लेखनाथ समाचारदाता
लेखनाथ, चैत ३० गते । पर्यटन राजधानी पोखराको लेकसाइडमा सोमबार आयोजित आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोई प्रथम हुनुभएको छ ।
पोखरामा जारी २१ औँ फेवा नव वर्ष महोत्सव २०८३ को दोस्रो दिन भएको प्रतियोगितामा स्पेनका अड्रिया फेरर द्वितीय र अष्ट्रेलियाका लाइन्डनले तृतीय ठहरिए ।
लेकसाइडको होटल पिस प्लाजा अगाडिबाट सुरु भएको दौडमा भारतका आमिरलाई सान्त्वना पुरस्कार प्रदान गरियो ।
एक हजार आठ सय मिटर दौडमा प्रतियोगीहरु अम्बोटसम्म पुगेका थिए । महिलातर्फअष्ट्रेलियाकी हान्ना प्रथम हुँदा नेदरल्यान्डकी इशा द्वितीय र अष्ट्रेलियाकी स्टेफनी तृतीय बन्नुभयो ।भारतकी शुभांगीले सान्त्वना स्थान हाँसिल गर्नुभएको छ ।
रन फर फन नाम दिएर आयोजना गरिएको दौडमा विभिन्न देशका तीन दर्जन पर्यटक सहभागी थिए । विजेता खेलाडीलाई हाई ग्राउन्ड एड्भेन्चर, सिइङ हेन्ड ब्लाइन्ड मसाज क्लिनिक, व्यञ्जन रेष्टुरेन्ट, अन्नपूर्ण केबलकार र फेवा थकाली भान्छा रेष्टुरेन्टका तर्फबाट पुरस्कार दिइएको छ ।
विजेतालाई महोत्सव आयोजक होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्ष गणेशराज पहारी, दौड संयोजक प्रतीकराज पहारी र अन्नपूर्ण केबलकारका दिनेश पौडेलले पुरस्कार गर्नुभयो ।
नेपाली नयाँ वर्षलाई उत्सवमय बनाउन आयोजित महोत्सवका प्रबन्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश छन् ।
महोत्सव मङ्गलबार नयाँ वर्ष उत्सव मनाउँदै सकिनेछ ।