लिलाधर वली
घोराही, चैत ३० गते । दाङको घोराहीमा ‘दोस्राे लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता–२०८३’ हुने भएको छ ।
एथलेटिक्स खेलको विकास तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा आगामी वैशाख १२ गते प्रतियोगिता हुन भएको हो ।
एथलेटिक्स विधा अन्तर्गत आयोजना हुन थालेको उक्त प्रतियोगिताको विजेता महिला तथा पुरुष खेलाडीले जनही ८० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार द्वितीय र तृतीय स्थान हासिल गर्नेले क्रमश: ४५ हजार र २५ हजार रुपियाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यसैगरी सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपियाँ, पाँचौँ स्थान हासिल गर्नेले १० हजारसहित छैटौँदेखि १०औँ स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई जनही पाँच हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा देशभरका खेलाडीको सहभागीता हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागीताका लागि इच्छुक खेलाडीले वैशाख ८ गते दिउँसो १२ बजेसम्म दर्ता गरिसक्नुपर्ने परिषद्ले जनाएको छ ।