षण गर्नुहुँदै मन्त्री पाठकले योजना कार्यान्वयनसहित प्रभावकारी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशनसमेत दिनुभएको छ । यता जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको निरीक्षणपछि यहाँको आठराइ त्रिवेणी गाउँपालिका–३, हाङ्पाङमा कार्यान्वयनमा रहेको एक योजनाको स्थलगत अनुगमन गर्न मन्त्रीको टोली जानुभएको छ ।

स्थानीय चुवा खोलाको पानी उपयोग गरेर हाङ्पाङमा सिँचाइ सुविधा पुर्‍याउने गरी हाल कुलो निर्माण भइरहेको सिँचाइ योजनाका स्थलगत निरीक्षण गर्न मन्त्री त्यसतर्फ लाग्नुभएको डिभिजन प्रमुख पोख्रेलले बताउनुभयो । उहाँका अनुसार दुई करोड ९१ लाख ८३ हजार १४५ रुपियाँ बजेटबाट हाङ्पाङमा हाल सिँचाइ योजनाको काम भइरहेको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय स्रोतका अनुसार सिँचाइ योजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरी तेह्रथुम जिल्ला हुँदै मन्त्री पाठक र उहाँको सचिवालयको टोली विराटनगर फर्कनु हुने बताइएको छ । ताप्लेजुङको भ्रमणमा आउनुभएका मन्त्री पाठकले प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनसमेत गर्नुभएको छ ।