नवलपुर, चैत २९ गते । नवलपुरका विभिन्न क्षेत्रमा दूषित पानीका कारण दुर्लभ एकसिंगे गैँडा लगायतका वन्यजन्तु धमाधम मृत भेटिन थालेपछि स्थानीयले गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका छन् । नवलपुरका सांसद राजन गौतमसहितको टोलीले आइतबार गृहमन्त्री गुरुङलाई भेट गरी यस सम्बन्धमा ज्ञापनपत्र समेत बुझाएको छ ।
विभिन्न उद्योगबाट निस्कने प्रशोधन नगरिएको फोहोर पानी सिधै खोलामा मिसाउँदा उक्त पानी खाएर वन्यजन्तुको मृत्यु भइरहेको स्थानीयको गुनासो छ । औद्योगिक क्षेत्रबाट बग्ने ढल र रसायनयुक्त पानीले प्राकृतिक जलस्रोत प्रदूषित बनेको र यसले समग्र जैविक विविधतामा गम्भीर असर पुर्याएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री गुरुङले वन्यजन्तु संरक्षण र वातावरणीय प्रदूषण नियन्त्रणमा सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले सोही क्रममा प्रदूषणको स्रोत मानिएको औद्योगिक क्षेत्रको स्थलगत अवलोकन समेत गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले उद्योग सञ्चालकलाई वातावरणीय मापदण्ड पालना गर्न निर्देशन दिँदै लापर्बाही गर्नेमाथि कानुनी कारबाही हुने चेतावनी दिनुभयो ।
सांसद गौतमले निकुञ्ज आसपासका क्षेत्रमा बढ्दो औद्योगिक प्रदूषणले मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तु दुवै जोखिममा परेकाले तत्काल दीर्घकालीन समाधान खोज्न गृहमन्त्रीसँग माग गर्नुभएको छ ।