• ३० चैत २०८२, सोमबार

मुस्ताङका किसानलाई मौरीसहितको घार वितरण

blog

किसानलाई मौरीसहितको घार वितरण गरिँदै ।

मुस्ताङ, चैत ३० गते । यहाँका किसानलाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले अनुदान सहयोगमा मौरीसहितको घार वितरण गरिएको छ । घरपझोङ गाउँपालिकाले पाँचवटै वडाका स्याउ किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितका घार वितरण गरेको हो।

गाउँपालिकाले स्थानीय स्याउ किसानसँगको सहलगानीमा ४५ थान मौरीसहितका घार खरिद गरी वितरण गरेको हो । चालु आर्थिक वर्षको विनियोजित बजेट दुई लाख ५० हजार रुपियाँ र स्थानीय स्याउ किसानहरूको दुई लाख ५० हजार रुपियाँ लागत साझेदारी रहने गरी माग सङ्ख्याका आधारमा ४५ थान मौरीसहितका घार वितरण गरिएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो । स्याउ खेतीको गुणस्तर तथा उत्पादन वृद्धि गरी किसानको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले घार वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय मुस्ताङका किसानले स्याउ उत्पादनलाई प्रभावकारी बनाउन मौरी चरन व्यवस्थापनमा जोड दिन थालेका छन् । यसअघि पनि सोही गाउँपालिकाले स्याउ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको थियो ।

वसन्त ऋतुको आगमनसँगै मुस्ताङका स्याउ बगैँचामा स्याउका बोटमा फूल फुल्ने सिजन सुरु हुन थालेको छ । प्रतिमौरीसहितका घारको मूल्य ढुवानीसहित ११ हजार रुपियाँ पर्ने बताइएको छ । स्याउ फार्म, सहकारी, समूह र व्यक्तिगत स्याउ फार्म किसानलाई स्याउको परागसेचन (पोलिनेसन) वृद्धि गर्न मौरीसहितका घार अनुदानमा हस्तान्तरण गरिएको हो ।

विगत १८ वर्षदेखि मौरी व्यवसाय गर्दै आउनुभएका पोखरास्थित बेगनास मौरी घार उद्योगका व्यवसायी सूर्यप्रसाद लामिछानेले मुस्ताङमा स्याउलगायत रैथाने फलफूलको उत्पादन तथा गुणस्तर वृद्धिका लागि मौरीपालन आवश्यक रहेको बताउनुभयो । स्याउको फूल फुल्ने बेला फ्रुड सेटिङका लागि स्याउ बगैँचाभित्र मौरीपालनले परागत सेचनमा सहयोग पुर्‍याउने व्यवसायी उहाँ बताउनुहुन्छ । रासस