ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत ३० गते । म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा उद्यम प्रवर्धन मेलाको आयोजना गरिएको छ ।
स्थानीय उत्पादनको प्रदर्शन र बिक्री गर्न गाउँपालिका-४, मोहन चोकमा मेलाको आयोजना गरिएको हो । बृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्धन कार्यक्रम अन्तर्गत उद्यमशील जलजला बनाउने उद्देश्यले स्थानीय उत्पादनको बजारीकरण तथा प्रवर्धन गर्न मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
टपरी एग्रोको परिसरमा आयोजना गरिएको मेलामा गाउँपालिकाका भित्रका ११ जना उत्कृष्ट उद्यमीहरूले आ–आफ्नो उत्पादन बिक्री गर्न राखेका छन् ।
मेलामा स्थानीय स्तरमा उत्पादन भएका खाद्य सामग्री, तरकारी, दुग्धजन्य पदार्थ, कपडा तथा अन्य घरेलु उत्पादनहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएको टपरी एग्रोकी सञ्चालक जमुना आचार्यले बताउनुभयो ।
उहाँका अनुसार एक दिनसम्म सञ्चालन हुने मेलामा पर्वत,बागलुङ, म्याग्दी र मुस्ताङका किसानले उत्पादन गरेका स्थानीय उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।
मेलामा लोकल दाल, चामल, गेडागुडी, तेल, मसला, बेसार, तयारी खाजा, भुटेको मकै, तरकारीका सुकुटी लगायतका उपभोग्य वस्तुहरू राखिएका छन् ।
त्यस्तै च्याउ, गाजर लगायत ताजा हरियो तरकारी, दुग्धजन्य पदार्थमा दुध, दही, घ्यू, पनिर, मही, ढाकाको कपडा, अण्डा, कुखुरा तथा स्थानीय मासुजन्य परिकारहरू लगायतका सामग्री पनि बिक्रीका लागि राखिएको आचार्यले बताउनुभयो ।
मेलाले स्थानीय उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रवर्धन र बिक्रीमा टेवा पुग्ने आशा गरिएको छ ।
स्थानीय उद्यमीलाई प्रोत्साहन गर्दै उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको यस मेलाले जलजलालाई उद्यमशील क्षेत्रको रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।